शुक्रबार, चैत १६, २०८०

वर्ल्ड मिल्क डे : गाईको कि अन्य कुनै दूध ?

नेपालखोज २०८० जेठ १८ गते १५:०६

काठमाडौं । सबै स्तनधारी प्राणीको जीवनमा दूधको ठूलो महत्त्व छ। स्तनधारी प्राणीको सन्तान जन्मने बित्तिकै उ आमाको स्तनबाट दूध पिउन थाल्छ । जनावरका सन्तानले केही समयपछि आमाको दूध छोडेर अन्य जनावरजस्तै अन्य चीजहरू खान थाल्छन् ।

यता आमाको दूध त्यागेर पनि मानव बालबालिकाले गाई, भैंसी, बाख्रा, भेडा आदि अन्य स्तनधारी प्राणीको दूध पिउने क्रम जारी छ । मानिस एकमात्र यस्तो प्राणी हो जसले अन्य जनावरको दूध खान्छ ।

मानिसको तर्क छ – दूध उसको स्वास्थ्यका लागि निकै महत्त्वपूर्ण छ, विशेष गरी हड्डीका लागि । जबकि नयाँ अनुसन्धानले अन्य जनावरको दूध पिउनु अनावश्यक, अप्राकृतिक र हानिकारक रहेको बताउँछ।

करिब ११,००० वर्ष पहिले नै मानिसले गाई पाल्न थालेको थियो । यद्यपि मानिसले दूधमा भएको ल्याक्टोजलाई पचाउने क्षमता १० हजार वर्षअघि मात्र विकास गरेको हो ।

यसको सुरुवात दक्षिण-पश्चिम एशियाबाट भएको हो , जुन बिस्तारै युरोपमा फैलियो। यही कारणले गर्दा आज विश्वका ३० प्रतिशत मानिसले वयस्क भएपछि पनि इन्जाइम ल्याक्टेज उत्पादन गर्छन्। बाल्यावस्थामा आमाको दुध पिउन छोड्दा उनीहरुको शरीरमा ल्याक्टेज इन्जाइमको उत्पादन पनि बन्द हुन्छ । त्यस पछि ती मानिसले दूधमा भएको चिनी (ल्याक्टोज)लाई पचाउन सक्दैनन्। तिनीहरूको शरीरमा प्रतिक्रियाहरू हुन्छन्।

युरोपेलीहरू, केही अफ्रिकी, मध्य-पूर्वी तथा दक्षिण एसियाली मानिसहरू बाहेक संसारका अधिकांश मानिसलाई दूधको ल्याक्टोजसँग एलर्जी हुन्छ। अमेरिकामा युरोपेली मूलको जनसंख्याको ९ प्रतिशत मात्र दूध पचाउन सक्षम छ । उनीहरू पनि दूधबाट जोगिन चाहन्छन्। यद्यपि यसका धेरै कारणहरू छन् जस्तै स्वास्थ्य र पशुपालनबाट वातावरणमा हुने हानि आदि । यही कारणले अमेरिकामा गाईको दूधको विकल्पका रूपमा प्रदान गरिने डेयरी उत्पादनहरूको बजार द्रुत रूपमा बढिरहेको छ।

प्रश्न उठ्छ गाईको दूध छोडेर यसको विकल्प खोज्दा स्वास्थ्यका लागि कत्तिको फाइदा हुन्छ ? के हामीले गाईको दूधबाट प्राप्त हुने पोषक तत्व वैकल्पिक उत्पादनबाट प्राप्त गर्न सक्छौं? के दूध पिउनाले ल्याक्टोज एलर्जी भएका मानिसहरूलाई अझ खराब बनाउँछ ?

गाईको दूधमा कस्ता पोषक तत्व पाइन्छ ?

गाईको दूध प्रोटिन र क्याल्सियमको मुख्य स्रोत हो । यसबाट हामीले भिटामिन बी-१२ र आयोडिन पनि पाउँछौं।

यसमा म्याग्नेसियम पनि पाइन्छ जसले हड्डीको विकास तथा मांसपेशीको कार्यमा सहयोग गर्छ। अनुसन्धानले पत्ता लगाए अनुसार दही र केसिन जस्ता दुधजन्य पदार्थले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्दछ। बेलायतको नेशनल हेल्थ सर्भिसले एक वर्षदेखि तीन वर्षसम्मका बालबालिकाको हड्डीको उचित विकासका लागि दैनिक ३५० मिलिग्राम क्याल्सियम खानुपर्ने बताएको छ । दैनिक एक गिलास दूध पिउँदा मात्र पनि यो प्राप्त हुन्छ ।

वयस्कहरूको हड्डीलाई स्वस्थ राख्न गाईको दूध कत्तिको प्रभावकारी हुन्छ भन्ने विषयमा अनुसन्धानले विभिन्न निष्कर्ष निकालेको छ । यसमा कुनै शंका छैन कि क्याल्सियम हड्डीका लागि धेरै महत्त्वपूर्ण छ । तर प्रयाप्त क्याल्सियम खाँदा हड्डी भाँचिनबाट जोगिन्छ भन्न गाह्रो छ । अनुसन्धानले पनि यस बिषयमा स्पष्ट रूपमा केही बोलेको छैन । बरु, केहि अनुसन्धान परिणामहरूले देखाए अनुसार धेरै दूध पिउँदा हड्डी भाँचिने सम्भावना अझ बढ्छ।

स्वीडेनमा गरिएको एक अनुसन्धान अनुसार दिनमा आधा गिलासभन्दा कम दूध पिउने महिलामा हड्डी भाँचिने खतरा बढी हुन्छ । यद्यपि, यो अनुसन्धान गर्नेहरूले यो कुरा होसियारीका साथ भन्छन्। हड्डी भाँचिने प्रवृत्ति बढी हुने महिलाले बढी दूध पिउनु पर्ने विश्वास पनि उनीहरुको छ । किशोरावस्थामा क्याल्सियम हाम्रो हड्डीको विकासका लागि निकै महत्त्वपूर्ण छ ।

यो उमेरमा यदि हाम्रो हड्डीको विकास राम्रोसँग हुन सकेन भने मध्यम उमेरपछि हामीलाई हड्डीसँग सम्बन्धित समस्या हुन थाल्छ । खासगरी महिलाले यसको पिडा बढी महसुस गर्छन् । महिनावारी बन्द भएपछि उनीहरुमा एस्ट्रोजन हार्मोनको श्राव बन्द हुन्छ जसका कारण हड्डी मर्मतको काम सुस्त हुन्छ अनि महिलाको हड्डी निकै कमजोर हुन्छ ।

दूध सम्बन्धि स्वास्थ्य चिन्ता

हालैका दशकहरूमा दूधका बारेमा अर्को चिन्ता पनि व्यक्त गरिएको छ। गर्भावस्थामा पनि गाईले दूध दिन्छ । तर, यो समयमा दूधमा एस्ट्रोजन हार्मोनको मात्रा २० गुणा बढी हुन्छ । एस्ट्रोजनको उच्च स्तर क्यान्सरसँग जोडिएको छ। अनुसन्धानकर्ताहरू स्तन क्यान्सर, पाठेघरको क्यान्सर तथा महिलामा हुने पाठेघरको क्यान्सरसँग यसको प्रत्यक्ष सम्बन्ध देख्छन् ।

अमेरिकाको विस्कन्सिन विश्वविद्यालयका अनुसन्धानकर्ता लौरा हर्नान्डेजले गाईको एस्ट्रोजेन दूधबाट डराउनु पर्ने आवश्यकता नरहेको बताएकी छन् । महिलाको दूधमा पनि हार्मोन पाइन्छ । यो स्तनधारी जनावरहरूको एक भाग हो। दूधमा बोसोको मात्रा बढी हुन्छ । त्यसैले धेरै दूध पिउँदा मुटु रोगको जोखिम बढ्छ भन्ने विश्वास गरिन्छ ।

अनुसन्धानले दूधमा ३.५ प्रतिशत मात्र चिल्लोपन हुने देखाएको छ । हल्का स्किम्ड दूधमा लगभग १.५ प्रतिशत हुन्छ भने स्किम्ड दूधमा ०.३ प्रतिशत मात्र चिल्लोपन हुन्छ। भटमास, बदाम, भांग, नरिवल, ओट्स तथा चामलबाट बनेको पेय पदार्थमा दूधको तुलनामा कम बोसो हुन्छ। फिनल्याण्ड युनिभर्सिटीकी प्रोफेसर जेरिका विर्तानेन भन्छिन् – दूधमा प्रचुर मात्रामा प्रोटिन हुन्छ। धेरै दूध पिउनेहरुको भोक दूधले नै मेटिन्छ ।

त्यसैले ती व्यक्तिहरूले अन्य पौष्टिक खाना खाँदैनन्। जसका कारण उनीहरुमा मुटु रोगको जोखिम बढ्छ । दूधमा मात्र बाँच्नु स्वास्थ्यका लागि राम्रो नहुने उनी बताउँछिन् । सन्तुलित मात्रामा दूध पिउँदा नराम्रो पनि हुँदैन । दूधको स्वाद नरुचाउनेहरूले पनि बेलाबेलामा उचित मात्रामा दूध खान सक्छन् । यो कुरा अनुसन्धानमा पनि प्रमाणित भएको छ ।

अझै पनि गाईको दूध पिउन नमान्ने र अन्य विकल्पतर्फ लाग्नेहरुको जनसङ्ख्या ठूलो छ । सोया दूध गाईको दूधको उत्तम विकल्प हो। यो एक यस्तो विकल्प हो, जसमा गाईको दूध बराबर प्रोटीन हुन्छ। अन्य प्रकारका वैकल्पिक दूधमा धेरै कमजोरीहरू हुन सक्छन्, जुन वयस्कहरूका लागि ठीक छ तर बालबालिकाहरूका लागि उपयुक्त छैन।

वैकल्पिक दूध

अमेरिकी पोषणविद् सिना ग्यालो वैकल्पिक दूधले गाईको दूधमा उपलब्ध सबै पोषक तत्वहरू उपलब्ध गराउन सक्छ तर एउटै मात्रामा भने आवश्यक छैन भन्ने कुरामा विश्वास गर्छिन्। उदाहरणका लागि हामीले बदाम चपाएर प्राप्त गर्ने बदामको पोषक तत्वहरू बदामको दूधमा पाइँदैन। वैकल्पिक दूधमा थप पोषक तत्वहरू थपिन्छन्। जबकि ती सबै तत्व गाईको दूधमा प्राकृतिक रूपमै पाइन्छ।

अहिले भिटामिन डी युक्त गाईको दूध अमेरिकामा सीमित गरिएको छ । यसका अन्य पोषक तत्वहरू जस्तै चिल्लोपन आदि पनि पूर्ण रूपमा नष्ट गरिन्छ । यस्तो अवस्थामा गाईको दूध पिउनुको कुनै फाइदा छैन । किनभने घाममा बस्दा पनि प्रचुर मात्रामा भिटामिन डी पाइन्छ।

विशेषज्ञहरू भन्छन् – वैकल्पिक दूध बालबालिकाहरूका लागि राम्रो विकल्प होइन। उनीहरूका लागि गाईको दूध नै उत्तम हुन्छ । बेलायतका पोषण वैज्ञानिक चार्लोट स्टर्लिङ-रिड भन्छिन् – सरकारले गाईको दूध बालबालिकाहरूका लागि वैकल्पिक दूध भन्दा राम्रो हो भनेर दिशानिर्देश जारी गर्नुपर्छ ।

बालबालिकालाई गाईको दुधको सट्टा अरु केही ख्वाउने हो भने उनीहरुको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ । गाईको दूधमा प्राकृतिक रूपमा मिठास पाइन्छ भने वैकल्पिक दूधमा मिठास मिसाइन्छ, जुन स्वास्थ्यका लागि राम्रो होइन । त्यसैले यो चिन्ताको विषय पनि हो ।

बजारमा वैकल्पिक दूधका धेरै विकल्पहरू छन्। यस्तो अवस्थामा कुन दूध पिउने सही हो निर्णय गर्न गाह्रो हुन्छ। कहिलेकाहीँ गलत छनोट स्वास्थ्यसँग खेलवाड जस्तै साबित हुन्छ । यदि सन्तुलित आहार लिइरहिएको छ भने कुन दुध खाँइदैछ भन्ने कुराले खासै फरक पर्दैन। दुध पिउनु पर्छ , मासु नै खानु पर्छ भन्दा पनि सन्तुलित आहार खानु महत्त्वपूर्ण हुन्छ ।

BBC मा आधारित

प्रतिक्रिया