शुक्रबार, जेठ ३, २०८२

सौदावाजीको राजनीतिले विधिको शासनको उपहास : शान्ति समाज

नेपालखोज २०८० जेठ १७ गते ११:१९

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले सौदावाजीको राजनीतिले विधिको शासनको उपहास भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

गणतन्त्र दिवसको अवसरमा बिभिन्न २२ जिल्लामा कार्यक्रम गर्दै तथा एक विज्ञप्ति जारी गर्दै समाजले विधिको शासनको उपहास भएको बताएको हो ।

‘हिमालय/चुरे बचाउन, नदी जोगाउन विशेष कार्ययोजनासहित नीति तर्जुमा गर्नुपर्नेमा उल्टो चुरे सिध्याउने गरि ढुंगा गिटी र बालुवा निकासीका लागि सरकारले अवलम्वन गर्न लागेको घातक नीतिको मानव अधिकार तथा शान्ति समाज निन्दा गर्दछ ।’ विज्ञप्तिमा लेखिएको छ ।

चुरेको अत्याधिक दोहन गरेर ढुंगा, गिट्टी, बालुवा निकाल्नु भनेको तराईलाई मरुभुमिकरणतर्फ धकेल्नु हो भन्ने धारणा शान्ति समाजको छ । साथै सोह्रौँ गणतन्त्र दिवसको उपलक्ष्यमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिस अनुसार विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसला बमोजिम १९ जना व्यक्तिहरुलाई भएको कैद सजाय माफी दिनु दुर्भाग्यपूर्ण भएको विज्ञप्तिमा जनाइएको छ ।

‘सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ समेत नआउदै राजनीतिक सौदावाजीका कारण संंवैधानिक प्रावधानको दुरुपयोग गरी भएको यो निर्णयले विधिको शासनको उपहास गरेको छ ।’ विज्ञप्तिमा लेखिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीहरुलाई कारबाही गर्नुपर्ने साथै तीन तहको सरकारमा सुशासन, पारदर्शीता र जवाफदेहीता सुनिश्चित गरिनुपर्ने माग मानव अधिकार तथा शान्ति समाजको छ ।

प्रतिक्रिया