आज गणतन्त्र दिवस, कसले के भने ?

काठमाडौं । सोह्रौँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट विंस २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो ।
जनआन्दोलन ०६२ र ६३ को जगमा गणतन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाइन्छ । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिनलाई गणतन्त्र दिवसको रुपमा मनाइँदै आइएको छ ।
यस दिनलाई निरंकुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रुपमा मनाइँदै आइएको छ ।
विंस २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गर्नुभएको थियो । गणतन्त्र स्थापनाका लागि यही आन्दोलन जगका रूपमा स्थापित भयो ।
कसले के भने ?
राष्ट्रपति रामचन्द्र पौडेलले दिएकाे शुभकामना सन्देशमा लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएकाे छ । राष्ट्रपति पौडेलले गणतन्त्र स्थापनाका लागि विभिन्न समयमा भएका आन्दोलनको नेतृत्व गर्ने राजनीतिक दलका नेतृत्वप्रति सम्मान तथा यसमा सहभागी राजनीतिक कार्यकर्ता, नागरिक समाजका अगुवालगायत सबैको योगदानको उच्च प्रशंसा गरेका छन् ।
दिवसकै अवसरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले शुभकामना दिदै भनेका छन्, ‘ऐतिहासिक जनआन्दोलन, सशस्त्र आन्दोलन, मधेस जनविद्रोह, आदिवासी, जनजाति र विभिन्न जनसमुदायको अधिकार प्राप्तिको सङ्घर्षहरूमा सहभागी भई घाइते र अङ्गभङ्ग भएका सबैप्रति उच्च सम्मान र आभार प्रकट गर्दछु । साथै, यी आन्दोलन र सङ्घर्षहरूको अगुवाइ गर्ने अग्रज नेताहरू, जनसमुदाय, नागरिक समाज, सञ्चारकर्मीलगायत सबैको उच्च सम्मानसहित उच्च प्रशंसा गर्दछु ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकतन्त्रको विकास लोकतन्त्रभित्रैबाट सम्भव रहेको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश दिदै प्रधानमन्त्रीले ठूलो सङ्घर्ष र बलिदानबाट प्राप्त राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै मुलुकलाई छिट्टै अतिकम विकसित राष्ट्रबाट विकासशील र विकसित राष्ट्रमा रूपान्तरण गरी मुलुक र जनताको प्रतिष्ठा अभिवृद्धि गर्न वर्तमान सरकार क्रियाशील रहेको बताए ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली जनताको त्याग, बलिदान र उत्सर्गबाट प्राप्त ऐतिहासिक उपलब्धिको रक्षार्थ सबैले आ–आफ्नो तहबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आवश्यक रहेको उल्लेख गरे । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्रको सुन्दर प्रणालीलाई मजबुत बनाएर गरिबी र पछौटेपन विरूद्धको लडाइँ जित्नुपर्ने बताएका छन् ।
त्यस्तै, सभामुख देवराज घिमिरेले गणतन्त्र प्राप्ति र त्यसका उपलब्धिलाई रक्षा गर्दै अघि बढ्न सरकार, राजनीतिक दल, प्रशासन संयन्त्र तथा आम नागरिकलाई अपिल गरेका छन् । दिवसकै अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राज्यको पुनःसंरचना र आवधिक निर्वाचनमार्फत विगतमा सिंहदरबारमा केन्द्रित अधिकार गाउँघरमा आइपुगेको अनुभूति आमनागरिकले गर्न थालेको बताएका छन् ।

प्रतिक्रिया