लुम्बिनीमा वैदेशिक लगानीका ६७ उद्योग, जिडिपीमा १४ प्रतिशत योगदान

नेपालखोज २०८० जेठ १२ गते १६:०१

लुम्बिनी । लुम्बिनी प्रदेशमा वैदेशिक लगानीका ६७ उद्योग सञ्चालनमा रहेका छन्। जसमध्ये साना ३४, मझौला १६ र ठूला १७ रहेको र यसले नेपालको कुल गार्हस्थ्यमा करिब १४ प्रतिशत योगदा पुर्याएको बताइएको छ।

बुधबार बुटवलमा आयोजित अन्तर्राष्ट्रिय वित्त निगम आइसिएफसँगको अन्तरक्रिया कार्यक्रममा लुम्बिनी प्रदेशमा व्यवसायको सम्भावना र चुनौतीको विषयमा आफ्नो भनाइ राख्दै नेपाल उद्योग वाणिज्य महासंघका सदस्य तथा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले सो कुरा बताएका हुन् ।

अध्यक्ष कसजूले लुम्बिनी प्रदेश वैदेशिक लगानीको आकर्षक क्षेत्र पनि रहेको बताउँदै वैदेशिक लगानीमा पहिलो रोजाइ सेवामूलक, उत्पादनमूलक र पर्यटन क्षेत्रमा रहेको बताए । त्यसबाहेक लुम्बिनी प्रदेशमा ठूला ८८२, घरेलु तथा साना उद्योग करिब २५ हजार र करिब १ लाख ५० हजार व्यावसायिक प्रतिष्ठान रहेको जानकारी दिए।

तराईका ६ र पहाडका ६ गरी १२ जिल्ला रहेको लुम्बिनी प्रदेशको कुल क्षेत्रफल २२ हजार २८८ वर्ग किमि छ। प्रचुर कृषिभूमि तथा प्राकृतिक रुपमा धनी यो प्रदेश कृषिजन्य तथा वनपैदावारमा आधारित उद्योग तथा पर्यटन उद्योगमा राम्रो सम्भावना देखिएको अध्यक्ष कसजूको भनाइ थियो। उनका अनुसार राष्ट्रिय कुल ग्रार्हस्थ्य उत्पादनमा लुम्बिनी प्रदेशको करिब १४ प्रतिशत योगदान रहेको छ।

यस्तै यहाँ दुई औद्योगिक क्षेत्रसहित भैरहवामा विशेष आर्थिक क्षेत्र रहेको छ। त्यसबाहेक पनि भैरहवा–लुम्बिनी, बुटवल–भैरहवा, भैरहवा–परासी, परासी–भुमही मुख्य औद्योगिक कोरिडोर छन्। यी कोरिडोरमा मात्रै लुम्बिनी प्रदेशमा रहेका कुल उद्योगका ५० प्रतिशत उद्योग रहेको कसजूले जानकारी दिए। त्यसैगरी रुपन्देहीमा प्रस्तावित मोतिपुर औद्योगिक क्षेत्र र बाँकेमा नौवस्ता औद्योगिक क्षेत्र रहेका र यी क्षेत्रको निमार्ण तथा सञ्चालनमा ढिलाइ हुँदा उद्योग विस्तार र वैदेशिक लगानीमा तिव्रता आउन नसकेको उनको भनाइ छ ।

त्यस्तै सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर श्रेष्ठले प्रदेशमा लगानीको राम्रो सम्भावना भए पनि नीतिगत अस्पष्टताका कारण पर्याप्त लगानी आकर्षण हुन नसकेको र लामो समयदेखिको बैंक तथा वित्तिय संस्थामा उत्पन्न भएको लगानीयोग्य पुँजीको अभाव तथा ब्याजदरमा भएको अस्वभाविक वृद्धिले उद्योग प्रतिष्ठान धान्न धौ–धौ भएको बताए ।

कार्यक्रममा अन्तर्राष्ट्रिय वित्त निगम आइसिएफका प्रमख, आवासीय प्रतिनिधि बाबाकर एस फेईले आइएफसी निजी क्षेत्रमा केन्द्रित सबैभन्दा ठूलो विश्वव्यापी विकास संस्था रहेको र विकासशील देशमा बजार र अवसर सिर्जना गर्न पुँजी, विशेषज्ञता र प्रभाव प्रयोग गरी सयभन्दा बढी देशमा काम गर्दै आएको जानकारी गराए ।

यसले निजी क्षेत्रसँगको साझेदारीमा अत्यावश्यक सेवा विद्युत्, दूरसञ्चार, यातायात, खानेपानी र सरसफाइजस्ता पूर्वाधार परियोजना विकास गर्न दीर्घकालीन वित्तपोषण र उद्योग–अग्रणी विशेषज्ञता प्रदान गर्ने पनि उनको भनाइ थियो। फेईका अनुसार आइएफसी माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा ४५३ मिलियन डलरको ऋण फाइनान्सिङ प्याकेजको प्रमुख प्रबन्धक हो, जुन नेपालमा सबैभन्दा ठूलो विदेशी प्रत्यक्ष लगानी हो ।- INS

प्रतिक्रिया