सोमबार, असार २, २०८२

दुई देशबीच उल्लेख्य उपलब्धि हासिल भएका छन् : भारतीय प्रधानमन्त्री मोदी

नेपालखोज २०८० जेठ १८ गते १९:२७

काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालबीच धार्मिक र सांस्कृतिक सम्बन्ध निकै पुरानो र घनिष्ठ रहेको बताएका छन् । भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटवार्तापछि आज आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले भारत–नेपाल सम्बन्धलाई हिमाल जतिकै उचाइ प्रदान गर्नका लागि काम गरिरहने उल्लेख गरे ।

नौ वर्षअघि सन् २०१४ मा आफूले भारतीय प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हालेको तीन महिनाभित्र नेपालको पहिलो भ्रमण गरेको स्मरण गर्दै उनले नौ वर्षमा दुवै देशबीच अनेकौँ क्षेत्रमा कयाैं उपलब्धि हासिल भएको उल्लेख गरे । उनले भारत–नेपाल ‘पार्टनरसीप’ लाई ‘सुपरहिट’ बनाउन दुवै देशका प्रधानमन्त्रीले महत्त्वपूर्ण निर्णय लिएको उल्लेख गरे ।

भारतीय रेल संस्थानमा नेपालका रेलकर्मीलाई प्रशिक्षण प्रदान गर्ने निर्णय लिएको पनि उनले जानकारी दिए । उनले अन्तरदेशीय डिजिटल भुक्तानीसम्बन्धी सम्झौतासँगै हजारौँ विद्यार्थी, लाखाैं पर्यटक अथवा तीर्थयात्रीका साथ स्वास्थ्योपचारका लागि भारत आउने नेपालीले लाभ लिने उल्लेख गरे ।

उनले थप तीनवटा एकीकृत जाँचचौकी निर्माणबाट आर्थिक कनेक्टिभिटी सुदृढ हुने विश्वास व्यक्त गरे । यसअन्तर्गत आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत् आयात गर्ने लक्ष्य राखेको प्रधानमन्त्री मोदीले घोषणा गरे । फुकोट कर्णाली र तल्लो अरुण जलविद्युत् परियोजना निर्माणको सम्झौताबाट विद्युत् क्षेत्रमा सहयोगका लागि बल मिलेको उहाँको भनाइ थियो ।

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाले सकारात्मक प्रभाव परेको जनाउँदै उहाँले उक्त पेट्रोलियम पाइपलाइनलाई चितवनसम्म लैजान निर्णय गरिएको बताए ।

प्रतिक्रिया