बिहीबार, वैशाख ६, २०८१

नियमावली छलफलका लागि विचार गरियोस् प्रस्ताव सर्वसम्मतिले पारित

नेपालखोज २०८० जेठ २० गते ५:५९

विराटनगर । कोशी प्रदेशसभा नियमावली, २०७९ प्रदेशसभाको बैठकमा छलफलका लागि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । सो प्रस्ताव मस्यौदा समितिका संयोजक लीलाबल्लभ अधिकारीले शुक्रबार सदनमा पेश गर्नुभएको थियो ।

प्रस्तावको छलफलमा प्रदेशसभा सदस्य कमला दर्नाल, गणेशप्रसाद उप्रेती, गीतादेवी रेग्मी, भीम पराजुली र राजेन्द्रकुमार राईले उठाएको कुरा र जिज्ञासाको सम्बन्धमा संयोजक अधिकारीले जवाफ दिए । सभामुख बाबुराम गौतमले मस्यौदा संशोधनका निम्ति ७२ घण्टाको अवधि दिई सचिवालयमा संशोधन प्रस्ताव दर्ता गर्न समय तोकेका छन्।

विशेष समयमा कसले के भने ?

नेपाली कांग्रेस संसदीय दलका तर्फबाट प्रदेशसभा सदस्य भूपेन्द्र राईले सदस्यहरूले कानून निर्माण र सुशासनका निम्ति महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए। उनले सार्वभौम यो सभामा बन्ने ऐन र कानूनको सही कार्यान्वयन एवं परिचालन हुनुपर्ने भन्दै प्रदेश सरकारले गरेको खर्चमा रु एक अर्बभन्दा बढी रकम बेरुजु देखिएकाले सरकारले सदनमा जवाफ दिनुपर्ने माग गरे। उाले अनुचितरूपमा भोगिरहेको सेवा र सुविधा फिर्ता गराउन सरकार गम्भीर हुनुपर्छ भने ।

नेकपा (एमाले) संसदीय दलका तर्फबाट सदस्य रामदेव यादवले सुनसरीको बर्जु गाउँपालिकामा अवस्थित ठूलो क्षेत्रको बर्जुताललाई संरक्षण एवं संवर्द्धन गर्न प्रदेश सरकारले यथोचित बजेटको व्यवस्था गर्नुपर्ने माग गरे । जसपा नेपाल संसदीय दलका नेता निर्मला लिम्बूले प्रदेश सरकारमा आफूले मन्त्रीपदबाट दिएको राजीनामाका सम्बन्धमा स्पष्ट पार्दै प्रदेश सरकारले पहिचानवादीसँग प्रदेशको नामका लागि वार्ता गर्नुपर्ने बताए ।

उनले प्रदेश सरकारले वार्ताका लागि आह्वान गरे पनि वार्ता टोली गठन नगर्नुले त्रुटिपूर्ण छ भन्दै सरकारले पहिचान पक्षधरसँग इमान्दार भएर वार्ता गर्नुपर्ने माग राखे । सभामा प्रदेशसभा सदस्य खिनु लङ्वा लिम्बू, गोम्बु शेर्पा, तिलचन पाठक, राधाकृष्ण खनाल, रामुकुमार खत्री र सुनिता गच्छदार चौधरीले शून्य समयको सदुपयोग गर्दै मुलुकको समसामयिक विषयमा बोलेका थिए।

प्रदेशसभाको अर्को बैठक यही जेठ २३ गते दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया