शुक्रबार, वैशाख ७, २०८१

पर्खाल

विजय शिवाकोटी २०८० जेठ १३ गते ९:३०

धेरै लामो बाटोसँगै हिँडिसके पछि
उ भन्छे
अब हामी छुटौं
धेरै झरी सँगै रुझे पछि
उ भन्छे-
अब घाम लाग्यो
म जान्छु
ती यात्राहरु, ती घुम्तीहरु
ती यात्राका क्रमका साथहरु
ती पलहरु
सँगै बिताएका ती साँझहरु
एकाएक बिर्सिएर
उ छुट्टिने कुरा गर्छे
म निशब्द हुन्छु
म स्तब्ध हुन्छु
मैले सोचेकै थिइन
उ मसँग टाढिन सक्छे भनेर
अझै पनि लाग्दैछ मलाई
उ ठट्टा गरिरहेकी छे मसँग
किनकि
मैले उसको चन्चल आँखामा
स्थिर प्रेम देखेको थिएँ
उ मलाई नै मुस्काउँथी
उ मलाई नै जिउँथी
उसको हर शब्दमा
केवल म अभिब्यक्त हुन्थेँ
उसलाई म त्यसरी नै बुझ्थेँ
जसरी उ ब्यक्त हुन्थी

उसमा एक लयबद्धता छ
उसमा एक संगीत छ
उसमा एउटा छन्द छ
उसमा एक सुगन्ध छ
उसमा एक ताल छ
उसमा एक अनुप्राश छ
उसमा एक नृत्य छ
उसमा एक मादकता छ
उसमा एक काव्य छ
जुन म कहिले बिर्सन सक्तिन
तर उ मलाई अब बिर्सिदेऊ भन्दैछे
शायद उ अनभिज्ञ छे
उसका यी सारा बिशिष्टता
मबिना अर्थहीन हुन्छन्
किनकि ती सबलाई बुझ्न
मेरै हृदय चाहिन्छ
मेरै आँखा चाहिन्छ

उसलाई थाहा छ
उ मेरो अनन्त प्रेम हो
उसलाई थाहा छ
उ मेरो सबथोक हो
तर अनायस उ अनगिन्ती यादहरु बनाएर
मलाई बिर्सिदेऊ
मलाई जानदेऊ भन्दैछे
म उसलाई भन्छु-
ठीक छ, तिम्रो खुशी
तिमी जाऊ
तर जानु अघि
यति अनुग्रह गरिदेऊ

म र तिमी बीच
सारा सम्झनाहरु छेक्नसक्ने
एउटा विशाल पर्खाल बनाइदेऊ !!

प्रतिक्रिया