शुक्रबार, वैशाख १४, २०८१

सातामा आठ अर्ब ९५ करोड रुपैंयाँको सेयर किनबेच

नेपालखोज २०८० जेठ १९ गते १०:४५

काठमाडौं । यो साता नेप्से १८ सय ६६ दशमलव ३४ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन सय ५५ दशमलव ६२ अंकमा पुगेको छ ।

सातामा दुुई सय ७५ वटा कम्पनीहरुको एक लाख ५५ हजार एक सय १० पटकको कारोबारमा दुई करोड ८९ लाख ८८ हजार सात सय तीन कित्ता शेयर खरिद–बिक्री भएका छन् । जसबाट यो साता आठ अर्ब ९५ करोड ११ लाख छ हजार ३६ रुपैंयाँको सेयर किनबेच भएको छ । यो कारोबार रकम गत साताको तुलनामा बढी हो ।

गत साता भने दुुई सय ७३ वटा कम्पनीहरुको एक लाख ३३ हजार सात सय १४ पटकको कारोबारमा एक करोड ९२ लाख ५७ हजार चार सय ३५ कित्ता शेयर खरिद–बिक्री भएका थिए । जसबाट उक्त साता छ अर्ब ९५ करोड २२ लाख ३९ हजार चार सय २७ रुपैंयाँ ५८ पैसाको सेयर किनबेच भएको छ ।

यो साता नेप्से चार दिन मात्र खुल्ला रहेकोमा पहिलो, तेस्रो र चौंथो दिन घटेको थियो भने पाँचौं दिन बढेको थियो । दोस्रो दिन भने सार्वजनिक बिदा परेकाकारण नेप्से बन्द रहेको थियो ।

खुलेको चार कार्यदिन मध्ये पहिलो दिन १७ दशमलव ३८ अंकले घटेर १९ सय ४१ दशमलव ७४ अंकमा सिमित भएको नेप्से अन्तिम कारोबार दिन भने १६ दशमलव ५४ अंकले बढेर १८ सय ६६ दशमलव ३४ अंकमा पुग्न सफल भएको थियो ।

यसैगरी पहिलो दिन एक दशमलव ९० अंकले घटेर तीन सय ६९ दशमलव ४२ अंकमा झरेको सेन्सिटिभ इन्डेक्स अन्तिम कारोबार दिन भने दुई दशमलव १९ अंकले बढेर तीन सय ५५ दशमलव ६२ अंकमा पुग्न सफल भएको थियो । यि बाहेकका बाँकी दिनहरुमा भने नेप्से सुचक एवं सेन्सिटिभ इन्डेक्स दुबै लगातार घटेका थिए ।

कारोबार भएका मध्ये यो साता शिवम सिमेन्ट, हिमालयन डिष्ट्रिलरी प्रालि, नबिल बैंक आदिको बढी रकम कारोबार भएका छन् भने कारोवार भएको संख्याको आधारमा शिवम सिमेन्ट, नबिल बैंक, एनआईसी एशिया बैंक आदि अगाडि परेका छन् ।

बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।

प्रतिक्रिया