लुम्बिनी केबलकार आज देखि सञ्चालनमा ल्याइदैँ

बुटवल । लुम्बिनी केबलकारको टप स्टेसन रहेको पाल्पाको वसन्तपुर डाँडास्थित कामाख्या देवीको मन्दिरमा सप्ताहव्यापी पूजाआराधना चलिरहेको छ। व्यावसायिक घराना आईएमई ग्रुपको नेतृत्वमा बनेको लुम्बिनी केबलकार आज जेठ १५ गतेदेखि व्यावसायिक रूपमा सञ्चालनमा ल्याउन लागिएकाे हाे।
केबलकार सञ्चालन हुनुपूर्व मन्दिरमा कामाख्या देवीको मूर्ति प्राणप्रतिष्ठा गरी पूजाआराधना सुरु गरिएको छ । भारतको गुहावटीमा रहको मन्दिरकै शैली र कलामा वसन्तपुरमा कामाख्या मन्दिर निर्माण गरिएको छ । कामाख्या मन्दिरको दर्शनले मनोकामना पूरा हुने र सांसारिक बन्धनबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको धर्मगुरु किशोर गौतमले बताए ।
सप्ताहव्यापी पूजाआराधनामा गुहावटी र नेपालका ११ जना पण्डितहरूले धार्मिक प्रवचन दिँदैछन्। कामाख्या देवीको मन्दिरसहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वर–पिपल, ढुंगेधारा, पोखरी आदि संरचना निर्माणले वसन्तपुर एउटा धार्मिक गन्तव्य बनेको लुम्बिनी केबलकारका इन्जिनियर सन्नी चौरसियाले बताए।
सप्ताहव्यापी पूजाआराधनाकै बीचमा केबलकार सञ्चालन हुने इन्जिनियर चौरसियाको भनाइ छ। केबलकार सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकासँग त्रिपक्षीय सम्झौता गरी लुम्बिनी केबलकार प्रालिले प्रतिटिकट शुल्कको २ प्रतिशत रकम सेवा शुल्कबापत छुट्याउने छ। उक्त रकम दुई पालिकाले ५०–५० प्रतिशत पाउने छन्।
बुटवलको गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुरसम्म २ किलोमिटर ६ सय मिटर दूरीको लुम्बिनी केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो। केबलकार सञ्चालनले वसन्तपुरमा नयाँ धार्मिक र पर्यटकीय गन्तव्य थपिएको प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए। गोरखपुर, लखनउलगायतका सहरका भारतीयलाई आकर्षित गर्न सकिने सम्भावना देखेर केबलकारमा लगानी गरिएको उनले बताए।
केबलकार आयोजनाको कुल लागत ५ अर्ब रुपैयाँ छ। पहिलो चरणमा डेढ अर्ब लगानी भएको छ। मोनोकेबल डिट्याचेबल सिस्टमका २५ वटा गोन्डुला (यात्रु बोक्ने डिब्बा) रहेको केबलकारले दैनिक ६ हजार यात्रु ओसारपसार गर्न सक्ने छ। खासगरी गर्मी मौसममा वसन्तपुर पुगी शितलता प्राप्त गर्न केबलकार सजिलो माध्यम हुने अध्यक्ष ढकालले बताए।
केबलकार सञ्चालनमा आएसँगै टप स्टेसनमा साढे ३ अर्ब लागतमा पाँचतारे होटेललगायतका संरचना निर्माण हुने केबलकारका आयोजना प्रमुख गोपाल साउदले बताए ।

प्रतिक्रिया