इन्टरनेशनल डे अफ युएन पिस किपर्रस २०२३ को अवसरमा विशेष कार्यक्रम आयोजना

काठमाडौं । इन्टरनेशनल डे अफ युएन पिस किपर्रस २०२३ अवसरमा नेपाली सेनाद्वारा विशेष कार्यक्रम आयोजना भएको छ ।
सो कार्यक्रममा प्रधान सेनापति महारथी प्रभुराम शर्माले विश्व शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिक, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालले द्धन्द्धग्रस्त सहारा मरुभूमिदेखि कठ्योङ्ग्रि ने माउन्ट हर्मन लगायत विश्वका जटिल स्थानहरूमा कैयौँको जीवन रक्षा गर्नुका साथै जीवनस्तर सुधारमा पुर्याएको अतुलनीय योगदान र समर्पणले विश्वका मानिसहरूको सम्मान र प्रशंसा कमाएको बताए ।
शुक्रवार पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा ७५ औँ इन्टरनेशनल डे अफ युएन पिस किपर्रसको अवसरमा आयोजित विशेष कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
यस वर्षको इन्टरनेशनल डे अफ युएन पिस किपर्रस २०२३ को थिम “पिस बिगेन्स वीथ मि” रहेको छ । शुक्रवार आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधान सेनापतिले नेपाली शान्ति सैनिकहरू तथा शान्ति स्थापना कार्यमा संलग्न नेपाल प्रहरी एवं सशस्त्र प्रहरी बल नेपालका सकलदर्जाहरु संयुक्त राष्ट्रसङ्घको वडा पत्रमा उल्लेखित लक्ष्य र उद्देश्यहरू पूरा गर्न दृढ रहेको कारण नै नेपाल संयुक्त राष्ट्रसङ्घको एक विश्वसनीय सदस्यको रूपमा रहेको बताए ।
उनले शान्ति सेनामा सहभागिता नेपालको परराष्ट्र नीतिको एक महत्त्वपूर्ण पक्ष रहेको उल्लेख गर्दै विश्व शान्ति स्थापनार्थ विश्वसनीय र पेशेवर सेनाको योगदान पुर्याउने राष्ट्रहरू मध्ये नेपाल अग्र पङ्क्तिमा रहेको बताए ।
सम्बोधनकै क्रममा उनले विश्व शान्ति स्थापनार्थ आफ्नो ज्यानको आहुति दिने वीर सैनिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूले पुर्याएको योगदानको संयुक्त राष्ट्रसङ्घ, राष्ट्र र नेपाली सेनाले सदैव सम्मान र कदर गर्ने बताए ।
कार्यक्रमको दौरान प्रधान सेनापतिले विश्व शान्ति स्थापनाको सिलसिलामा वीरगति प्राप्त गरेका शान्ति सैनिकहरूको सम्मानमा शान्ति स्मारकमा माल्यार्पण गर्नुका साथै संयुक्त राष्ट्रसङ्घको झण्डोत्तोलन गरेका थिए ।
उनले यस वर्ष शान्ति स्थापना कार्यमा निःस्वार्थ भावनाले बहादुरीपूर्वक कार्य गरी विशेष योगदान पुर्याएका चार जना सकल दर्जा र वीरगति प्राप्त तीन जना सकल दर्जाका परिवारलाई सम्मान पत्र प्रदान गरे ।
उनले शान्ति स्थापनार्थ कार्यरत रहँदा वीरगति पाउने एक जना नेपाली शान्ति सैनिकको सम्मानमा प्राप्त कदर पत्र उनकी श्रीमतीलाई हस्तान्तरण गरे ।
कार्यक्रममा पूर्व प्रधान सेनापतिहरू, रक्षा सचिव किरणराज शर्मा, बलाधिकृत रथी सरोज प्रताप राणा, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल, बहालवाला तथा अवकाश प्राप्त रथीवृन्दहरु, पाँचखाल नगरपालिकाका मेयर, संयुक्त राष्ट्रसङ्घीय शान्ति कार्यमा संलग्न हुने सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरू, काभ्रेपलान्चोक क जिल्लाका सरकारी निकायका पदाधिकारीहरू, नेपाली सेनाका अधिकृत, नेपालमा कार्यरत विभिन्न राष्ट्रका सैनिक सहचारीहरू लगायत सञ्चार कर्मीहरूको उपस्थिति रहेको थियो ।
विश्व शान्ति स्थापनार्थ विभिन्न मुलुकहरूमा खुट्टिने शान्ति सैनिकहरूले पुर्याएको योगदानको स्मरण र कदर स्वरूप हरेक वर्ष नेपाली सेनाले विविध कार्यक्रमको आयोजना गरेको इन्टरनेशनल डे अफ युएन पिस किपर्रस २०२३ मनाउने गरेको छ ।

प्रतिक्रिया