शुक्रबार, चैत १६, २०८०

मुलुकको गुणात्मक ढङ्गले परिवर्तन आवश्यक : अध्यक्ष ओली

नेपालखोज २०८० जेठ १७ गते १८:०६

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको गुणात्मक ढङ्गले परिवर्तन आवश्यक रहेको बताएका छन् ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज राष्ट्रिय जनसांस्कृतिक महासङ्घले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनले मुलुकको अहिले सङ्ख्यात्मक रूपमा मात्र परिवर्तन भएकोले गुणात्मक परिवर्तन आवश्यक रहेको बताए ।

उनले गुणात्मक परिवर्तनका लागि अभियान सञ्चालन गर्नुपर्ने भनाइ राखे । ‘यथार्थमा अहिलेसम्म नेपालको परिवर्तन केही मात्रामा गुणात्मक नभए पनि सङ्ख्यात्मक परिवर्तन मात्रात्मक रूपमा मात्र भएको छ,’ उनले भने, ‘मुलुकमा शासक फेरिएका छन् । प्रणाली अलिकति फेरिए जस्तो भएको छ । खासमा प्रणाली उस्तै उस्तै देखिएको छ ।’

उनले मुलुकलाई सकारात्मक सोचसहित परिवर्तनतिर लैजान खोजे पनि बिथोलिएको भनाइ राखे । अध्यक्ष ओलीले जनसाहित्यबाट अन्धविश्वास, कुरीति, अन्याय, असत्य, भेद्भाव र शोषण भत्काउन शब्दवाणमा गति दिनुपर्ने भनाइ राखे ।

सङ्गीत कला, साहित्य भनेको बेग्लै संवेदना र भाव रहने भन्दै यसले बेग्लै खालको असर पार्ने बताए । नेपाल धर्ती ज्ञान, सभ्यता, सङ्गीत, कला साहित्य शिक्षाको सुरुआत भएको उनको भनाइ थियो ।

उ्नले मुलुक राजनीतिकरूपमा अस्थिर र अन्योल रहेको बेला सामाजिकरूपमा अगाडि बढ्ने ठाउँ नभएको स्पष्ट पारे । नेपाली समाजको सभ्यता र संस्कृति नै धरापमा परेको भन्दै पूर्वजले हजार वर्ष लगाएर मूल्यमान्यता विकास गरेर स्थापित गरेको उनको भनाइ थियो ।

उ्नले अर्थतन्त्र बिग्रियो भने केही समयमा सुध्रिने भए पनि समाज बिग्रियो भने सुध्रन धेरै समय लाग्ने बताए ।

प्रतिक्रिया