बिहीबार, वैशाख १३, २०८१

साताव्यापी संसारी माई महापूजाको भव्य तयारी, चहलपहल बढ्दो

नेपालखोज २०८० जेठ १६ गते १७:२६

महोत्तरी । महोत्तरीको संसारी माईमा गरिने साताव्यापी महापूजाको भव्य तयारी गरिएको छ । महापूजा नजिकिँदै गर्दा जलेश्वर नगर क्षेत्र देवी भजनले गुञ्जायमान देखिन्छ । प्रत्येक पाँच वर्षमा आयोजना हुने देवी संसारी माईको महापूजाको तयारीले जलेश्वर नगरको चहलपहल बढेको छ । 

यही शुक्रवार (जेठ १९ गते) देखि विधिवत् महापूजाको विधि थालिने संसारी माई महापूजा व्यवस्थापन समितिले जनाएको छ । आउने शुक्रवारका दिन महापूजा सङ्कल्प सम्पन्न गरिएसँगै ग्रामदेवताको आराधना, पाञ्चायन देवीदेवताको पूजनसँगै श्रीमद्भागवत गीता र चण्डी पाठ सुरु गरिने समितिका अध्यक्ष अशोककुमार साहले जानकारी दिए । 

यसैबिच जलेश्वर नगरपालिका र नगरभित्रका विभिन्न सामाजिक सङ्घ संस्थाहरूको समन्वयमा दैनिक सरसफाइ, महापूजा स्थलको व्यवस्थापन, श्रद्धालुहरूको बसोबास व्यवस्थापन र नगरभित्र ठाउँ ठाउँमा खानेपानी र शौचालय सुविधा बढाउने काम भइरहेको समितिले जनाएको छ । महापूजाको तयारीमा जलेश्वर नगरका प्रत्येक घरघरका सदस्य परिचालित गरिएको छ ।

सुख, समृद्धिकी प्रतीक, विघ्नहारिणी, पापनाशक र नगर संरक्षक मानिने देवी संसारी माईको पाँच/पाँच वर्षमा हुने महापूजा गर्ने गरिन्छ । पूजा यही जेठ २६ गते शुक्रवार असार कृष्ण षष्ठी तिथिका दिन समाप्त गरिनेछ ।

परापूर्व कालमा विदेहराज जनकको राज्यकालदेखि नै संसारी माईलाई सहकालकी देवीका रूपमा मानिँदै आइएको जलेश्वर नगरबासी बताउँछन् । देवाधिदेव श्री जलेश्वरनाथ महादेव मन्दिरको सम्मुख वरुण सर (सरोवर, तलाउ) डिलमा संसारी माईको मन्दिर छ । संसारी माई देवी दुर्गाकी अवतार र प्रसिद्ध शक्तिपिठका रूपमा वर्णित र पूजित रहेकी जिल्ला समन्वय समिति महोत्तरीका पूर्वप्रमुख जलेश्वर–८ का बासिन्दा सुरेशप्रसाद सिंह बताउँछन् ।

महापूजाको अवसरमा देवी संसारी माईको दर्शन र पूजा आराधनामा सरिक हुन आउने श्रद्धालुबाहेक प्रसाद ग्रहणका लागि घरघरैबाट निम्त्याइने पाहुनाहरूको जमघट निकै बढ्ने समितिका अध्यक्ष साह बताउँछन् । ‘महापूजाको प्रसाद ग्रहणका लागि घरघरैबाट आफन्त डाकिन थालेका छन् , हेर्नुहोला, १०/२० पाहुना नभएका जलेश्वरमा कुनै घर हुने छैनन्’ अध्यक्ष साह भन्छन्, ‘यसअघि २०७५ वैशाखमा भएको महापूजामै सात लाख श्रद्धालु आएका अनुमान गरिएको थियो, यसपालि यो सङ्ख्या बढ्नेछ ।’

महापूजाको तयारीमा नगरभरि धमाधम स्वागत द्वार, पण्डाल निर्माणदेखि रङ्गी विरङ्गी धजा गाडिँदै छन् । सीमापारि भारतका मधुवनी र सीतामढी जिल्लासँगको जलेश्वर नगरको सीमा छुट्टिने दशगजा वारी भारतीय पाहुनालाई स्वागत गरिन तोरण टाँगिँदै छन् । महापूजा उत्सवमा लाखौँ भारतीय सहभागी हुने तयारीमा रहेका सूचना पाइरहिएको महापूजा व्यवस्थापन समितिले जनाएको छ ।

धेरैअघि १२/१२ र त्यसपछि सात÷सात वर्षमा हुँदै आएको महापूजा पछिल्ला केही दशकयता पाँच/पाँच वर्षमा आयोजना हुँदै आएको छ । समाजमा चाँडो चाँडो अनिष्ट हुन थालेपछि त्यसको निवारणका लागि संसारी माईको महापूजा पाँच/पाँच वर्षमा आइपुगेको जलेश्वर–१ का सामाजिक कार्यकर्ता ७० वर्षीय सुधीर साह बताउँछन् ।

संसारी माईको महापूजालाई यहाँका नागरिकले विशेष नगर उत्सवको रूपमा लिँदै आएका छन् । जलेश्वर नगरप्रमुख सुरेश साह भन्छन्, ‘महापूजा नगरको विशिष्ट अवसर हो र खास पर्व पनि । हामी यसलाई भव्य, शालीन र भक्तिमय बनाउन लागिपरेका छौँ ।’

संसारी माईको साताव्यापी महापूजाको अन्तिम दिन विशेष तान्त्रिक विधिले माईको आह्वान गरेर पञ्चवलिबाट आराधना गरिन्छ । यस अवसरमा नगरका प्राय घरबाट पशुवलि (बोका) दिइन्छ । पाँच वर्ष बिचमा (एक अर्को महापूजाबिचको अवधि) मा घरमा सम्पन्न भएका विवाह, जन्म र अन्य शुभ कार्यको भाग अलग्गै बलि दिनुपर्ने सांस्कृतिक मान्यता रहँदै आएको छ । 

महापूजा आस्थासँग जोडिएको पक्ष भए पनि यससँगै जोडेर दिइने पशुवलिको परम्परा भने परिमार्जित गरिनुपर्ने पशुअधिकारकर्मीले बताउन थालेका छन् । पशुवलिको साटो नरिवल,फलफूल र शृङ्गारिक सामग्री चढाएर देवीको भक्ति भाव गर्न सकिने पशुअधिकारकर्मीहरुको सुझाव छ ।

पूजामा आउने भक्तजनका लागि नागरिक सहायता कक्षको व्यवस्थापन गरिएको छ । शान्ति सुरक्षा, खानेपानीको व्यबस्थापन, हराएको व्यक्तिको खोजबिनमा सहयोग, मेला, प्रवचन, बजार, ट्राफिक नियन्त्रण, प्राथमिक उपचार, निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध हुने व्यवस्थापनले जनाएको छ । पूजामा मदिरा बिक्रिवितरणमा नियन्त्रण समेत गरिनेछ ।

प्रतिक्रिया