जुन १ को कालो शुक्रबार : नेपाली राजपरिवारमा नरसंहार

नेपालखोज २०८० जेठ १९ गते १०:००

काठमाडौं । १ जुन २००१ अर्थात आज भन्दा ठीक २२ वर्ष पहिले नेपालको राजदरबारमा पार्टी चलिरहेको थियो । उक्त घरेलु पार्टीमा राजा वीरेन्द्र, रानी ऐश्वर्यालगायत राजपरिवारका एक दर्जनभन्दा बढी सदस्यको उपस्थिति थियो ।

उक्त पार्टीका आयोजक राजकुमार दीपेन्द्र राति ८ बजे हलमा आएका थिए । उनी पूर्ण सैन्य पोशाकमा थिए। उनको एक हातमा MP5K सबमशीन गन र कोल्ट M-16 राइफल थियो । उनको वर्दीमा ९ एमएमको पेस्तोल झुन्डिएको थियो ।

दीपेन्द्रले बुबा राजा वीरेन्द्रलाई हेरेर दाहिने हातमा समातेको सबमेसिनगनको ट्रिगर थिचे । त्यसपछि केही मिनेटमै त्यहाँ शाही परिवारका ९ जनाको शव भुइँ भरि फैलियो । अन्त्यमा राजकुमार दीपेन्द्रले आफैलाई पनि गोली हाने ।

यो घटना नेपाली मिति अनुसार जेठ १९ गते शुक्रबारको हो जुन भोलि पर्छ र संजोगबस यस पटक बार पनि उहीँ छ – शुक्रबार । यद्यपि अंग्रेजि क्यालेन्डर अनुसार घटनाको बार्सिक पुन्यतिथि आजै हो – जुन १ ।

नेपालमा एउटा लोककथा प्रचलित छ । भनिन्छ यो सन् १७६९ को कुरा हो । पृथ्वीनारायण शाहले उपत्यकाका तीन वटा राज्य जितेर आफूलाई राजा घोषणा गरे । त्यस पछि एक पटक उनी गोरखाबाट काठमाडौं जाँदै थिए ।

बाटोमा उनको भेट एक भिक्षुसँग भेट भयो । भिक्षुलाई भोक लागेको छ भन्ने सोचेर राजाले उनलाई भाँडाको दही दिए । भिक्षुले दहीको स्वाद लिए र कचौरा राजालाई फिर्ता दिए।

राजाले त्यो दही भुइँमा फाले । संजोगबस त्यो सबै दही राजाको खुट्टामा झर्यो । त्यो देखेर भिक्षु रिसाए र राजासँग दही फ्याँक्नुको कारण सोधे । राजाले जवाफ दिए – राजाले जुठो दही खान सुहाउँदैन । तब तपस्वीले राजालाई श्राप दिदै भने– यो दही खाएको भए तिम्रा सारा मनोकामना पूरा हुने थिए । राजाको दश औंलामा दही लागेका कारण उनलाई भिक्षुले १० पुस्तापछि उनको बंशको शासन अन्त्य हुने श्राप दिए ।

सन् २००१ जुन १ मा भएको राजपरिवारको नरसंहार त्यही श्रापको उपज हो भन्ने विश्वास कतिपयको छ ।

नरसंहारको कथा…

२००१ जुन १ शुक्रबारको दिन । ठाउँ काठमाडौंको नारायणहिटी दरबार । दरबारको एउटा बैठकमा पार्टी चलिरहेको थियो । नेपालको राजपरिवारमा हरेक हप्ता यस्तै पार्टी आयोजित हुने गरेको थियो जुन नितान्त पारिवारिक भेटघाटको उदेश्यले चल्दै आएको थियो । पार्टीमा राजपरिवारका सबै जसो सदस्य उपस्थित थिए , साना केटाकेटीदेखि वृद्धवृद्धासम्म सबै । त्यसमध्ये राजकुमार दीपेन्द्र पनि एक थिए । उनी साँझ ६ः४५ बजे पार्टीमा पुगेका थिए र नजिकैको कोठामा बिलियर्ड खेलिरहेका थिए ।

केही समयपछि रानी ऐश्वर्या तीन दिदीबहिनीसँगै त्यहाँ पुगिन् । एउटा पत्रिकालाई अन्तर्वार्ता दिएर राजा वीरेन्द्र अलि ढिलो पुगे । दीपेन्द्रका काका अधिराजकुमार धिरेन्द्र पनि आमा र श्रीमतीसँगै त्यहाँ पुगेका थिए । पार्टीमा हाँसो – खुसीको बाताबरण थियो , तर राजकुमार दीपेन्द्रका लागि बाताबरण सामान्य थिएन । उनले यति धेरै रक्सी पिएका थिए कि उनी राम्रो सँग उभिन पनि सक्दैनथे । मातेको अवस्थामा ठक्कर खाएर लडेपछि उनका भाइ निरजन तथा काका का छोरा पारसले केही व्यक्तिको सहयोगमा उनलाई उनको कोठामा पुर्याए ।

उनिहरु फर्किएको केही बेरपछि दीपेन्द्र आर्मीको पोसाक लगाएर कोठाबाट बाहिर निस्किए । उनको एक हातमा जर्मन मेसिनगन MP5K र अर्को हातमा कोल्ट M16 राइफल थियो। उनको पाइन्टमा ९ एमएमको पेस्तोल पनि राखिएको थियो । दीपेन्द्रलाई यस्तो अवस्थामा बाहिर निस्किएको देखेर पार्टीमा उपस्थित मानिसहरु छक्क परे । दीपेन्द्रले अगाडि बढेर बुबा वीरेन्द्र शाहलाई हेरे । कसैले केही बुझ्न नपाउँदै दीपेन्द्रले मेसिनगन बुवातर्फ तेर्साएर ट्रिगर थिचे । केही सेकेन्ड मै नेपालका राजा भुइँमा लास सरह भैसकेका थिए ।

दीपेन्द्रका कान्छा काका धिरेन्द्र उनलाई रोक्न अघि सरे पनि दीपेन्द्रले उनको टाउकोमा गोली हाने । गोली उनको टाउको छेडदै गएको थियो । त्यस पछि दीपेन्द्र बैठक हल छाडेर बगैंचामा गए । अहिले सम्म त्यहाँ उपस्थितहरुले अप्रिय घटना बुझिसकेका थिए। रानी ऐश्वर्या दिपेन्द्रको पछि – पछि दौडिइन, कान्छा भाइ राजकुमार निराजन पनि आमासँगै दौडिए । तर दीपेन्द्रले पहिले आमा र त्यस पछि भाइ निराजनलाई पनि गोली हाने । ३ देखि ४ मिनेटमा दीपेन्द्रले १२ जनालाई गोली हानेका थिए ।

अन्ततः उनी नारायणहिटी राजदरबारको बगैँचा छेउ पोखरीमा बनेको पुलमा उभिएर चर्को स्वरमा चिच्याउन थाले । त्यसपछि उनले आफैलाई पनि टाउकोमा गोली हाने । भनिन्छ राजा वीरेन्द्र गोलि लागेको केही मिनेटसम्म सास फेर्दै थिए । दीपेन्द्र पनि जिउँदै थिए । केही मिनेटपछि घाइतेहरुलाई कारबाट अस्पताल लान थालियो । त्यति बेला गोली चलाउने दीपेन्द्र र घाइते बुबा वीरेन्द्रलाई एउटै गाडीमा अस्पताल लगिएको थियो ।

घाइतेलाई बोकेको गाडी राति ९ : १५ बजे अस्पताल पुगेको थियो । केही बेरमै नेपालका उत्कृष्ट हृदय शल्यचिकित्सक, न्यूरोसर्जन तथा प्लास्टिक सर्जनहरू शैनिक अस्पताल , छाउनी पुग्न थाले । रानीलाई कारबाट बाहिर निकाल्ने वित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । केही समयपछि राजा वीरेन्द्रलाई पनि मृत घोषणा गरियो । त्यति बेला यति धेरै घाइते अस्पताल पुगेका थिए कि शैनिक अस्पतालको इमर्जेन्सीमा ओछ्यान नै बाँकी थिएन । दीपेन्द्रलाई स्ट्रेचरमा राखेर भित्र ल्याइँदा उनका लागि बेड बाँकी थिएन । उनलाई भुइँमा गद्दामा सुताइयो । उनका भाइ निराजन तथा बहिनी श्रुति उनकै गोलीको सिकार भैसकेका थिए ।

त्यसपछि केही बेरमै दिपेन्द्रलाई अपरेशन थिएटरमा लगियो । यद्यपि दीपेन्द्रको पनि तीन दिनपछि असार ४ गते उपचारकै क्रममा मृत्यु भयो ।

आखिर किन गरे राजकुमार दीपेन्द्रले आफ्नै परिवारको हत्या ? यसको ठोस जवाफ आजसम्म भेटिएको छैन । नेपाल सरकारको आधिकारिक प्रतिवेदनदेखि मिडिया र स्वतन्त्र अनुसन्धानसम्म यो घटनालाई लीएर विभिन्न दृष्टिकोण अगाडि सारिएको छ ।

दृष्टिकोण नम्बर – १ :
दीपेन्द्रकी प्रेमिका देवयानी राणा शाहि राजपरिवारलाई मान्य थिइनन् । हत्याको १९ दिनपछि नेपाल टाइम्समा यो समाचार छापिएको थियो । युवराज दीपेन्द्रले आफ्नी प्रेमिका तथा राप्रपा नेता पशुपतिशमशेर जबरा पुत्री देवयानी राणासँग विवाह गर्न नपाएका कारण उक्त घटना घटाएको समाचारमा दाबी गरिएको थियो । यस क्रममा राजा वीरेन्द्रले दीपेन्द्रलाई राजगद्दीबाट निष्कासन गर्ने धम्की समेत दिएको समाचारमा उल्लेख छ ।

खासगरि दीपेन्द्रकी आमा रानी ऐश्वर्यालाइ देवयानीसँगको विवाह स्वीकार्य थिएन् । उनी दीपेन्द्रको विवाह आफ्नै माइति परिवारमा टाढाको नातेदारसँग गराउन चाहन्थिन् । समाचार अनुसार देवयानीको परिवारका सदस्य पनि यो सम्बन्धका लागि सहमत थिएनन् । किनभने देवयानीको परिवार नेपाली राजपरिवारभन्दा धनी थियो । यस्तो अवस्थामा देवयानीकी आमा जो भारतको ग्वालियर कि राजकुमारि हुन लाई सम्पन्न घरकि छोरीले कम धनी घरमा कसरी बस्ने होलिन भन्ने चिन्ता थियो ।

सन् १९८७ र १९९० को बीचमा बेलायतमा अध्ययनका क्रममा भेट भएका दीपेन्द्र र देवयानीले परिवारका सदस्यहरूलाई बाइपास गरेर भेट्ने क्रम जारी राखे । राजकुमारले आफ्नो परिवारलाई देवयानीसँग विवाह गराइदिन आग्रह गरिरहे। त्यतिबेलाको समाचार अनुसार सन् २००१ त्यो दिन राजकुमार दीपेन्द्रको धैर्यताले जवाफ दिएको थियो ।

दृष्टिकोण नम्बर – २ :
नेपालको राजपरिवारलाई ध्वस्त पार्ने त्यो घटनाका पछाडि भारतिय गुप्तचर संस्था RAW तथा अमेरिकी गुप्तचर संस्थ CIA को षड्यन्त्रले काम गरेको छ । उक्त हत्याकाण्डको एक वर्षपछि ६ जुनमा तत्कालिन भूमिगत माओवादी नेता बाबुराम भट्टराईको नेपालको एउटा लेख कान्तिपुर दैनिकमा प्रकाशित भयो जसमा उक्त घटनालाई ‘राजनीतिक षड्यन्त्र’ भनिएको छ । शाही परिवारको विनाशको पछाडि भारतको गुप्तचर एजेन्सी आर एन्ड ए (रिसर्च एण्ड एनालिसिस विङ) तथा अमेरिकी गुप्तचर एजेन्सी सीआईए (केन्द्रीय गुप्तचर एजेन्सी) को हात रहेको सो लेखमा उल्लेख छ । त्यो लेख प्रकाशित भएलगत्तै पत्रिकाका सम्पादक सहित प्रकाशकहरु पनि पक्राउ परे ।

सन् २००९ मा राजदरबारका पूर्व सैनिक जनरल विवेक शाहले मैले देखेको दरबार (द प्यालेस, हू सो) नामक पुस्तक लेखेर उक्त नरसंहारको पछाडि भारतको हात रहेको दाबी गरेका थिए। नेपालका अर्का नेता (तत्कालीन माओवादी नेता) पुष्पकमल दाहालले पनि यो हत्याकाण्डमा ‘र’को षडयन्त्र रहेको दाबी गरेका छन् ।

दृष्टिकोण नम्बर – ३ :
ज्ञानेन्द्र र पारसले राजगद्दी प्राप्तिका लागि यो नरसंहार गरेका हुन । राजा वीरेन्द्रका कान्छा भाइका ज्वाइँ डाक्टर राजीव शाहले पत्रकारहरुलाइ दीपेन्द्रले रक्सी खाएको अवस्थामा पार्टीमा आएर राजा-रानीसहित ९ जनाको हत्या गरेको बताएका छन् भने राजा बिरेन्द्रका छोरी ज्वाइ गोरख समशेरले पनि त्यही कुरा दोहोर्‍याएका छन् । उनिहरु दुबै घटनाका प्रत्यक्षदर्शी हुन भने त्यो घटनामा गोरखले श्री मती तथा डा. राजीवले ससुरा गुमाएका थिए ।

घटनाको तीन दिनपछि दीपेन्द्रको पनि मृत्यु भयो जतिबेला सम्म उनलाई बुबाको मृत्युुका कारण नयाँ राजा घोषणा गरिसकिएको थियो । दीपेन्द्रको मृत्युपछि पारसका बुबा तथा राजा वीरेन्द्रका भाइ ज्ञानेन्द्रलाई नेपालको राजा बनाइयो । उक्त घटनाको दिन ज्ञानेन्द्र काठमाडौंमा नभएर पोखरामा थिए भने उनकि श्री मती कोमल तथा छोरा पारस सहित परिबारका सदस्यहरु घटनास्थल मै थिए ।

त्यो घटनामा अधिराजकुमारी कोमललाइ गोली लागे पनि उनिसहित ज्ञानेन्द्रको परिवारका सबैको ज्यान जोगियो । त्यहि संजोगका कारण ज्ञानेन्द्र र पारसले राजगद्दी पाउन यो नरसंहार गराएको हल्ला पनि चल्यो ।

उक्त हत्याकाण्डको छानबिन गर्न नेपालका प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय तथा नेपाली संसदका सभामुख तारानाथ रानाभाटको समिति गठन गरिएको थियो जसले एक साताको अनुसन्धानपछि एउटा प्रतिवेदन बाहिर ल्यायो । उक्त प्रतिवेदनमा सयौं प्रत्यक्षदर्शीको बयानका आधारमा यो हत्याकाण्डमा राजकुमार दीपेन्द्रको हात रहेको बताइएको छ ।

स्रोत : विभिन्न पत्रपत्रिका

प्रतिक्रिया