आइतबार, असार १, २०८२

एक वर्षभित्रमा गाडी चल्ने गरी सुरुङमार्गको कामलाई तीव्रता दिन्छौं : मन्त्री ज्वाला

नेपालखोज २०८० जेठ १२ गते १२:२२

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आउँदो एक वर्षभित्र गाडी नै चल्ने गरी नागढुङ्गा सुरुङमार्गको कामलाई तीव्रता दिने बताएका छन् । नागढुङ्गा सडक पूर्वाधार र नागढुङ्गा सुरुङमार्गको निर्माणको प्रगतिबारे स्थलगत अनुगमनका क्रममा यहाँ पत्रकारसँग कुरा गर्दै उनले सबै समस्या अप्ठ्यारो समाधान गर्न सरकार तयार रहेकाले निर्माण कम्पनीले कुनै बहानामा कामलाई रोक्न नपाउने बताए ।

उनले मुआब्जाको पनि छिटै समस्याको समाधान निकाल्ने र छिटोभन्दा छिटो आयोजना सम्पन्न गरेर सेवा दिन मन्त्रालय गम्भीर रहेको पनि बताए । उक्त सुरुङमार्गको मुख्य टनेल जोडिन ६०० मिटर र रेस्क्यु टनेल जोडिन २०० मिटर मात्रै बाँकी रहेको सो क्रममा जानकारी गराइएको थियो । आउँदो दसैँ आसपासमा भने टनेल जोडिने र त्यसपछि अन्य पूर्वाधारको काम थालिने पनि नागढुङ्गा सडक आयोजनाले जानकारी दिएको छ । जाइकाको सहयोगमा सुरुङमार्ग निर्माण भइरहेको छ ।

यसैबीच विस्तारको चरणमा रहेको अर्काे नागढुङ्गादेखि मुग्लिनसम्मको सडक निर्माणमा कुनै बहानाबाजी गर्ने छुट नभएको मन्त्री ज्वालाले बताए । सडक अनुगमनका क्रममा आज उहाँले काममा कञ्जुस्याइँ नगर्न निर्माण व्यवसायीलाई अनुरोध पनि गरेका छन् । उक्त सडक तीन खण्डमा काम भइरहेको र पहिलो नागढुङ्गा नौबिसे खण्डको प्रगति राम्रो देखिएको पनि उनले बताएका छन् ।

उनले कामलाई तीव्रता दिएर निर्धारित लक्ष्य पूरा गर्ने कुरामा ध्यान दिन निर्देशन दिए । उनले सबैसँग समन्वय गरेर निर्माण अघि बढाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै राजधानी जोड्ने मूल सडक भएकाले अहिलेसम्म जेजे समस्या झेलिए पनि त्यसलाई समन्वयात्मकरुपमा समाधन गरी कामलाई तीव्रता दिने प्रतिबद्धता जनाए । यो सडक विश्वबैंकको सहयोगमा बनिरहेको छ । rss

प्रतिक्रिया