आइतबार, जेठ ६, २०८१

युक्रेनले फेरि गर्यो रुसमाथि आक्रमण, तेल कारखानामा आगलागी

नेपालखोज २०८० जेठ १८ गते ८:३३

एजेन्सी । युक्रेन र रुसबीचको युद्धले नयाँ मोड लिइरहेको छ किनभने अहिलेसम्म प्रतिरक्षामा केन्द्रित युक्रेनले अब रुसविरुद्ध आक्रमण गरिरहेको छ ।

युक्रेनले रुसको कब्जामा रहेको युक्रेनको लुहान्स्कको कार्पाटी गाउँमा जवाफी हमला गरेको बताइन्छ । युक्रेनी आक्रमणमा ५ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएको बताइएको छ । यो घटनामा धेरै भवनमा ठूलो क्षति पुगेको छ ।

यसैगरि युक्रेनले गरेको ड्रोन हमलाका कारण दक्षिणी रुसमा रहेका दुईवटा ठूला तेल प्रशोधन केन्द्रहरु ध्वस्त भएका छन् । विश्वको १।५ प्रतिशत तेल यिनै कारखानाबाट निकासी हुने गरेको छ ।

आक्रमणले तेल निर्यातमा बाधा पुर्याएको छ। नोभोरोसियस्क ब्ल्याक सीको तटमा रहेको रूसको सबैभन्दा ठूलो तेल निर्यात टर्मिनल हो ।

ब्ल्याक सीको मुखमा रहेको यो रूसी तेल निर्यात टर्मिनलबाट ७०(८० किलोमिटर टाढा रहेको इफिपिस्की र इल्स्की रिफाइनरीहरूमा ड्रोन हमलाहरू भएका छन्। आक्रमणपछि कारखानामा आगलागी भएको थियो । आगो निभाउने प्रयास भैरहेको छ ।

युक्रेनको सेनाले बुधबार रुसको सीमानजिकै शेबेकिनो सहरमा गोली पनि चलाएको थियो । युक्रेनको यो आक्रमणमा धेरै भवनमा क्षति पुगेको छ ।

आक्रमणबाट एउटा आठ तले भवन, चारवटा आवास र एउटा विद्यालय भवनमा क्षति पुगेको छ । आक्रमणमा परी दुई जना घाइते भएका र उनीहरुलाई अस्पतालमा भर्ना गरिएको छ ।

एक साताभित्र रुसी भूमिमा युक्रेनले गरेको यो तेस्रो आक्रमण हो। युक्रेनको आक्रमणको जवाफमा रुसले पनि युक्रेनका धेरै सहरमा लडाकु विमानबाट बमबारी गरेको थियो । रुसले युक्रेनको अन्तिम युद्धपोत पनि ध्वस्त पारेको जनाएको छ ।

रुसी नौसेनाले ओडेसाको तटमा मिसाइल प्रहार गरी युक्रेनी युद्धपोतलाई डुबाइ दिएको छ ।

यसअघि मस्कोमा मंगलबार ड्रोन आक्रमण भएको थियो जसमा परेर दुईवटा भवनमा क्षति पुगेको छ । दोस्रो विश्वयुद्धपछि मस्कोमा भएको यो पहिलो ठूलो आक्रमण थियो ।

रुसले आक्रमणका लागि युक्रेनलाई दोष दिएको छ । यससँगै रुसले युक्रेनका ड्रोनहरू पनि ध्वस्त पारिदिएको छ ।

प्रतिक्रिया