महिला टि २० आई खेलमा नेपालले आज मलेसियासँग खेल्दै

काठमाडौं । नेपालले पहिलो महिला टि २० आई खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ८ः ४५ मा मलेसियाको बांगीमा सुरु हुने खेलमा नेपाल घरेलु टोली मलेसियाविरुद्ध सानदार प्रदर्शनका साथ विजयी सुरुवात गर्ने लक्ष्यमा मैदानमा उत्रनेछ ।
नेपालको कप्तानी रुविना क्षेत्री बेलबासे र विनीफ्रेन्ड डुरैसिंगमले गर्नेछिन् । सीताले घरेलु क्रिकेट र सिनियर टोली दुबैबाट उच्च प्रदर्शन गर्दै आएकी छिन् । तीव्र गतिकी बलर अश्मिना कर्माचार्य र कविता कुँवर नेपालका प्रमुख बलिङ हतियार हुन् ।
नेपालको टोलीमा तीन युवा खेलाडी सम्झना खड्का, कृतिका मरासिनी र ईश्वरी विष्ट पहिलो पटक परेका छन् । युवा ब्याटर सम्झना खड्का र स्पिनर कृतिकाले नेपाली टोलीमा डेब्यू गर्ने सम्भावना छ । सम्झनाले मध्यक्रममा ब्याटिङ गर्न सक्छिन् । घरेलु क्रिकेटमा पछिल्लो समय लगातार राम्रो प्रदर्शन गर्दै आएकी छिन् । कृतिका स्पिनर हुन् । इन्दु बर्माबाट नेपाल उत्कृष्ट ब्याटिङ चाहन्छ ।
मलेसियाले पछिल्लो समय लगातार अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै आएको छ । नेपाल भने एक वर्षपछि पहिलो अन्तर्राष्ट्रिय खेल खेल्दैछ । मलेसिया कप्तान विनीफ्रेन्डले राम्रो प्रदर्शन गर्दै आएकी छिन् । मध्यक्रममा मास एलियास, एलिसा हन्टर र वान जुलिया हुनेछन् । तीव्र गतिकी बलर अनिना हामिजा हासिम मलेसिया प्रमुख बलर हुन् ।
हेड टु हेड
नेपाल र मलेसियाबीच तीन महिला टि२० आई खेल भएको छ । जसमा सबै खेल नेपालले जितेको छ ।
नेपालले मलेसियासँग जेठ १६ (मे३०) मा दोस्रो खेल खेल्नेछ । जेठ १८ मा (जुन १) मा नेपालले तेस्रो खेल खेल्नेछ । जेठ २० र २१ (जुन ३ र ४) मा नेपालले चौथो र पाँचौं खेल खेल्नेछ ।
नेपालको टोली : रुविना क्षेत्री बेलबासे (कप्तान), सीता रानामगर, इन्दु बर्मा, कविता कुवँर, कविता जोशी, अश्मिना कर्माचार्य, कृतिका मरासिनी, विन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, सम्झना खड्का, ईश्वरी विष्ट, ज्याति पाण्डे र सरस्वती चौधरी ।
मुख्य प्रशिक्षक : स्यामसन जंग थापा
प्रतिक्रिया