शनिबार, असोज १३, २०८०

गन्तव्यमा गण्डकी

नेपालखोज २०८० जेठ १६ गते ६:३७

काठमाडाैं । अमेरिकी समाचार संस्था ‘सिएनएन’ले हालै सार्वजनिक गरेको सन् २०२३ मा विश्वका घुम्नै पर्ने २३ गन्तव्यको सूचीमा गण्डकी प्रदेशको मुस्ताङ उपत्यका पनि परेको छ । तीन वर्षअघि चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले पनि यहाँको अन्नपूर्ण चक्रीय पदमार्गलाई घुम्नै पर्ने दश गन्तव्य सूचीमा राखेको थियो । गण्डकीमा यी लगायत कैयन यस्ता गन्तव्यस्थल छन् जसले नेपालको पर्यटकीय छविलाई विश्व पर्यटन बजारमा स्थापित गर्ने सामर्थ्य राख्छन् । मुस्ताङको मुक्तिनाथ क्षेत्र, लोमान्थाङ दरबार र गोरखास्थित गोरखा दरबारलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न भइरहेको पहल पनि त्यसकै सिलसिला हो ।

राजधानी सहर पोखरालाई पर्यटकीय राजधानीको समेत उपमा दिइनुले पनि गण्डकी प्रदेश पर्यटनमा देशकै अग्रणी रहेको पुष्टि हुन्छ । फ्रान्सेली नागरिक मौरिस हर्जोगले सन् १९५० मा पहिलोपटक अन्नपूर्ण हिमाल आरोहण गरेसँगै पर्यटनमा बामे सरेको गण्डकी अहिले पर्यटनलाई नै समृद्धिको पहिलो आधार मान्ने ठाउँमा आइपुगेको छ । समुद्री सतहदेखि एक सय तीन मिटर उचाइमा रहेको नवलपुरको त्रिवेणीदेखि आठ हजार एक सय ६७ मिटर अग्लो धौलागिरि हिमालसम्म फैलिएको यो प्रदेश प्राकृतिक, भौगोलिक र सांस्कृतिक विविधतायुक्त सौन्दर्यले भरिएको छ । प्राचीन धर्म, कला र सभ्यताको पनि जननी मानिन्छ, गण्डकी प्रदेश । मिश्रित जातजाति र धर्मावलम्बीको बसोबास रहेको यो प्रदेश सांस्कृतिक पर्यटनका दृष्टिबाट पनि उत्तिकै वैभवशाली छ ।

यहाँका जातीय पर्व, परम्परा र रीतिरिवाजले पनि पर्यटकलाई लोभ्याउने गर्छ । परम्परा झल्काउने गीत, नाच र झाँकी गण्डकीका सांस्कृतिक धरोहर हुन् । विश्व चर्चित अन्नपूर्ण पदमार्ग, मुस्ताङ उपत्यका, ढोरपाटन सिकार आरक्षलगायत प्राकृतिक सम्पदा गण्डकी प्रदेशको मात्र नभई देशकै अमूल्य निधि हुन् । यहाँ रहेका माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरि, मनास्लुजस्ता हिमशृङ्खला, नदी, तालतलैया, झरना आदि पर्यटकीय आकर्षणका केन्द्र हुन् । संसारकै अग्लो स्थानमा रहेको मनाङको तिलिचो ताल, तालतलैयाको सहर पोखरा, शालिग्राम पाइने एकमात्र नदी कालीगण्डकी आदिले गण्डकीको गौरव बढाएका छन् । मुक्तिनाथ, मनकामना, दामोदरकुण्ड, बागलुङ कालिका भगवती, गलेश्वरधाम, देवघाट, सेतीवेणीलगायतका पवित्रस्थलले धार्मिक गन्तव्यको चिनारी बोकेका छन् ।

साहसिक पर्यटन गतिविधिमा पनि पोखराको नाम अघि आउँछ । पर्यटनका यिनै प्रचुरतालाई दृष्टिगत गरेर गण्डकी प्रदेश सरकारले प्रदेशको समृद्धिको पहिलो आधारका रूपमा पर्यटनलाई लिएको छ । समुचित ढङ्गले यहाँको पर्यटन विकास र प्रवर्द्धन हुनसके गण्डकी प्रदेश मात्रै होइन देशले नै ठूलो आर्थिक लाभ उठाउन सक्ने पर्यटन व्यवसायी बताउँछन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तरदेशीय उडान र चीनसँगको कोरला नाका खोल्न सके पर्यटनबाटै गण्डकीको कायापलट हुने धारणा राखे ।

अहिले पनि बर्सेनि भारतीयसहित हजारौँ विदेशी पर्यटक मुस्ताङ पुग्छन् । मुक्तिनाथ विश्वभरका हिन्दू धर्मावलम्बीमाझ प्रसिद्ध छ । अध्यक्ष श्रेष्ठले पोखरा मात्र नभएर प्रदेशका अरु जिल्लाको पर्यटन प्रवर्द्धनमा हातेमालो गर्न पोखरेली पर्यटन व्यवसायी तयार रहेको बताए । उनका अनुसार पोखराको पर्यटनमा खर्बौंको लगानी छ । साधारणदेखि पाँचतारेसम्म गरी झण्डै एक हजार दुई सय होटल यहाँ सञ्चालित छन् । कोभिड–१९ महामारी, आर्थिकमन्दी जस्ता कारणले पछिल्लो समय पर्यटन व्यवसाय सुस्ताएको अध्यक्ष श्रेष्ठले बताए । नेपाल पर्यटन बोर्डका पूर्वसदस्य वासु त्रिपाठीले गण्डकी प्रदेशको समृद्धिको पहिलो आधारका रूपमा पर्यटनलाई लिइए पनि सरकारी संयन्त्र अझै पर्यटनमैत्री बन्न नसकेको बताए ।

उनले ऐन, कानूनमा रहेका पर्यटन विरोधी प्रावधान हटाउनुपर्ने उल्लेख गरे । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्न नसक्दा स्थानीय राजनीतिक नेतृत्व, नागरिक समाजका अगुवालगायतको क्षमतामाथि प्रश्न उठ्न थालेको उहाँको भनाइ थियो । गत अङ्ग्रेजी नयाँ वर्षका दिन उद्घाटन भएको उक्त विमानस्थलबाट अहिले आन्तरिक उडान मात्रै हुँदै आएको छ । अन्तर्राष्ट्रिय उडान अझै अनिश्चित छ । त्रिपाठीले संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्य गण्डकी प्रदेशमा रहेको बताए । प्राकृतिक मात्र नभई मानवनिर्मित पर्यटकीय सम्पदाले पनि पर्यटकीय गतिविधि बढाउन ठूलो मद्दत पु¥याएको उहाँको भनाइ थियो ।

उनले मध्यकालीन शाहवंशीय इतिहासको साक्षी गोरखा दरबार, उपल्लो मुस्ताङको प्राचीन लोमान्थाङ दरबार र मुक्तिनाथ क्षेत्रका गुफालाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नुपर्ने बताए । ‘गण्डकीका ऐतिहासिक सम्पदास्थललाई विश्व जगत्मा चिनाउन सकियो भने यहाँको पर्यटनले नयाँ गति लिन्छ’, उनले भने । उनले पर्यटनका लागि पूर्वाधार र प्रवर्द्धन नै महत्त्वपूर्ण हुने बताए । अध्यक्ष अधिकारीले गण्डकी प्रदेश पर्यटनको केन्द्रका रूपमा विकास भइरहेको बताए ।

पछिल्लो समय घरबास पर्यटन फस्टाउँदो छ । देशकै पहिलो पर्यटन गाउँ सिरुबारी पनि यहीँ प्रदेशमा पर्छ । स्याङ्जाका रुद्रमान गुरुङले विसं २०५४ मा पहिलोपटक ग्रामीण पर्यटनको अवधारणा नेपाल भित्र्याएका थिए । त्यहीबेलादेखि सञ्चालित सिरुबारी घरबास अहिले पनि गण्डकी प्रदेशको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । सिरुबारीबाट सुरु भएको ग्रामीण पर्यटनको अभियान अहिले प्रदेशभरि विस्तार भएको छ । जनजाति बाहुल्य समुदायमा घरबास कार्यक्रम सञ्चालित छ । गाउँले जनजीवन, खानपान, घुमफिर र मौलिक संस्कृति घरबासका आकर्षण हुन् ।

प्रतिक्रिया