बिहीबार, जेठ २, २०८२

प्रकृति तथा नदी संरक्षणमा चासो बढ्दै

नेपालखोज २०८० जेठ १७ गते ६:३४

महोत्तरी । यहाँ प्रकृति एवम् नदी अधिकार संरक्षणबारे चासो बढेको छ । जिल्लामा रहेका नदी तथा प्राकृतिक सम्पदाको संरक्षण गर्ने उद्देश्यले जिल्लाका सङ्गठित सङ्घसंस्था तथा नागरिकले ‘प्रकृति एवम् नदी अधिकार संरक्षण अभियान’ सञ्चालन गरी सबै नदी र नदीका सभ्यताको अध्ययन र संरक्षणबारे चासो बढाएका छन् ।

‘हामीले रातु नदीको किनारमा नै जीवन धान्न सिक्यौँ, खानेपानी र सिँचाइका लागि यही नदीको प्रयोग गरेका थियौँ । पछिल्लो समय नदी, वनपाखा र थुम्काहरुमा अनियन्त्रित दोहन बढेसँगै सिँचाइका लागि मात्रै नभई खानेपानीकै सङ्कट बढेको छ’, अभियानका जिल्ला संयोजक ४० वर्षीय निरोज अधिकारीले भने ।

उनले अब पनि प्राकृतिक सम्पदाको संरक्षणमा नजुट्ने हो भने ठूलाठूला विपत्ति बढ्ने बताए । उनका अनुसार रातु महोत्तरी र धनुषाको साँध छुट्याउँदै चुरे पहाडको पाथीपरानबाट निस्केर महोत्तरीको जलेश्वर हुँदै भारत पस्ने नदी हो । ‘उद्गमस्थलदेखि पूर्वपश्चिम राजमार्गको रातुपुलसम्म २८ किलोमिटर दूरी धनुषाको सिमाना हुँदै महोत्तरीका दर्जनौँ गाउँबस्ती हुँदै जलेश्वरपछि भारत पस्छ’, उनले भने । ‘हिउँदभरि पानी नदेखिने, बर्खा लाग्यो कि घरखेत बगाउने त्रास !’, अभियानका सदस्य भङ्गाहा–४ का ४५ वर्षीय हिरालाल महतोले भने, ‘दुई दशकअघि सम्म बाह्रैमास पानी बग्ने रातुमा अब बालुमात्र देखिन्छ ।’

नदीक्षेत्र, उकासक्षेत्र, वनपाखा र थुम्कामा बढेको अनियन्त्रित उत्खनन र बढ्दो वन विनासले सन्तुलित वर्षा हुन छाडेपछि रातु नदीको तटीय आसपासका बासिन्दनमा नदीमा आउने बर्खेभेलको त्रासदी बढेको उनको भनाइ थियो । प्राकृतिक सम्पदा र नदीनालाको संरक्षणमा सबैको चासो आवश्यक रहेको महतोले बताए । पहिले ऋतु र समयमा लक्षणअनुसार पर्ने पानी अब कथा झैँ बनेको यहाँका स्थानीयवासी बताउँछन् । प्रकृति मानव हस्तक्षेपले फेरिँदै जाँदा वर्षा, जलाधारक्षेत्र र मुहान खलबलिएका भङ्गाहा–४ का ७५ वर्षीय इस्लाम कवारीले बताए । ‘हामी रातुमा बर्सेनि कुलो सखारेर खेतीपाती गथ्र्यौं, ती दिन अब कहावत (कथा) जस्ता भए’ उनले भने, ‘अब नदी मात्रै नभई घरमा भएका इनार पनि सुक्दै गएका छन् । यसले खानेपानीको हाहाकार हुने गरेको छ ।’

प्राकृतिक सम्पदामाथि मान्छेको एकोहोरो दोहनले ऋतुतालिकाअनुसारको मौसम हुन छाडेको उनको भनाइ थियो । सदाबहार पानी बग्ने नदी किनार तथा बहावक्षेत्रमा अचेल कमिला हिँडेका देख्नु परेको उनले बताए । प्राकृतिक सम्पदाको संरक्षण गर्दै स्थानीयवासीमा नदी संरक्षणबारे चेतना फैलाउने उद्देश्यले सबै सङ्गठित भएर ‘प्रकृति एवम् नदी अधिकार संरक्षण अभियान’ सञ्चालन गरिएको अभियानमा संलग्नको भनाइ छ । जिल्लामा रहेका रातु, मरहा, बाँके, बिग्ही, जङ्घा र गेरुका सहितका नदीका पुरानो परिचय र सभ्यता स्थापित गर्र्दै जनतामा सचेतना जगाउनका लागि अभियान सञ्चालन गरिएको अभियानका सचिव सन्तोष पौडेलले जानकारी दिए ।

करिब दुई साता पहिलेमात्र गठन गरिएको अभियानले जिल्लाका प्राकृतिक सम्पदाहरुको सूची तयार गर्ने, यिनको संरक्षणमा देखिएका चुनौती पहिल्याउने र समस्या सामाधानका उपायबारे विभिन्न सरोकारवाला निकायसँग पहलकदमी बढाउने निर्णय गरेको संयोजक अधिकारीले जानकारी दिए । अभियानले नदी, नदीउकास क्षेत्र, जलाधार क्षेत्र, वन तथा वनपाखासहितका प्राकृतिक सम्पदा अनियन्त्रित उत्खनन र अतिक्रमणको चपेटामा यहाँका स्थानीय परेकाले निष्कर्ष निकालेको उनले बताए ।

प्रतिक्रिया