बिहीबार, चैत १५, २०८०

‘नीति तथा कार्यक्रममा भ्रष्टाचार नियन्त्रणका लागि ठोस कुरा आएन’

नेपालखोज २०८० जेठ १३ गते १९:३७

काठमाडाैं । प्रमुख प्रतिपक्ष दलका सांसदहरूले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषि, रोजगार र भ्रष्टाचार नियन्त्रणका लागि ठोस कार्यक्रम समेट्न नसकेको बताएका छन् । आज बसेको प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको क्रममा उनीहरुले ती कार्यक्रमका लागि नीति तथा कार्यक्रममा स्पष्ट उद्देश्य र प्राथमिकता निर्धारण गर्न नसकेको बताए ।

सांसद सन्तोष परियारले विगतको तुलनामा नीति तथा कार्यक्रम धेरै फरक आउन नसकेको बताए । उनले नीति तथा कार्यक्रममा दलितका विषय नसमेटिएको बताए । उनले भ्रष्टाचारको विषयमा पनि नीति तथा कार्यक्रममा सशक्त र ठोस कार्यक्रम नभएको बताए ।

छलफलमा सांसद मेटमणि चौधरीले नीति तथा कार्यक्रममा अर्थतन्त्रको पुनरुत्थान, राज्यको सबै तहमा सुशासनको प्रत्याभूति, विकास निर्माणमा तीव्रता, सेवा प्रवाहमा सरलीकरण, राष्ट्रिय हितको संरक्षण र संवद्र्वन गर्ने विषय समावेश भएको भन्दै विरोध गर्न आवश्यक नभएको बताए ।

सांसद सेराज अहमद फरुकीले नीति तथा कार्यक्रमले शिक्षा, स्वास्थ्य र मौलिक अधिकारलाई ध्यान दिन नसकेको भन्दै पुनर्लेखन गर्न माग गरे । उनले रोजगार र शिक्षाका लागि युवा विदेशिने क्रम रोक्न सरकारको ठोेस कार्यक्रम नल्याएको समेत बताए । सांसद शान्ति चौधरीले कृषिलाई प्राथमिकता नदिएको भन्दै कृषि क्रान्ति दशक घोषणा गर्न माग गरिन् ।

सांसद शोभा ज्ञवालीले स्वरोजगारलाई प्रोत्साहन, घरेलु र लघुउद्यमी निर्माणका लागि ठोस कार्यक्रम राख्न सुझाव दिइन् । सांसद गङ्गाप्रसाद यादवले सुकुम्बासी समस्या समाधानमा जोड दिए । सांसद सन्जु शर्मा अन्सारीले मुस्लिम समुदायका विद्यालयलाई सरकारी विद्यालयसरह मान्यता दिनुपर्ने, कृषिमा नगदे बालीलाई प्रथामिकतामा राख्न, अग्र्यानिक मल उद्योग सञ्चालन र बन्द उद्योगको पुनः सञ्चालन गर्न जोड दिइन् । उनले तेस्रो लिङ्गीका लागि विशेष कार्यक्रम व्यवस्था गर्नसमेत सुझाव दिइन् ।

प्रतिक्रिया