शुक्रबार, चैत १६, २०८०

सिठी (सिथी) नख: या भिन्तुना

सुनिल उलक २०८० जेठ ११ गते १०:४९

काठमाडौं । आज जेष्ठ शुक्ल पक्ष षष्ठी अर्थात् कुमार षष्ठी । कुमारको जन्मदिन तथा नेवारहरूको कुल पूजा गरिने दिन अर्थात सिठी नखः वा दिगु द्य: को पूजा गर्ने दिन ।

सम्पूर्ण एउटै कूलमा जन्मेका आफन्तहरू जम्मा भएर आफ्नो कुलको स्थापना गरिएको स्थानमा जम्मा भएर संगै पूजा गर्ने तथा अन्तमा कुलको प्रसाद सम्झेर भोज खाने चलन छ ।

हुन त यसै दिन महादेव पुत्र कुमारको जन्म दिन पनि हो जसले गर्दा यसको धार्मिक महत्व पनि छ । हरेक पूजामा हामी कुमारको रूपमा दियोलाई सबैभन्दा पहिले पूजा गर्ने गर्दछौ । त्यसपछि गणेशको पूजा गर्दछौ । त्यसपछि बल्ल अन्य भगवानहरूको पूजा गर्ने गरिन्छ । यिनै कुमारको जन्म दिन सिठी नखः भएकोले यसको बिशेष महत्व छ ।

वसन्त ऋतुको समाप्ति भइ वर्षा ऋतुको शुभारम्भ हुने हुँदा यस पर्वले रोपाइँ सुरु भएको सन्देश दिने भएकाले बिशेष गरेर ज्यापू समुदायमा यस पर्वको अझ वढि महत्व हुने गर्दछ । वर्षातले कुनै व्यवधान नहोस भनेर सबै मिलेर पानीका मुहान, कुवा, इनार, ढुङ्गे धारा, पोखरी तथा टोल वरपर सफा गर्ने गरिन्छ ।

परापूर्व कालदेखि नै प्रकृति पूजक रहेका नेवाःहरुले निराकार प्रकृतिलाई पूज्दथे । यहीँ क्रमको निरन्तरता नै नेवाःहरुले मनाउने दिगुपूजा अर्थात सिठीनखः हो । मुर्ति पूजा गर्न भने हामीले धेरै पछाडी (अन्दाजी सातौ शताव्दी) थालेका हौ ।

नेवारहरू मास र मुगीका बारा, चामलको चटामरी आदि कुललाई पहिले चढाएर प्रसादको रूपमा बाँडेर खाने चलन रहेको छ । मास तथा मुगीको परिकारले शरिरमा स्फूर्ती तथा तागत दिने हुदा पनि यसको निकै महत्व रहेको छ ।

घरको मूलढोका अगाडी बनाइएको पिखालखुमा वो, बारा, चटामरीले बिशेषरूपले पूजा गर्ने गर्दछन् । हुन त नेवारहरू दैनिक रूपमा नै पिखालखुको पूजा गर्ने गर्दछन् । तर यस दिन गर्ने पूजा केही विशेष हुने गर्दछ ।

घरलाई सफा सुग्घर गरेर कुमारलाई सम्झेर मूलढोकाको अगाडी छ वटा कमलको पातको आकारमा बनाइएको पिखालखुलाई छ वटा अन्नबाट बनेको चटामरी, छ थरी दालबाट बनेको बारा तथा छ थरि सागसब्जीबाट बनेको तरकारीले छ वटा टाउको भएको कार्तिकेय कुमारको पूजा तिथीले छैठौ दिन विशेष किसिमले पूजा गर्ने गरिन्छ । शायद षष्ठी नख नै अप्रभंश भएर सिठी नख भएको हुन सक्छ ।

परम्परा जस्तो रहेपनि अचेल कतिपय समुदाय यसलाई मनोरञ्जन या पिकनिकको रूपमा मनाउने भएको छ । कतिपय परिवारमा दाजुभाइ आफ्नो वर्षौ देखी खपेर बसेको रिस यहि अवसरमा पोख्दै झगडा गर्ने हुदा दाजुभाइमा सौहार्दता होइन बैमनस्यताको शुरू गर्ने गर्दछन् ।

कतिपयको बिचारमा यो पर्व खाने र पिउनेमा सिमित रहेको छ । यस पर्वको वास्तविक महत्व नबुझेकाहरू खाने झगडा गर्नेमा सिमित गर्ने हुदा पहिले पहिले झै आपसी सद्भावको कमी भेटिन्छ । कतिपयले यस चाडको महत्व नबुझेर ब्यबसायिक क्याटरिङलाई जिम्मा लगाउने गर्दछन् ।

घण्टाकर्णमा शुरू भएको नेवारहरूको चाडको वर्ष सिठी नख मा आइ पुगेपछि समाप्त हुन्छ । समय अभाव र ब्यस्तताले गर्दा अचेल सबैले समय दिन सक्दैनन् । तसर्थ पनि बिस्तारै यसको महत्व घट्दै गएको छ ।

सामाजिक रूपले पनि जातिय बिभेदमा गइसकेको अवस्थामा आफूहरूलाई पनि समयानुकल परिवर्तन गर्दै जान सकिएन भने पनि परिवार टुट्ने डर हुन्छ । तसर्थ समयानुसार परिमार्जित गर्दै ठ्या मठ्याको बिभेदलाइ तोड्न सक्नुपर्छ । अन्यथा क्रमश यो परम्परा हराउदै जाने सम्भावना बन्न सक्छ ।

भोज नेवारहरुको महत्वपूर्ण अंग पनि हो । भोज बिना नेवारहरु रहन सक्दैनन् । तसर्थ सिठी नखको दिन पनि रमाइलो गरेर भोज खाने चलन छ । नेवारहरुको सालको पातले बुनेर बनाइएको लप्तेमा भ्वय: (भोज) खाने गरिन्छ । तर अचेल थालमा नै खाने चलन बढ्दै गएको छ ।

परालले बनाइएको बिशेष किसिमको गुन्द्री जस्तै सुकुलमा लहरै बसेर भोज खाने गरिन्छ । सु भनेको नेवारीमा पराल हो भने कु: कुलमा रहेकाहरु अर्थात कुलमा आफन्तले बस्न परालले बनाइएको हुँदा यसको नाम सुकु भनिए पनि पछि नेपालीकरण हुँदा सुकुल हुन गयो । अचेल निकै कम परिवारहरु सुकुलमा बसेर भोज खाने गर्दछन् होला ।

अब हामीले नयाँ पिढीलाई यो हाम्रो परम्परालाई सिकाउन सकेनौ भने यस पछिका पिँढीले सबै बिर्सने छन् ।

प्रतिक्रिया