लुम्बिनी केबलकार सञ्चालनमा, औपचारिक उद्घाटन बाँकी

लुम्बिनी । आईएमई ग्रुपको नेतृत्वमा बुटवलमा बनेको लुम्बिनी केबलकार यही जेठ १५ गतेदेखि केबलकार व्यावसायिक रुपमा सञ्चालनमा आएको छ ।
यद्यपि यसको औपचारिक उद्घाटन जेठ २५ गते हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले केबलकारको उद्घाटन गर्नेछन् ।
‘जेठ १५ गते बिहान ८ बजेदेखि आम सर्वसाधारण चढ्न पाउने गरी सञ्चालनमा आएको छ,’ अध्यक्ष ढकालले भने ‘जेठ २५ गते औपचारिक रूपमा प्रधानमन्त्रीबाट उद्घाटन हुन्छ ।’
केबलकारको २०७७ फागुन १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरेका थिए ।
कम्पनीले बुटवलको वडा नं ३ मा बटम स्टेसन र पाल्पाको तिनाउ गाउँपालिका वडा नं ३ वसन्तपुरमा टप स्टेसन रहेको केबलकारले यी दुवै वडावासीलाई केबलकार चढ्दा लाग्ने शुल्कमा ४५ प्रतिशत छुट दिने घोषणासमेत गरेको छ।
स्थानीयको साथ र सहयोगले केबुलकार छिटै सञ्चालनमा ल्याउन सफल भएकाले स्थानीयको पनि अपनत्व महसुस गराउन टिकट शुल्कमा ४५ प्रतिशत छुट गरिएको अध्यक्ष ढकालले बताए ।
स्थानीय लक्ष्मण गौतम, तेजप्रसाद विश्वकर्मालगायतले अघि सारेको केबलकार आयोजनामा स्थानीयकै आग्रहमा आईएमई ग्रुप सहभागी भएर शिलान्यास गरेको ३ वर्षभित्रै सञ्चालनमा आउनु महत्वपूर्ण उपलब्धि भएको ढकालले बताए ।
कम्पनीले प्रतिटिकट शुल्कको २ प्रतिशत रकम बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकाका लागि छुट्टाएको र उक्त रकम दुवै पालिकाले ५० प्रतिशतका दरले बाँडफाँडट गर्ने बताए ।
केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्ने भएकाले केबलकार सञ्चालनले प्रदेशको राजधानी दाङ सर्दा रुपन्देहीको व्यापार–व्यवसायमा परेको असरलाई पूर्ति गर्ने र रुपन्देही फेरि गुल्जार हुने अध्यक्ष ढकालको भनाइ छ ।
वसन्तपुरमा कामाख्या देवीको आकर्षक मन्दिर बनाई नयाँ धार्मिक र पर्यटकीय गन्तव्य बनेकाले भारतीय पर्यटक आकर्षित हुने ढकालले बताए ।
केबलकार आयोजनाको कुल लागत ५ अर्ब रुपैयाँ छ। पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ । टप स्टेशनमा पर्यटकका लागि भेज र नन भेज छुट्टाछुट्टै रेष्टुरेन्ट बनिसकेका छन् भने बाल उद्यान, स्काई जीप लाइन निर्माणको क्रममा छन् ।
केबलकार सञ्चालनमा आएसंगै टप स्टेशनमा साढे ३ अर्ब लागतमा पांचतारे होटेल, लगायत संरचना निर्माण हुनेछन् ।

प्रतिक्रिया