मंगलबार, वैशाख ११, २०८१

खप्तडको ऐतिहासिकता 

नेपालखोज २०८० जेठ २१ गते ५:४७

काठमाडौं । पौराणिककालमा ऋषि मुनिहरूले तपस्या गरेको यो क्षेत्रलाई ‘खेचरादी’ पर्वतका रूपमा वर्णन गरिएको छ । खेचरादी पर्वतको नाम बिस्तारै अपभ्रंश हुँदै खप्तड रहन गएको किंवदन्ती छ । पौराणिकताअनुसार पाण्डवहरूले १४ वर्ष वनवास बस्दा केही समय खप्तडमा पनि बिताएका थिए । खप्तडमा पाण्डुपुत्र भीमले हलो जोत्दा माटोबाट थुम्का (झोती) बनेको कथन छ ।

संस्कृतिका जानकार खप्तडछान्ना गाउँपालिका–६ का ज्ञानबहादुर खड्काका अनुसार खप्तडमा रहेको केदार ढुङ्गा पनि भीमले भारतको केदारनाथबाट गादो (शरीरमा लगाएको कपडाको अगाडिपट्टिको भाग)मा बोकेर ल्याएका थिए भन्ने कथन छ । ‘त्रिवेणी पाटनमा केदार ढुङ्गा राखेपछि त्यो ठाउँमा पानीको मूल फुटेको किंवदन्ती छ’, उनले भने। घायलका अनुसार खप्तडमा रहेका चर्चित स्थान सीता पाइला, छिन्तेढुङ्गा, जेठी बहुरानी ढुङ्गा, नागढुङ्गा, सहस्त्रलिङ्ग, खप्तड दह, त्रिवेणी, डाँफेकोट, बलेमेला, माइकाथान, सुकी दहलगायतका चर्चित ठाउँको छुट्टै पौराणिकता रहेको र तत् ठाउँमा स्थानीयले शिवको पूजा गर्दै आएका छन् ।

खप्तडको स्वरूप धार्मिक तथा पर्यटकीय क्षेत्र खप्तड एक प्राकृतिक सुशोभित क्षेत्र हो । भू–स्वर्गको उपमा पाएको खप्तडलाई पर्यटकले प्रकृतिको अनुपम उपहारका रूपमा चित्रण गर्छन् । आँखाले नभ्याउने विशाल फाँट, हिउँदमा सेताम्मे र वसन्त ऋतुमा रङ्गी विरङ्गी फूलले छोपेका मैदानले खप्तडको आंशिक परिचय दिन्छ । वर्षायाममा हरियाली फाँट र हिउँदमा सेताम्य बाक्लो हिउँको अनुभूति गर्नेहरूले खप्तड शास्त्रमा वर्णित अमरावतीभन्दा कम नभएको टिप्पणी गर्छन् । खप्तडका विभिन्न स्थानको आ–आफ्नै महत्त्व र पौराणिकता छ । खप्तड ‘२२ पाटन, २५ मैदान र ५२ वटा थुम्का (झोती) को सङ्गम’ भनेर पनि परिचित छ ।

समुद्र सतहबाट २४–३७ सय मिटर उचाइमा रहेको खप्तड दुई सय २५ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । दुई सयभन्दा बढी प्रजातिका फूल र बहुमूल्य जडीबुटीका साथै कस्तुरी, मृग, बँदेल, डाँफेजस्ता जङ्गली जनावर, सयौँ पक्षीको सुरक्षाका लागि राष्ट्रिय निकुञ्ज स्थापना (२०४२) भएको पाँच वर्षपछि विसं २०४७ मा नेपाली सेनाको ब्यारेक स्थापना गरिएको थियो ।

के–के पाइन्छ खप्तडमा ?

बझाङ, बाजुरा, अछाम र डोटीको सङ्गम स्थल खप्तड राष्ट्रिय निकुञ्जले मध्य पहाडी वातावरण, वनस्पति र वन्यजन्तुको प्रतिनिधित्व गर्दछ । यो क्षेत्रमा झुले सल्लो, खस्रु, पाउमेल, निगाला, भोजपत्र, गुराँस, रानी सल्लो, ठिगेसल्लो, लौठसल्लालगायतका रूख–वनस्पति पाइन्छन् भने कालकुट, पाँच औले, नीरमसी, सतुवा, वायुजडी, हत्वाजडी, गँदाल्नो, वनप्याजजस्ता सयौँ प्रकारका जडीबुटी पाइन्छन् ।

हरियो छेपारो, खस्रे भ्यागुता, बझाङे पाहा आदि दुर्लभ जीवदेखि भालु, बँदेल, कस्तुरी, चितुवा आदि जनावर खप्तडमा प्रशस्तै भेटिन्छन् । तथ्याङ्कमा हेर्दा खप्तडमा वन क्षेत्र एक सय ९९ दशमलव ७३, घाँसे मैदान १३ दशमलव ४७, कृषि भूमि नौ र झाडी बुट्यान दुई दशमलव आठ वर्ग किमीमा फैलिएको छ । खप्तडमा तीन सय ८२ प्रकारका रूख, वनस्पति तथा जडीबुटी पाइने गरेको तथ्याङ्कले देखाएको छ ।

जसमा रूख ५७, बुट्यान ७८, घाँसपात दुई सय तीन, लहरा आठ र उन्यू १९ प्रजातिका रहेका छन् । तथ्याङ्कअनुसार १२ वटा गुफा भएको खप्तड क्षेत्रमा दुई सय ८७ प्रजातिका पक्षी, २३ प्रजातिका स्तनधारी, १७ प्रजातिका सरीसृप र छ उभयचर प्रजातिका वन्यजन्तु पाइन्छन् ।

प्रतिक्रिया