आज यौनिकता शिक्षासम्बन्धी सम्मेलन हुँदै

काठमाडौं । ‘दिगो विकास लक्ष्य २०३० हासिल गर्न बृहत् यौनिकता शिक्षालाई अगाडि बढाउँदै’ भन्ने नाराका साथ बृहत् यौनिकता शिक्षासम्बन्धी प्रथम राष्ट्रिय सम्मेलन आज जेठ १० गते सुरु हुँदैछ ।
सन् १९९४ मा सम्पन्न जनसङ्ख्या तथा विकास विषयक अन्तर्राष्ट्रिय सम्मेलन, सन् २०१५ को दिगो विकास लक्ष्य, युवा, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रस्ताव २२५०, महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रस्ताव १३२५, नेपालको संविधान, राष्ट्रिय युवा नीति, युथभिजन २०२५, विद्यालय शिक्षा क्षेत्र योजना २०२२/२३, २०३१/३२ जस्ता विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति तथा प्रतिबद्धताको प्रभावकारी कार्यान्वयनमा सम्मेलनले सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय करिब तीन सय जनाको सहभागिता हुने यो सम्मेलनमा बृहत् यौनिकता शिक्षासम्बन्धी विभिन्न विषयमा कार्यपत्रहरूको प्रस्तुति, फरक–फरक सेसन तथा पोष्टर प्रस्तुत हुने जनाइएको छ । यो सम्मेलनले बृहत् यौनिकता शिक्षामा काठमाडौँ घोषणापत्र जारी गर्नेछ ।
सम्मेलनमा युवाको लागि उमेर–उपयुक्त, वैज्ञानिक र अधिकारमा आधारित बृहत् यौनिकता शिक्षाको पहुँच, लैङ्गिक समानता, यौन तथा प्रजनन स्वास्थ्य र अधिकार, अल्पसङ्ख्यक समुदायको अधिकारको सुनिश्चितता, रुढीवादी प्रथा तथा धारणा, हिंसा, बालविवाह, युवाको विदेश पलायन, किशोर–किशोरी तथा युवामैत्री सेवा तथा वातावरण साथै युवालक्षित विभिन्न राष्ट्रिय नीति तथा त्यसको प्रभावकारी कार्यान्वयनका क्षेत्रमा छलफल हुने नेपाल परिवार नियोजन सङ्घले जनाएको छ ।
युवाकै सहभागितामा यी मुद्दाहरूमा व्यापक छलफल गरी नेपालमा बृहत् यौनिकता शिक्षाको आगामी कार्यदिशा तय गर्ने उद्देश्य राखिएको सङ्घले जनाएको छ । उक्त मुद्दा दिगो विकासका लक्ष्य २०३० र जनसङ्ख्या र विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (आइसीपिडी) १९९४ का प्रतिबद्धता प्राप्त गर्ने महत्वपूर्ण आधार मानिएको छ ।
सम्मेलनले तीन तहको सरकार, नागरिक समाज र निजी क्षेत्रसँगको सहकार्यलाई सुदृढ पार्ने, थप लगानी र एकीकृत कार्ययोजनाहरुको निर्माण गरी बृहत् यौनिकता शिक्षालाई संस्थागत गर्न समन्वयात्मक नीति र कार्यक्रमको प्रवर्द्धन गर्ने अपेक्षा लिएको छ ।
प्रतिक्रिया