बिहीबार, वैशाख ६, २०८१

पर्यटन व्यवसाय जीवित राख्न सरकारको हातेमालो आवश्यक

नेपालखोज २०७७ असार १९ गते १०:५३

कोभिड–१९ को कारणले पर्यटन व्यवसायलाई कस्तो असर पारेको छ ? पर्यटन वर्ष पनि स्थगित गर्नुपर्यो ?
कारोना महामारीले पर्यटन व्यवसाय ध्वस्त भएको छ । पर्यटन वर्षलाई लिएर हामी धेरै उत्साहित थियौं । पर्यटन बोर्डले पनि राम्रो सहयोग गरेको थियो । बजेट राम्रो थियो । पहिले पहिले १२÷१३ लाख पर्यटक आउथे भने हामीले भ्रमण वर्षमा २० लाख ल्याउने लक्ष्य राखेका थियौ । २० लाख नै पर्यटक भित्र्याउन नसकेपनि भ्रमण वर्षले १७÷१८ लाख पर्यटक भित्र्याउन सक्ने थियौं । यति नै पर्यटकले पनि हामीले भ्रमण वर्ष सफल बनाउन सक्ने थियौं । हामीले पर्यटन व्यवसायमा दीर्घकालीनका लागि काम गर्न सक्ने थियौं । दुर्भाग्य कोरोना महामारीले सबै क्षेत्र तहसनहस छ । मान्छे पैसाले पुगेपछि काममा फुर्सद भएको बेला घुम्न निस्कने हो । यति बेला सबै देशका मानिस आर्थिक संकट भोगिरहेका छन् । अब हामीले २०२१ मा पनि पर्यटक भित्र्याउन सक्छौं जस्तो लाग्दैन ।

कोरोना महामारीले १–२ वर्ष नै पर्यटन क्षेत्रलाई असर पार्छ ?
२०२१ मा पनि हामी कोरोना महामारीबाट पुर्णरुपमा छुटकारा पाउन सक्छौं जस्तो मलाई लाग्दैन । केही मिडियाले भनेको सुनेको छु, कोभिडको भ्याक्सिन आउन एक वर्षभन्दा बढी लाग्न सक्छ । त्यो भ्याक्सिन नआईकन मानिसले आफूलाई सुरक्षित महसुुस गर्ने छैनन् । सुरक्षित नभई मान्छे बाहिर निस्कँदैन । यतिबेला आन्तरिक पर्यटकलाई जोड दिएर काम गर्नुपर्छ । तर, हाम्रो देशमा आन्तरिक पर्यटकले यो क्षेत्रलाई उकास्न गाह्रो छ । काठमाडौंको मान्छे बाहिर जिल्ला घुम्न निस्केला तर बाहिर जिल्लाका मान्छे काठमाडौं आउदैनन् । किनभने काठमाडौं सबैले देखिसकेको शहर हो । त्यसैले करिब एक डेढ वर्ष पर्यटन व्यवसाय कसरी टिकाउने चुनौतीको विषय रहेको छ ।

होटलहरुमा क्वारेन्टाईनको व्यवस्था गरिएको छ । यसले व्यवसायीलाई राहत त मिलेको छ । अब पर्यटन क्षेत्रलाई कसरी पुर्नजिवन दिने हो त ?
होटलमा क्वारेन्टाइनको व्यवस्था गरेर केही राहत मिलेको छैन । क्वारेन्टाईनमा अत्यन्त सस्तोमा सेवा दिनुपरेको छ । संकटको बेला सेवा दिएको हो । जसले गर्दा होटललाई पछि सेवाग्राही बढ्ने भन्ने हो । सरकारले पर्यटन क्षेत्र टिकाइदिनुपर्छ । जसको लागि सरकारले गर्नुपर्ने हवाई टिकट घटाउने, फ्यूल खर्च हेरिदिने, पार्किङ चार्ज कम गरिदिने, पर्यटकसँग लिने कर छोडिदिनुपर्यो । यो क्षेत्रलाई टिकाउन कर छुट गरिदिन आवश्यक छ । बजेटमा हाम्रो ठुलो आशा थियो तर बजेटले पनि हामीलाई राहत दिने कुनै कुरा ल्याएन ।

पर्यटन व्यवसाय मौन बसेको छ नि ?
लबी एसोसिएसन कमजोर देखिएको छ । होटल एशोसिएशन, पर्यटन वोर्डलगायत हामीले लबिङ गरिरहेकै छांै । तर, अन्य जस्तै कृषि उद्योग जसरी हाम्रो समस्या अगाडि ल्याउन सकेका छैनौं । हान र व्यक्तिगत तर्फबाट हामीले लिखित रुपमा समस्या राखेका छांै । आशा गरौं सरकारले केही गर्ला ।

अरु नै कारणले मृत्यु भएकालाई कोरोना संक्रमणले नै मृत्यु भएको तथ्याङ्क आयो भन्ने कुराहरु पनि उठिरहेको छ । यदि साँच्चिकै कोरोनाले मृत्यु नभएको हो भने र यो तथ्याङ्क बाहिर नआएको भए लकडाउन पछि पर्यटन क्षेत्रको लागि लाभदायक हुने थियो होईन ?
तपाइले एकदम राम्रो कुरा उठाउनुभयो । संसारभरमा कोरोनाबाट मृत्यु हुने दर हेर्ने हो भने नेपालमा अत्यन्त कम छ । त्यो पनि विदेशमा बसेर आउनेहरुमा मात्र देखिएको छ । हामीले यो २–३ महिना बाहिरबाट आउनेहरुलाई राम्रो क्वारेन्टाईनको व्यवस्थापन, पीसीआर जाँचको व्यवस्था गरेको भए नेपाललाई अहिले कोरोना मुक्त घोषणा गरिसक्ने अवस्था आउँथ्यो । संसार कोरोनाको कहरमा रहेको बेला हाम्रो देश कोरोना मुक्त भएको भए यही क्षेत्रमा ठुलो फड्को मार्ने थियांै । कोरोनामुक्त गर्ने भनेर अवधारणा आएको छ तर कार्यान्वयन के हुन्छ अन्यौल छ ।

अवधारणा बनाउने कार्यान्वयन नगर्ने नेपालमा त सँधै यस्तै हुन्छ ।
अवधारणा छ, तर हामी व्यवसायी र सरकार दुवैको प्रयासहरु निकै कमजोर र फितलो छ । पर्यटन व्यवसाय धेरै क्षेत्रसँग प्रत्यक्ष अप्रत्यक्ष जोडिएको छ । एयरलाइन्स, होटेल, ट्याक्सी लगायतका क्षेत्रमा यसको प्रभाव पर्छ । यसरी धेरै क्षेत्रलाई प्रभाव पार्ने भएपछि योजनाबद्ध रुपमा अगाडि बढ्नुपर्नेमा काम हुन सकिरहेको छैन ।

यो वर्ष व्यवसाय खस्किएको अवस्था छ , तर सरकारले छिटो कर तिर भनेको छ । के गर्ने होला ?
यो बेला सरकारले व्यवसायीलाई राहत दिनुपर्ने बेलामा कर तिर भन्नु यो निन्दनिय छ । मैले मेरो ऋण तिर्न सकेको छैन ब्याजसहित तिर भनेर समस्याको समाधान हुँदैन । सरकारले ६ महिनादेखि १ वर्षसम्म करको दायरामा ल्याउनु हुँदैनथ्यो ।

पर्यटन व्यवसायीको सरकारसँगको माग के हो ?
जब रिर्टन सम फण्ड भन्छौं हामी । यो संसारभर छ । पर्यटन क्षेत्रमा मुख्य त जनशक्ति लगानी गरिएको हुन्छ । त्यो जनशक्तिलाई हामीले हेर्नु पर्यो । सरकारले विदेशबाट फर्केर आएकालाई रोजगारी दिने यहीँ व्यवस्थापन गर्ने भनेको छ । यो राम्रो पक्ष हो । तर, यही देशमा बसेर बर्षौदेखि काम गरिरहेकाहरुलाई यही क्षेत्रमा टिकाउन सरकारले आर्थिक प्याकेज दिनैपर्छ ।

कोरोनाको कारणले भएको क्षति न्यूनिकरण गर्न सरकारले आफ्नो तर्फबाट पहल गर्ला । व्यवसायीको कार्ययोजना के छ ? कसरी अगाडि बढ्ने हो ?
हामीले आफ्नो नेटवर्कमार्फत् मार्केटिङ गर्ने हो । हामीले सस्तोमा सेवा दिन्छौं भनेर विश्वमा प्रचार प्रसार गर्ने हो । बाँकी सस्टेनेबलको लागी सरकारले गरिदिनुपर्छ ।

पर्यटन क्षेत्रलाई हिजोकै स्थितिमा फर्किन कति समय लाग्ला ?
कोरोना पुर्ण रुपमा हटेर जान कति समय लाग्छ, त्यो कसैले भन्न सक्दैन । तर २०१९ मा यो व्यवसायले जति मात्रामा उपलब्धि हासिल गरेको थियो अब त्यस्तै हुनको लागि पहिले कोरोना भ्याक्सिन आउन पर्यो । मेरो विचारमा अझै दुई वर्ष लाग्ला पहिलेकै स्थितिमा पुग्न ।

आन्तरिक पर्यटक त आउलान्, बाह्य पर्यटक आउने सम्भावना पनि छ र ?
अष्ट्रेलिया, न्युजिल्याण्ड, स्पेन हेर्नुस त्यहाँ पर्यटन चालु भैसकेको छ । सुरक्षा मापदण्ड अपनाएर केही मात्रामा पर्यटन खुला गर्नैपर्छ । पर्यटनसँगै व्यपारीहरु पनि आफ्नो आयात निर्यातमा लाग्छन् ।

लकडाउनलाई लम्ब्याएर हवाइभाडा दोब्बर तेब्बर महङगो गर्ने र फाइदा लिएको आरोप छ नि ?
यो गर्ने भन्ने ट्राभल एजेन्सीले हो । चार पाँचवटा हवाई चार्टड गरेर के नै फाइदा हुन्छ । यो आरोप मात्र हो । अभ्यास छैन ।

प्रतिक्रिया