शनिबार, वैशाख १५, २०८१

टर्कीको निर्वाचन बोर्डद्वारा आधिकारिक रूपमा एर्दोगानको जीत घोषणा

नेपालखोज २०८० जेठ १८ गते २१:०३

टर्की । टर्कीको सर्वोच्च निर्वाचन परिषद्ले बिहीबार आधिकारिक रूपमा रिसेप तैयप एर्दोगानलाई ५२.१८ प्रतिशत मत प्राप्त गरी राष्ट्रपतिको निर्वाचनको दोस्रो चरणबाट विजेता घोषित गरेको छ । मे २८ मा भएको राष्ट्रपतीय निर्वाचनको दोस्रो चरणमा टर्किएमा कूल ५२,०९३,३७५ मतदाताले मतदान गरेका थिए ।

मतदानको दर ८५.७२ प्रतिशत रहेको निर्वाचन निकायका अध्यक्ष अहमत येनरले पत्रकारहरूलाई बताउनुभएको छ । एर्दोगान दोस्रो चरणको चुनावमा राष्ट्रपतिको रूपमा पुनः निर्वाचित भएका छन् । उनले टर्कीको विपक्षी ब्लकका राष्ट्रपति पदका उम्मेदवार, केन्द्र–वामपन्थी रिपब्लिकन पिपुल्स पार्टी (सीएचपी) का नेता केमाल किलिचदारोग्लुलाई पराजित गरेका हुन् ।

उता प्रत्यासी किलिचदारोग्लुले ४७.८२ प्रतिशत मत प्राप्त गरेका थिए । मे १४ मा भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि पुनः राष्ट्रपतिको निर्वाचन भएको थियो । एर्दोगानले शनिबार संसद्मा शपथ लिने र त्यसपछि आफ्नो नयाँ मन्त्रिपरिषद् घोषणा गर्ने छन् । सांसदहरूले शुक्रबार संसद्मा शपथ लिँदै छन् ।

प्रतिक्रिया