शनिबार, जेठ ४, २०८२

आज विश्व सगरमाथा दिवस

सुनिल उलक २०८० जेठ १५ गते ९:०६

काठमाडौं । मई २९, १९१४ मा जन्मेका तेन्जिङ नोर्गे यहीँ दिन एडमण्ड हिलारीका साथ पहिलो पटक सगरमाथाको टुप्पामा पनि पुगे । यसैले मई २९ लाई विश्व सगरमाथा दिवसको रूपमा मनाउने घोषणा भयो ।

तेन्जिङले सगरमाथा आरोहण नेपालीका रूपमा गरे पनि नेपाल सरकारले आफ्नो गर्वको रूपमा अङ्गीकार गरिरहन सकेन । १४ वर्षको उमेर देखि दार्जिलिङमा रोजीरोटीका लागि बिताएका तेन्जिङलाई नेपाली हुन भनेर गर्व त गरे, तर नेपाली नागरिकता दिइएन ।

सर्वोच्च सम्मान जर्ज मेडल ग्रहण गर्न बेलायत जानु पर्दा नेपाली भएर बेलायत जाने चाहना राखेका थिए । राजा त्रिभुवनले समेत विशेष चासो राखे । तर यहाँको कर्मचारीतन्त्रले विभिन्न कानुनी प्रावधान राख्दै आलेताले गरिरहे ।

नाम्ग्याल वाङ्डीका रूपमा तिब्बती भूभागमा जन्म भए पनि १४ वर्षको उमेरसम्म सोलुखुम्बुमा बसेका थिए । यी र यस्तै कारणहरू देखाउँदै नागरिकता दिइएन । नेपाली सरकारी कर्मचारीले उनको नागरिकतालाई एक व्यक्तिको रूपमा लिए उच्च व्यक्तित्वका रूपमा लिन सकेन वा चाहेन ।

भारतले उनलाई तत्कालै नागरिकता दियो । बेलायतबाट सम्मान ग्रहण गरेर फर्कना साथ नेहरुले दार्जिलिङमा हिमालयन माउन्टेनियरिङ इन्स्टिच्युट स्थापना गराइ उनलाई प्रमुखका रूपमा डाइरेक्टरको पद दिई भारतीय संस्थाको जागिरे बनाइदिए ।

नेपालले भने केवल नेपाली भनिरहे । तेन्जिङले नेपाली हुँ भन्ने चाहना राख्न खोज्दा खोज्दै पनि गर्व गर्ने ठाउँ नै पाएन । उनको जीवनको अन्त पनि दार्जिलिङमा नै भयो ।

संसारको सबैभन्दा उच्च हिमशिखर मानिएको सगरमाथामा पहिलो मानव पाइला परेको दिन हो । मई २९, १९५३ मा कर्णेल जोन हण्टको नेतृत्वमा गएको सगरमाथा आरोहण टोलीका एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथाको टुप्पोमा मानव पाइला टेकेर इतिहास रचेका थिए ।

हुन त यसभन्दा अगाडी पनि सगरमाथा आरोहणका प्रयासहरू नभएका होइनन्, Mount Everest Committee को १९२१ मा गठन भए देखि नै सगरमाथा आरोहणको प्रयासहरू भएका थिए । नेपालमा रहेको राणाहरूले अनुमति नदिएको हुँदा यी प्रयासहरू तिब्बती भूभाग अर्थात् उत्तरी मोहडाबाट गरिएका थिए ।

वि.सं.१९७८ असोज ८ गते जर्ज मालोरी, गे बुलक र एडवर्ड ओलिभर ह्विलरले उत्तरी मोहडाबाट ७०२० मिटर सम्म पुग्न सफल भएको थियो । खराब मौसमको कारणले उनीहरूले आरोहण प्रयास परित्याग गरेका थिए ।

वि.सं. १९७९ जेठ ९ गते दोस्रो प्रयासमा पनि मालोरी सहितको टोली ८१७० मीटरको उचाइसम्म पुगे । दोस्रो दिन उत्तरी मोहडाबाट जर्ज फिन्च र जेफ्री बुश ८३२० मिटर सम्म पुग्न सफल भए । यस प्रयासमा एक नेपाली तेजवीर बुढाको पनि महत्त्वपूर्ण भूमिका रहेको थियो ।

सगरमाथाको टुप्पोमा पुग्न यो प्रयास असफल भए पनि यस कठिन प्रयासका लागि आरोहण टोलीका तेह्र जनालाई नै विश्व ओलिम्पिक कमिटिले सन १९२४ को हिउँदे ओलम्पिकमा सबैलाई स्वर्ण पदक दिइएको थियो ।

यसपछि १९८१ जेठ २६ मा पुन जर्ज मालोरी तथा एन्ड्र इर्विनले सगरमाथा आरोहणको प्रयास गरे । उनीहरूको अचानक भएको मृत्युले आरोहणको प्रयासको सफलता या असफलताको रहस्य निर्क्योल हुन सकेन । एक थरीको तर्कमा सफल आरोहण पछि फर्कँदा मृत्यु भएको भनियो भने अर्को तर्कमा जाँदा जाँदै मृत्यु भएको भनियो ।

झन्डै ७५ वर्ष पछि मालोरीको शव भेटियो । तर प्रमाण केही भेटिएन । तर एउटा अनुमान फेरी लगाइयो । आरोहणमा जानु पूर्व मालोरीले आफ्नी श्रीमतीको तस्बिर सगरमाथाको चुचुरोमा छोड्ने बचनका साथ लिएर गएका थिए । तर मालोरीको शवको साथ भने सो तस्बिर भेटिएन । तसर्थ सगरमाथाको सफल आरोहणबाट फर्कँदा मालोरीको निधन भएको हो भन्ने तर्क फेरी आयो ।

त्यसपछि १९९० देखी १९९३ सम्म लगातार चार प्रयास भए । १९९५ को प्रयासमा ८२९० मिटर सम्म पुगे । २००३ को प्रयासमा तेन्जिङ पहिलो पटक गएका थिए । २००७ को प्रयासमा पहिलो पटक अमेरिकी टोलीको पनि आगमन भयो ।

२००८ मा पनि प्रयास भयो भने २००९ को प्रयासमा स्विस, भारतीय र नेपालले संयुक्त प्रयास गरे । २००८ मा दुई टोलीले अलग अलग प्रयास गरे भने २००९ मा तीन टोलीले प्रयास गरे ।

अन्तमा २०१० जेठ १६ (मई २९, १९५३) को दिउसो ११/३० मा तेन्जिङ नोर्गे तथा एडमण्ड हिलारीले सर्वोच्च शिखरमा पाइला टेके । सगरमाथा सफल आरोहणबाट फर्केपछि सुरुमा तेन्जिङले आफू पहिले चढेको र डोरीबाट एडमण्डलाई पछि तानेको अन्तर्वार्ता दिए । तर पछि दुई बिच भएको गोप्य सम्झौताले गर्दा तेन्जिङले डोरी ताने पछि हिलारी पछि आएका थिए भन्ने रहस्य तेन्जिङले कसैलाई नदिने बाँचा बन्धनमा बाँधिए ।

भरियाको नेता भएर गएका तेन्जिङलाइ उच्च शिखरमा पुगेको सफलता र सम्मान नै ठुलो थियो । तसर्थ को पहिले भन्ने विषयमा विवाद गर्न चाहेनन् । यसपछि पनि कति समयसम्म हिलारीले तेन्जिङलाई एक्लो छोडेनन्, सधैँ साथमा लिए, हरेक फोटोमा साथ साथ बसे । पछि सम्म पनि मित्रता तोडेनन् ।

तर देशले तेन्जिङलाई अपनाउन सकेन । राजा त्रिभुवनले नागरिकता दिने तथा सम्मानका साथ नेपालमा राख्ने बचन दिए पनि पुरा गर्न सकेनन् । बेलायतमा गरिने सम्मान कार्यक्रम तथा रानी एलिजाबेथबाट पाउन लागेको सम्मानको लागी बेलायत जान नेपालले राहदानी उपलब्ध नगराइदिँदा नेहरुको सहयोगले बेलायत पुगे ।

नेपालको कर्मचारीतन्त्रले कानुनी बखेडा निकालेर निर्णय समयमा गर्न नसक्दा तेन्जिङलाई कागजमा र गीतमा मात्र हाम्रा तेन्जिङ शेर्पा भनेर गर्व गर्न सकिने अवस्था बन्यो । तेन्जिङलाई नेपाल सरकारले नेपाल ताराको सम्मान त दिए तर नेपाली हुने गर्व दिन सकेन ।

बेलायतले उनलाई सर्वोच्च सम्मान दिन लाग्दा नेहरुले रोके । जसले गर्दा उनले उनका साथ जाने हिलारी र जोन हण्टले ूनाइटू को सम्मान पाउँदा पनि उनले जर्ज मेडलमा नै सन्तुष्ट हुन बाध्य भए ।

आरोहण पछि नाइटको सम्मान पाउँदा एडमन्ड हिलारीको नामको अगाडी सरूको सम्मानका साथ सर एडमण्ड हिलारी बने तर तेन्जिङ केवल तेन्जिङ नै बनिरहे ।

प्रतिक्रिया