शुक्रबार, वैशाख २१, २०८१

आउ एकपटक मारौं अँगालो

हरि अधिकारी २०७८ कार्तिक २७ गते ८:०८

आउ एकपटक मिसाऔं तिम्रो कालो र मेरो गहुंगोरो रङ
छुट्ट्याउन नसक्ने गरी तिम्रा मित्र र मेरा शत्रुहरूले
र, खेल्न नसक्ने गरी कसैले हामी दुबैको चेतनामा ,

आउ बोलाऔं हाम्रा आमाहरूलाई र बगाउन लगाऔं तिनका दूधका धारा
हाम्रो साझा धरामा
हेरौं एकैनासले रसाउंदो रहेछ कि रहेनछ
हाम्रो बांझो आंत,

तिम्रो गम्छाको फुर्को छुंदै हिड्ने तातो हावा
र मेरो टोपी उडाउंन खोज्दै हुंइकिने चिसो बतासलाई
गर्न दिऔं एकपटक हातेमालो
जन्मन दिएर हेरौं समशीत पवनको सानो तरङ्गलाई
र त्यसको धूनमा नाच्ने
आंपका पातहरूलाई,

मैले हिमाल अनि गढतिर हुँदै तिम्रो न्यांनो काखमा
बिसाउंदै आएको छु आफूलाई शदीऔंदेखि,
तिमीले पनि आफ्नो विशाल अंगालोमा बांध्दै आएका छौ मजस्ता प्रेमातुर पथिकलाई
अनन्त समयदेखि
अथक र अविश्रान्त,

फुकाऔं अन्तर्कुन्तरमा लुकेर बसेका असन्तुष्ट ग्रन्थीलाई,
धेरै सम्झौं र थोरै बिर्सौं पनि
पुराना प्रेम र घृणाका,
लाभ र हानीका,
विश्वास र अविश्वासका
सांचा र झूटा
आफ्नै रचना र
पराईको कल्पनाका,

आउ एकपटक मारौं अंगालो
खुला मन र मश्तिश्कले
आफ्नै चेतले नसोधी कसैलाई,
नितान्त तिम्रो र मेरो मात्र हो यो अभिसार
छन् भने अन्योल र अनिश्चितता पनि आफ्नै हुन्,

कतै छ भने द्विविधा
हामीले आपसमा विनिमय गरेको मायामा
छामौं आफैंलाई
र हेरौं गहिरिएर आफैंभित्र
कतै फसेका त छैनौं हामी
आआफ्ना स्वार्थको छिप्छिपे धापमा
अथवा, कसैले ओछ्याइदियेको महाजालमा ।

कवि , साहित्यकार एवं पत्रकार हरि अधिकारी आज शनिबार ग‌ैरआवासीय नेपाली संघको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिले प्रदान गर्ने अरनिकोअन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित हुँदै हुनुहुन्छ । संकलित गद्य रचनाका लागि प्रदान गर्न लागिएको २ लाख नगद राशीको यो पुरस्कार शताब्दी पुरुष सत्य मोहन जोशिले अधिकारिलाइ हस्तान्तरण गर्ने कार्यक्रम छ । अधिकारिको यो कबिता केही वर्ष पुरानो हो र यसलाई हामिले उनकै फेसबुक बाट साभार गरेका हाैं ।

प्रतिक्रिया