बिहीबार, वैशाख १३, २०८१

यी हुन् गण्डकीका गन्तव्य

नेपालखोज २०८० जेठ २० गते ६:०३
तस्बिर : रासस

कास्की । कास्कीमा फेवाताल, बेगनासताल, रुपाताललगायत गरी विश्व रामसार सूचीमा सूचीकृत नौ ताल छन् । पोखरा आउने पर्यटक तालतलैया, हरिया डाँडाकाँडा र हिमाल देखेर लोभिन्छन् ।

हिमशृङ्खला, अन्नपूर्ण आधार शिविर, पातले छाँगो, विश्व शान्ति स्तूप, महेन्द्र गुफा, बिन्ध्यवासिनी मन्दिर आदि कास्कीका प्रमुख पर्यटकीय गन्तव्य हुन् । बागलुङका पर्यटकीय गन्तव्यमा कालिका भगवती मन्दिर, ढोरपाटन सिकार आरक्ष, विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोट, शालिग्राम सङ्ग्रहालय, घुम्टेको लेक, गलकोट दरबार, गाईघाट झरना, भैरवस्थान मन्दिर, भकुण्डे, गाजाको दहलगायत पर्छन् ।

तिलिचो ताल, अन्नपूर्ण पदमार्गजस्ता प्राकृतिक सम्पदा, हिमाली जनजीवन र संस्कृतिका कारण मनाङ पर्यटकीय रोजाइमा पर्ने गर्छ । हिमालपारिको जिल्ला मुस्ताङमा प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ, दामोदर कुण्ड, लोमान्थाङ दरबार, प्राचीन गुफा, कलाकृति, ढुम्बा ताल, कागबेनीलगायत चर्चित गन्तव्यस्थल छन् ।

म्याग्दी पनि प्राकृतिक पर्यटनका दृष्टिबाट अगाडि छ । धवलागिरि हिमाल, धौलागिरि आधार शिविर, पुनहिल, घोरेपानी, रुप्से छहरा, अन्धगल्छी, खोप्रा लेक, गलेश्वरधाम आदि त्यहाँका मुख्य पर्यटकीय गन्तव्य हुन् । पर्वतका पर्यटकीय गन्तव्यमा जलजला, हम्पाल, कालान्जर पर्वत, पञ्चासे, गुत्तेश्वर गुफा, सेतीवेणीलगायत पर्छन् । अग्ला र लामा झोलुङ्गे पुलले पनि पर्वतलाई चिनाउँछ ।

निजी क्षेत्रको लगानीमा सञ्चालित बञ्जी जम्पलगायत साहसिक पर्यटन गतिविधिले पनि पर्वतको आकर्षण बढेको छ । पर्यटकीय गाउँ सिरुबारी, कालभैरव मन्दिर, आलमदेवी, छायाँ क्षेत्र, शाल्मे–डाँडाजस्ता गन्तव्यस्थल स्याङ्जाको पर्यटनका आधार हुन् । राम्दीघाट, मिर्मीजस्ता पर्यटकीय आकर्षणका ठाउँ स्याङ्जामा छन् ।

लमजुङमा ऐतिहासिक लमजुङ दरबार, राइनासकोट, इलमपोखरी, घलेगाउँ, भुजुङ गाउँ, काउलेपानीलगायतका पर्यटकीय गन्तव्य छन् । ऐतिहासिक गोरखा दरबार, गोरखा सङ्ग्रहालय, मनकामना मन्दिर, मनास्लु हिमाल, मनास्लु संरक्षण क्षेत्रजस्ता ठाउँले गोरखाको पर्यटकीय आकर्षण बढाएका छन् ।

व्यास क्षेत्र, तनहुँसुर दरबार, देवघाटधाम, बन्दीपुर, ढोरबराहीलगायत धार्मिक तथा पर्यटकीयस्थल तनहुँमा छन् । मौलाकालिका मन्दिर, त्रिवेणी गजेन्द्र मोक्षधाम, देवचुलीजस्ता ठाउँ नवलपुरका आकर्षण हुन् । प्रदेश सरकारले चार वर्षअघि प्रदेशका ११ वटै जिल्लाका दश/दश गरी एक सय १० गन्तव्य पहिचान गरी सूचीकृत गरेको थियो ।

प्रतिक्रिया