चेन्नईलाई २१५ को लक्ष्य

नेपालखोज २०८० जेठ १५ गते २२:००

काठमाडौं । आईपीएल २०२३ को फाइनल खेल गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई २१५ रनको लक्ष्य दिएको छ । गुजरातका लागि साई सुदर्शनले सर्वाधिक ९६ रन बनाए । यसै क्रममा ऋद्धिमान साहाले पनि अर्ध शतक बनाएका थिए भने हार्दिक पाण्ड्याले २१ रन बनाएर अन्तिमसम्म आउट भएनन् ।

अहमदाबादमा भइरहेको फाइनल खेलमा चेन्नई सुपर किंग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । पावरप्लेमा शुभमन गिल र ऋद्धिमान साहाले प्रभावकारी ब्याटिङ गर्दै बिना कुनै नोक्सानी ६२ रन जोडे । यद्यपि त्यस लगत्तै महेन्द्र सिंह धोनीले रवीन्द्र जडेजाको बलमा शुभमन गिललाई स्टम्प गरेर गुजरात टाइटन्सलाई पहिलो झटका दिए ।

गिलले २० बलमा ७ चौका प्रहार गर्दै ३९ रनको योगदान दिए । गिल र साहाले पहिलो विकेटका लागि ६७ रनको साझेदारी गरे । यसपछि ऋद्धिमान साहा पनि खेलको १४औँ ओभरमा दीपक चाहरको बलमा धोनीको हातमा क्याच आउट भए । साहाले ३९ बलमा ५४ रन बनाए । साहा र सुदर्शनले दोस्रो विकेटका लागि अर्ध शतक (६४ रनको) साझेदारी पनि खेले। साई सुदर्शनले पनि अर्धशतकीय पारी खेले ।

उनले ३३ बलमा आफ्नो अर्ध शतक पूरा गरे। आफ्नो अर्ध शतक पूरा गरेपछि, साई सुदर्शन अझ घातक बने र २० औँ ओभरमा आउट हुनु अघि मात्र ४७ बलमा ९६ रन बनाए । सुदर्शनले आफ्नो पारीमा ६ छक्का र ८ चौका प्रहार गरे । यी दुई टिमबिच आइपिएल – २०२३ को फाइनल आइतबार हुनुपर्ने थियो तर अहमदाबादमा लगातारको वर्षापछि सोमबार रिजर्भ डेका रूपमा खेल्ने निर्णय गरियो ।

अहमदाबादमा आइतबार अविरल वर्षाका कारण टस पनि हुन सकेन । आईपीएलमा हालसम्म यी दुई टिमबिच चार खेल भैसकेका छन् । हार्दिकको टिमले त्यस मध्ये तीनमा जित हात पारेको छ भने धोनीको चेन्नई सुपर किंग्सले पाँच दिनअघि दुई टिम बिचको पहिलो क्वालिफायर जितेको थियो।

पहिलो क्वालिफायरमा धोनी टिम १५ रनले जितेर फाइनलमा पुगेको थियो । अर्कातर्फ दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई ६२ रनले पराजित गर्दै गुजरात टाइटन्सले फाइनलमा स्थान बनाएको हो ।

प्रतिक्रिया