बिहीबार, जेठ ३, २०८१

बतासे झर्ना आन्तरिक पर्यटकको गतिलो गन्तव्य

नेपालखोज २०८० भदौ २० गते ६:४२

कञ्चनपुर । चारैतिर हरियो वन, चराको चिरविरको मधुर आवाज, पहाडको गल्छीबाट बग्दै गरेको कलकल कञ्चनपानीको दृश्य नियाल्न आन्तरिक पर्यटक शुक्लाफाँटा नगरपालिका– ८ चुरे पर्वत शृङ्खलमा रहेको बतासे झर्ना पुग्न थालेका छन् । बाह्य कोलाहलबाट दिक्क भएका पर्यटक यो झर्नामा पुग्दा आनन्दित हुन्छन् ।

झण्डै दुई सय फिट माथिबाट खस्ने झरनाबाट चिसो हावा बहने भएकाले यसलाई बतासे झर्ना भन्ने गरिएको हो । दुईतर्फ कडा चट्टान भएको साघुँरो ठाउँबाट झर्ना झर्ने गरेको छ । नगरपालिकामा जनपतिनिधि आएपछि यस यस गन्तव्यको खोजी तथा प्रचार–प्रसार गरिएको हो ।

स्थानीय धारापानी गाउँका सीता गौतम विगतमा यस स्थानमा साथीसङ्गीसँग घाँस काटन जाने र नुहाएर फर्कने गरेको बताउछिन् । झर्ना हेर्नका लागि कैलाली, कञ्चनपुरसँगै सीमावर्ती भारतीय क्षेत्रका पर्यटक पनि यहाँ आइपुग्ने गरेको स्थानीय बासिन्दाको भनाइ छ ।

झर्ना भएको क्षेत्रको जैविक विविधतामा खलल पुग्न नदिनका लागि सजग हुनुपर्नेमा पूर्वप्रमुख ऐर जोड दिन्छन् । झर्नासँगै नगरपालिकाभित्रका पर्यटकीय क्षेत्रको संरक्षण र सम्बर्द्धनसँगै आवश्यक भौतिक पूर्वाधार निर्माणमा जोड दिनसके रोजगारीका अवसर सिर्जना भई युवाले विदेशिनु नपर्नेमा उनको ठम्याइ छ । वडाध्यक्ष बहादुर सिंह महरा भर्जिन पर्यटकीय गन्तव्य बतासे झर्नाको खोजी भएपछि मिडियाले ओझेलमा रहेको यस क्षेत्रलाई प्रचारमा ल्याईदिँदा पर्यटक बढ्न थालेको बताउछन् ।

गत वर्ष मात्रै प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगत छ लाख ५० हजारको लागतमा झण्डै एक किलोमिटर क्षेत्रमा बनाइएको पदमार्गको ८० प्रतिशत भाग पहिरोले लगेको छ । सडकमै पहिरो जाँदा झर्नाभन्दा तीन किलोमिटर वर नै सवारीसाधन राखेर पैदल हिँड्न पर्यटक बाध्य छन् । पुरै पदमार्ग पहिरोले लग्दा पनि जोखिम मोल्दै पर्यटक झर्ना अवलोकनका लागि पुग्ने क्रम भने रोकिएको छैन ।

झर्नामा पुग्न नसक्ने पर्यटकले झर्ना हुँदै बग्ने धारापानी खोलाको चिसो पानीमा नुहाएर चित्त बुझाउने गरेका छन् । धारापानी खोलाकै डिलमै वडा कार्यालयले पिकनिक स्पट र चौतारा निर्माण गरेको गरेकाले पिकनिकका लागि आउनेको पनि घुइँचो लाग्ने गरेको छ । पूर्व–पश्चिम राजमार्गको झलारीदेखि धारापानी गाउँभन्दा दुई किलोमिटर वरसम्म मोटरसाइकललगायत सवारी साधनमा चढेर सहजै त्यहाँ पुग्न सकिन्छ ।

प्रतिक्रिया