शनिबार, वैशाख १५, २०८१

बलीवुड अभिनेत्री जसलाई ‘फसाउन’ लागुपदार्थ बोकाएर यूएई पठाइयो

नेपालखोज २०८० जेठ १९ गते १३:२३

काठमाडौं । बलीवुडका केही चलचित्रमा सानो भूमिका निर्वाह गरेकी अभिनेत्री क्रिसन परेरासँग गत महिना भएको घटना कुनै रोमाञ्चक चलचित्रको कथाजस्तै छ।

उनले ‘सडक २’ र ‘बाटला हाउस’ बाट बलीवुडमा पाइला टेकेकी थिइन्। चलचित्रको संसारमा ठूलो उपलब्धि हात पार्ने महत्त्वाकाङ्क्षा बोकेर एप्रिल १ मा मुम्बईबाट यूएईको शारजाह उड्दा उनी उत्साहित थिइन्।

उनलाई एउटा वेब सिरीजमा एउटा महत्त्वपूर्ण पात्रको भूमिका निर्वाह गर्न अडिशन दिन बोलाइएको उनका दाइ केभिन परेराले बीबीसीलाई बताए। उक्त सिरीज एउटा अन्तर्राष्ट्रिय मञ्चमा प्रसारण गर्ने उनलाई बताइएको थियो।

तर शारजाह भ्रमण क्रिसन र परेरा परिवारका लागि वज्रपातजस्तै हुन पुग्यो। उनले बोकेको एउटा चिनोमा लागुपदार्थ भेटिएपछि क्रिसन पक्राउ परिन् र उनलाई जेल पठाइयो।

मुम्बईमा प्रहरीले दुई व्यक्तिलाई पक्राउ गर्दै उनीहरूले क्रिसनलाई फसाउने षड्यन्त्र गरेको अभियोग लगाएपछि तीन सातापछि क्रिसन छुटिन्।

भारत फर्किनका लागि उनले आफ्नो पासपोर्ट फिर्ता पाउन बाँकी भएको केभिन परेराले बताए।

मुम्बईमा अनुसन्धान

मुम्बई प्रहरीको अपराध अनुसन्धान शाखामा कार्यरत एक अधिकारीका अनुसार क्रिसनलाई फसाउने व्यक्तिहरूलाई लागुपदार्थ उपलब्ध गराएको आशङ्कामा अर्का एक व्यक्ति पनि पक्राउ परेका छन्।

‘मुख्य सन्दिग्धले प्रतिशोध लिन त्यस्तो षड्यन्त्र बुनेका थिए – बेकरी सञ्चालक एन्थनी पोलले। अनि ब्याङ्कमा काम गर्ने आफ्ना साथी दामोदर बोभाटेको सहयोगमा उनले त्यसलाई मूर्त रूप दिएका थिए,’ ती अधिकारीले भने । बोभाटे अरू दुइटा नामबाट पनि चिनिने गरेको उनले बताए ।

पटके अपराध
ती अधिकारीका अनुसार ती दुई जनाले पहिला पनि त्यसरी नै क्लेटन रोड्रिगेज नामक व्यक्तिलाई लागुपदार्थसहित फसाएको प्रहरी अनुसन्धानमा खुलेको छ। रोड्रिगेज अझै पनि शारजाहको जेलमा छन्।

पक्राउ परेकाले पोल र बोभाटेले आफूमाथि लागेको आरोपबारे प्रतिक्रिया दिन पाएका छैनन्। यद्यपि पोलका वकिल अजय दुबेले पोलमाथि लागेको आरोप ‘झुटो र दुराशयपूर्ण’ भएको भन्दै उनको बचाउ गरेका छन् ।

बोभाटेले पोललाई “झुक्याएको” दाबी गर्दै दुबेले क्रिसनले बोकेको सामानसँग पोलको कुनै सम्बन्ध नभएको दाबी गरे। बोभाटेकी पत्नी सोनलले चाहिँ पोलले बोभाटेलाई ‘फसाएको’ दाबी गरेकी छन्।

क्रिसन कसरी ‘भरिया’ बनिन्?

यसबारे केभिनले बताएको कथाबाट केही नाटकीय कुराहरू खुलेका छन्।

उनका अनुसार मार्च २३ मा आमा प्रेमिला परेरालाई एक व्यक्तिले आफूले उनलाई कुनै कार्यक्रममा भेटेको भन्दै एउटा सन्देश पठाए। उक्त सन्देशमा ती व्यक्तिले आफूले एउटा वेब सिरीजमा लगानी गर्न लागेको र त्यसमा क्रिसनलाई अभिनय गराउने इच्छा भएको उल्लेख गरेका थिए।

‘उनलाई भेट्दा ती व्यक्तिले क्रिसनलाई अडिशन दिन दुबई जानुपर्ने बताए। तर उनले शारजाहको टिकट पठाए’, केभिनले भने।

त्यो देखेर आफूले क्रिसनलाई ठगीका धेरै घटना भएकाले “सावधान हुन” भनेको तर क्रिसनले “पटक्कै शङ्का नगरेको” केभिनले बताए।

‘उनी अडिशनको तयारी गर्दै थिइन् र त्यो गजबको अवसर पाएकोमा निकै उत्साहित थिइन्,’ उनले भने।

उडानको केही घण्टाअघि सोही व्यक्तिले क्रिसनलाई फोन गरेर विमानस्थल जाँदै गर्दा बाटोमा भेट्न भनेको केभिन सम्झिन्छन्। सोही व्यक्तिले शारजाहमा आफ्ना साथीलाई दिनू भनेर क्रिसनलाई एउटा कोसेली थमाइदिएका थिए।

यूएई पुगेपछि झसङ्ग

‘उनको विमान बिहान १:१७ बजे विमानस्थलमा ओर्लियो र २ बजेतिर उनले बुवालाई फोन गरेर आफूलाई झुक्याइएको बताइन्,’ केभिनले भने।

‘विमानस्थलमा आफूलाई भेट्न कोही नआएको र होटलमा आफ्नो नाममा कोठा बुक नगरिएको उनले बताइन्। अनि उनले त्यो चिनोबारे पनि बताइन्,’ उनले भने।

केभिन पहिला एउटा विमानसेवामा काम गर्थे। आफ्नी बहिनीको कुरा सुनेपछि उनी झसङ्ग भए। उनी ठूलै समस्यामा फसेको भेउ केभिनले पाइहाले।

सहयोग माग्दै गुहार

‘मैले उनलाई तत्काल विमानस्थलमा प्रहरीसमक्ष गइहाल्न र सबै कुरा बताउन भनेँ। त्यसको १७ दिनसम्म हामीले क्रिसनसँग सम्पर्क गर्न सकेनौँ,’ उनले भने।

परेरा परिवारले प्रहरीमा एउटा उजुरी दर्ता गर्‍यो र सहयोगका लागि गुहार्दै केही दिनमा प्रधानमन्त्री, विदेश मन्त्रालय र शारजाहस्थित भारतीय नियोगसहितलाई गरेर १५ वटा इमेल लेख्यो।

‘हामीले अन्ततः भारतीय नियोगबाट क्रिसन लागुपदार्थ बोकेको आरोपमा शारजाह जेलमा भएको जानकारी पायौँ। गुगलमा खोज्दा २५ वर्षसम्म जेल वा मृत्युदण्ड पनि हुन सक्ने विवरणहरू देख्यौँ। त्यसबाट घरमा आतङ्क छायो ।’ क्रिसन पक्राउ परेको एक सातापछि केभिनले ट्विटर र इन्स्टाग्राममा उनको जीवनरक्षार्थ सहयोगको याचना गरे।

यसरी आयो नयाँ मोड

सामाजिक सञ्जालमा प्रेषित पोस्टले क्रिसन फसेको घटनामा नयाँ मोड ल्याइदियो। चार व्यक्तिले आफूहरू पनि त्यस्तै समस्यामा फसेको भन्दै इन्स्टाग्राममा प्रतिक्रिया लेखे।

उनीहरू सबै जनाले क्रिसनलाई चिनो दिने व्यक्तिकै नाम उल्लेख गरेर आफूहरूलाई पनि मध्यपूर्व जाँदा निजले नै शङ्कास्पद वस्तु दिएको जानकारी दिए। त्यसपछि केभिन र अरू केही पीडितका परिवारजन प्रहरीकहाँ गए र मुम्बई अपराध अनुसन्धान शाखाले यो मुद्दा हेर्न थाल्यो।

सबै घटनामा एउटा समानता

प्रहरीका अनुसार पाँचवटै घटनामा एउटा न एउटा समानता थियो। पोलले पाँचै जनालाई चिनेका थिए र ती घटना निजी प्रतिशोध लिन गराइएका थिए।

प्रहरीका अनुसार क्रिसनकी आमासँग भुस्याहा कुकुरको विषयमा एक वर्षअघि विवाद भएपछि आफूले बदला लिन षड्यन्त्र बनाउन थालेको पोलले बताएका छन्।

परेरा परिवारले उक्त विवाद पहिल्यै सामसुम भइसकेको ठानेको थियो । क्रिसनलाई फसाइएको कुरा एप्रिल २४ मा प्रहरीले सन्दिग्ध व्यक्तिहरू पक्राउ परेको र उनीहरूले किन त्यसो गरेका थिए भनेर नबताउँदासम्म आफूलाई थाहा नपाएको परेरा परिवारले जनाएको छ।

क्रिसन अझै स्तब्ध

परेरा परिवार अझै खुसी हुन सकेको छैन। ‘मलाई मेरी बहिनी निर्दोष छिन् र सत्य कुरा बाहिर आउँछ भन्ने थाहा थियो। तर हामीले भोगेको मानसिक र भावनात्मक यातनाबारे तपाईँ कल्पना पनि गर्न सक्नुहुन्न,’ उनले भने।

‘मेरी बहिनी जेलबाट छुटिन्। उनी सुरक्षित छिन्। तर त्यो मुद्दा कहिले सकिन्छ र उनी कहिले घर फर्किन्छिन् भन्ने हामीलाई थाहा छैन।’

यो घटनाबाट क्रिसन पूरै स्तब्ध भएको केभिनले बताए। ‘कसैले आफूसँग त्यसो गर्न सक्छ भन्ने उनले पत्याउनै सकेकी छैनन्। हामी उनलाई मन दह्रो बनाउन हौसला दिइरहेका छौँ। तर उनी घर नफर्किएसम्म उनी वा हामी कोही पनि सजिलै सास फेर्न सक्छौँ भन्ने मलाई लाग्दैन।’

BBC

प्रतिक्रिया