शनिबार, जेठ ५, २०८१

उत्तर कोरियामा दुई वर्षको बालकलाई आजीवन जेल सजाय

नेपालखोज २०८० जेठ १४ गते ८:४८

काठमाडौं । उत्तर कोरियामा दुई वर्षको बालकलाई आजीवन कारावासको सजाय तोकिएको छ । एक इसाई परिवारले आफ्नो धर्म पालन गरेको र बाइबल राखेको आरोपमा सो सजाय तोकिएको बताइएको छ ।

सजाय पाउने व्यक्तिमा इसाई परिवारको दुई वर्षे बच्चा पनि छ । अमेरिकाको स्टेट डिपार्टमेन्टको धार्मिक स्वतन्त्रतालाई लिएर जारी भएको रिपोर्टमा यो कुराको खुलासा भएको हो । यो मामल सन् २००९ को भएको बताइएको छ ।

रिपोर्टमा भनिएको छ, ‘उत्तर कोरियामा बाइबल राखेको खण्डमा मानिसलाई आजीवन कारावासदेखि मृत्युदण्डसम्मको सजाइ दिइएको छ । सन् २०२२ मा ७० हजारभन्दा बढी इसाई धर्मावलम्बीलाई जेल चलान गरिएको थियो ।’

अमेरिकाको स्टेट डिपार्टमेन्टले ‘कोरिया फ्युचर’ नामक एनजिओ (गैरसरकारी संस्था) बाट प्राप्त जानकारीका आधारमा आफ्नो रिपोर्ट बनाएको हो ।

एनजिओले उत्तर कोरियामा इसाई धर्मावलम्बीलाई आफ्नो धर्म पालन गरेमा टर्चर दिने दाबी गरेको छ । उनीहरूलाई जबर्जस्ती श्रममा लगाउने र महिलामाथि यौनहिंसा गर्ने बताइएको छ ।

सन् २०२१ १५१ जना महिलासँग गरिएको अन्तर्वार्तामा यो कुरा खुलेको हो । उत्तर कोरियाबाट भागेर गएका महिलाले एनजिओलाई बताएअनुसार त्यहाँ इसाईंलाई लिएर दुष्प्रचार गरिएको छ । मिसनरीलाई रक्तपिपासु, हत्यारा र बलात्कारी भनिन्छ ।

कम्युनिस्ट देश भएकाले उत्तर कोरिया नास्तिक देश हो । उसले कुनै धर्ममा विश्वास गर्दैन । यद्यपि त्यहाँ सबै मानिसले आफ्नो धर्मपालन गर्ने स्वतन्त्रता रहेको दाबी गरिन्छ । त्यहाँ ५० प्रतिशत मानिस नास्तिक छन् भने २५ प्रतिशत बौद्ध र बाँकी २५ प्रतिशत इसाई र अन्य धर्मावलम्बी छन् ।

यो दाबीका बाबजुद पनि धार्मिक स्वतन्त्रताको सूचकांकमा उत्तर कोरिया सर्वाधिक तल्लो स्थानमा छ । २०२२ डिसेम्बरमा युनाइटेड नेसनमा उत्तर कोरियामा भइरहेको मानव अधिकार उल्लंघनलाई लिएर एउटा प्रस्ताव लगिएको थियो । उक्त प्रस्तावलाई अमेरिकासहित दर्जनौं देशले समर्थन गरेका थिए ।

प्रतिक्रिया