विराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा

नेपालखोज २०८० जेठ १२ गते २२:३२

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी भएको छ।

कोशी नामकरणको विरोधमा पहिचानवादीबाट हुनसक्ने आन्दोलनलाई ध्यान दिँदै विराटनगरका विभिन्न क्षेत्रमा निषेधित क्षेत्र तोकिएको छ।

जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशको नामकरणपश्चात विभिन्न समूहबाट विरोध, धर्ना, जुलुस गरिएकाले शान्ति-सुरक्षामा असर परेको भन्दै शनिबार बिहान ६ बजेबाट अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन निषेधित क्षेत्र घोषणा गरेको हो।

मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार निषेधित क्षेत्रमा सर्वसाधारण तथा सवारीसाधन आवतजावतबाहेक सभा, जुलुस, भेला, र्‍याली, धर्नाजस्ता कार्यक्रममा प्रतिबन्ध लगाइएको छ।

गत फागुन १७ गतेको प्रदेश सभाको बैठकले कोशी नामकरण गरेको थियो। त्यसयता प्रदेश राजधानी विराटनगरमा प्रदर्शन भइरहेको छ। कोशी नामकरणमा असहमति जनाउने विभिन्न समूह तथा पक्षले धर्ना, जुलुस प्रदर्शन गर्दै आएका छन्।

प्रतिक्रिया