अन्नपूर्ण आधार शिविरमा ‘पञ्चकुण्ड ताल’को छुट्टै आकर्षण

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण आधार शिविरमा रहेको ‘पञ्चकुण्ड ताल’ले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । समुद्री सतहबाट चार हजार एक सय मिटर उचाइमा करिब २० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको यो ताल अन्नपूर्ण हिमाल आरोहण र आधार शिविरको भ्रमणमा जाने पर्यटकको मुख्य आकर्षणको केन्द्र बनेको छ । यस क्षेत्रमा पुग्ने पर्यटक हिमालको फेदीको उपत्यकामा आकाशे निलो रङको पानीले भरिएको तालको अवलोकन गर्दा मोहित भएर फर्कने गरेका छन् ।
पहिलोपटक आधार शिविर पुगेका अन्नपूर्ण गाउँपालिका–७ हिस्तानका प्रदीप पुनले हिमालकै फेदीमा प्राकृतिक सुन्दरताको छटाले भरिएको पञ्चकुण्ड ताल अवलोकन गर्दा पैदलयात्राका सबै दुःख बिर्साएको बताए । ग्लेसियर क्षेत्रमा फैलिएको यो हिमताल हिउँदयाममा विभिन्न पाँच कुण्डको आकृतिमा देखिने भएकाले कुण्डको नाम पञ्चकुण्ड नामकरण गरिएको नारच्याङका पर्यटन व्यवसायी तेज गुरुङले बताए । उनका अनुसार सन् १९५० तिर हिमाल आरोही लिएर आएका शेर्पाहरूले यसको नाम डिकिचो ताल भनेर नामकरण गरेका थिए । हिमालको फेदीमा उच्च उचाइमा रहेको कारण पानी जमिरहने भएकाले जम्ने तालको अर्थका रूपमा शेर्पाहरूले डिकिचो ताल नामकरण गरेको भएपछि स्थानीयवासीले तालको भू–बनोटका आधारमा पञ्चकुण्ड नामकरण गरेको गुरुङले जानकारी दिए ।
नारच्याङबाट ‘मौरिस हर्जोग पदमार्ग’ हुँदै एकदेखि दुई दिनको यात्रामा पञ्चकुण्ड तालमा सजिलै पुग्न सकिन्छ । आधार शिविर क्षेत्रको भ्रमणमा जाने पर्यटकका लागि कुण्ड नै पहिलो र प्रमुख आकर्षणका रूपमा रहेको छ । निलो रङले भरिएजस्तै देखिने पञ्चकुण्ड ताल परिसरबाट अन्नपूर्ण हिमालका साथै फ्रेन्क, तिलिचो र निलगिरि हिमालको मनमोहक दृश्य फन्को मारेर अवलोकन गर्न सकिन्छ । वरिपरि हिमालले घेरिएको उपत्यकामा निलो तालको मनमोहक प्राकृतिक सौन्दर्य लोभलाग्दो रहेको आधार शिविर क्षेत्रमा पुग्नुभएका आन्तरिक पर्यटक धनीलाल गर्बुजाले बताए ।
तालमा देखिने हिमालको छायाँ र उज्यालो बढ्दै जाँदा गाढा हुँदै जाने तालको पानीको निलो रङले पहिलोपटक पुग्ने जो–कसैलाई आश्चर्यमा पार्ने गर्बुजाले अनुभव सुनाए । ताललाई धार्मिक गन्तव्यका रूपमा विकास गराउन शिवमन्दिर र गुम्बासमेत निर्माण गरिएको छ । हिमाल आरोहण र आधार शिविरको भ्रमणमा आउने पर्यटकले हिमालको मूलबाट सङ्कलन भएको तालको पानीले स्नान गरेर शुद्ध भएर शिवमन्दिर र गुम्बामा पूजाआजा गर्दै आएका छन् । पञ्चकुण्ड तालबाट निकास भएर जाने पानीमाथि पुल निर्माण गर्ने र सुरक्षितरूपमा अवलोकन गर्ने पूर्वाधार बनाउन पहल गरिने नर्थ अन्नपूर्णको प्रवद्र्धनका लागि आधार शिविर पुगेका अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए ।
सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सका मौरिस हर्जोगले अन्नपूर्ण प्रथम हिमालको आरोहण गर्नुभएको थियो । हर्गोजले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै विसं २०६८ मा ‘मौरिज हर्जोग पदमार्ग’को पहिचान गरिएको थियो । अन्नपूर्ण र निलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै नारच्याङको हुमखोलासम्म सवारीसाधन र त्यहाँबाट २२ किलोमिटर पैदलयात्रा गरेर आधार शिविर पुग्न सकिन्छ । rss
प्रतिक्रिया