मंगलबार, असार २४, २०८२

दक्ष जनशक्ति उत्पादन तथा आपूर्ति गर्न रोजगार मेला

नेपालखोज २०८० जेठ १० गते १४:३०

बुटवलमा रोजगार मेला सुरु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ, बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र बुटवल उपमहानगरपालिकाको संयुक्त आयोजनामा मंगलबारदेखि बुटवलमा दुई दिने मेला सुरु गरिएको हो। मेलाको नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनीका प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले उद्घाटन गरेका हुन्।

मेलाको उद्घाटन गर्दै प्रदेश अध्यक्ष शर्माले नेपाली युवा कामको खोजीमा विदेश जानुपर्ने र नेपाली उद्योगीले बाहिरबाट कामदार ल्याउनुपर्ने बाध्यता रहेको बताए। उनले कामका लागि बाहिर जाने प्रवृत्ति रोक्न र उद्योगी–व्यवसायीले बाहिरबाट कामदार ल्याउनुपर्ने बाध्यता अन्त्य गर्ने गरी तारतम्य मिलाउन राज्यले नै सम्बोधन गर्नुपर्नेमा जोड दिए।

कार्यक्रमको बारेमा जानकारी गराउँदै बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य उज्ज्वलप्रसाद कसजूले उद्योग व्यवसायीहरुले दक्ष जनशक्ति नपाइरहेको र पढे–लेखेका युवाहरु कामको खोजीमा बाहिरिरहेको कुरालाई मध्येनजर गरी कसरी दुवै पक्षको आवश्यकता पूर्ति गर्न सकिन्छ भनेर रोजगार मेला गरिएको बताए।

नेपाल उद्योग वाणिज्य महासंघका सदस्य, उद्योग समितिका सभापति राजेशकुमार अग्रवालले काम तथा शिक्षाको सिलसिलामा नेपालबाट मासिक ८० देखि ९० हजार युवा जनशक्ति बाहिरिरहेको बताए। यहाँका उद्योगमा काम गर्न बाहिरबाट ल्याउनुपर्ने जनशक्ति यहीँबाट पूर्ति गर्न सकेको खण्डमा उद्योगी–व्यवसायीलाई पनि सहज हुने धारणा राखे।

इन्टरनेसनल लेबर अर्गनाइजेसन (आईएलओ) का नेसनल प्रोजेक्ट कोर्डिनेटर सौरभराम जोशीले आन्तरिक रोजगारीमा प्रवर्धन गर्न मेला फलदायी हुने विश्वास व्यक्त गरे । सीप, श्रम र रोजगारी सबैको अधिकार भएको उनको भनाइ छ।

यस्तै बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ शिक्षाका लागि विदेश जानेहरुका कारण जनशक्तिसँगै पुँजी पनि पलायन भइरहेको बताए। यो क्रम नरोकिए नेपालको उत्पादन बन्द हुने र पूर्णरूपमा आयातमा भर पर्नुपर्ने स्थिति आउने बताए।

उद्योग प्रतिष्ठानको आवश्यकताअनुसार दक्ष जनशक्ति उत्पादन तथा आपूर्ति गर्ने उद्देश्यले रोजगार मेला गरिएको हो। महिला, अनौपचारिक अर्थतन्त्रमा कामदार र रोजगारीका लागि फर्किएका आप्रवासीहरुको सीप अभिवृद्धि परियोजनाअन्तर्गत स्वदेशमै कामको खोजीमा रहेका तथा वैदेशिक रोजगारबाट फिर्ता भएका युवा एवं रोजगारदातालाई सम्पर्क गरी रोजगारी प्रवर्धन गर्ने उद्देश्यले रोजगारदातासमेतको सहभागितामा मेला सञ्चालन गरिएको संघका महासचिव विमलराज भट्टराईले बताए।

मेलामा यस क्षेत्रका २९ वटा उद्योग प्रतिष्ठान सहभागी रहेका र ३ सय जनालाई रोजगारीको अवसर पनि रहेको आयोजकले जनाएको छ।- INS

प्रतिक्रिया