कृषि, पर्यटन र शिक्षालाई प्राथमिकता दिन सांसद श्रेष्ठको आग्रह

काठमाडौं । सांसद भैरव सुन्दर श्रेष्ठले सरकारले सदनमा पेस गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई गञ्जागोल दस्ताबेजका रूपमा टिप्पणी गरेका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा यस वर्षको नीति तथा कार्यक्रम विगतकै निरन्तरताका रूपमा आएको दाबी गरे ।
उनले देशको आर्थिक अवस्थातर्फ सरकारको ध्यान नगएको, सरकारले लिएको निर्धारित लक्ष्य प्राप्ति नभएकामा नीति तथा कार्यक्रममा केही उल्लेख नभएको बताए ।
नीति तथा कार्यक्रममा भुलभुलैया लाग्ने शब्दबाहेक केही पनि भएको उल्लेख गर्दै सांसद श्रेष्ठले कार्यक्रमले मुलुकको अहिलेको सङ्कट समाधान गर्न नसक्ने जिकिर गरे ।
उनले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर बजेट निर्माण गर्न सरकारलाई सुझाव दिए । ‘राष्ट्रिय गौरवका आयोजना निर्माणमा अबौँ रकम खर्चिएको भए पनि हालसम्म ती आयोजनाको प्रगति के हो भन्ने नीति तथा कार्यक्रममा खुलेको छैन’, उनले भने, ‘यी आयोजनालाई निर्धारित समयमा पूरा गर्नुपर्छ भन्ने कार्यक्रम आउनुपर्ने थियो तर त्यसो हुन सकेन ।’

प्रतिक्रिया