मंगलबार, असार ३, २०८२

आर्थिक संकटमा लुम्बिनी प्रादेशिक अस्पताल

नेपालखोज २०८० जेठ २१ गते १५:१६

काठमाडौं । आन्तरिक आम्दानीको स्रोत बन्द हुँदा लुम्बिनी प्रादेशिक अस्पताल आर्थिक संकटमा सिर्जना भएको छ ।

सटर भाडाबाट वार्षिक १२ करोड स्थायी आम्दानी गर्दै आएको अस्पताललाई लुम्बिनी प्रदेश सरकारले सो रकमबराबरको शोधभर्ना नगर्दा र अन्य बजेटको समेत व्यवस्था नगर्दा अस्पताल आर्थिक संकटमा पर्न थालेको हो ।

यस क्षेत्रको पुरानो र ठूलो अस्पतालका रुपमा रहेको प्रादेशिक अस्पताल आर्थिक समस्यामा पर्न थालेपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा अस्पताल विकास समितिले चिकित्सक र कर्मचारीहरुसँग छलफल गरेको हो ।

अस्पतालको सेवा प्रवाह र विकासको सन्दर्भमा आयोजित छलफल कार्यक्रममा बोल्ने अधिकांश विज्ञहरुहरुले अस्पतालमा गुरुयोजना मात्र बनाउने तर कार्यान्वयन नगर्ने समस्याका कारण अस्पतालमा आर्थिक श्रोत अभाब भएको बताएका छन् ।

अस्पतालमा अहिले आन्तरिक स्रोतको अभाव हुँदा कर्मचारीलाई तलब खुवाउनसमेत समस्या भएको अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले बताए । लुम्बिनी प्रदेश सरकारले सटरमा डोजर चलाएपछि आन्तरिक आम्दानीको स्रोत बन्द भएको हो ।

डोजरले सटर भत्काएपछि मासिक भाडाबापत आउने करोडौ रुपैयाँ गुमेको छ भने ओपिडी टिकटसमेत निःशुल्क बनाइदिँदा अस्पताल थप मारमा परेको छ ।

अस्पतालका प्रमुख प्रशासकीय अधिकृत राजन केसीका अनुसार छलफलमा बोल्ने वक्ताहरुले प्रदेश सरकारले नियमित आम्दानी भैरहेको अस्पतालका सटर हटाएर खाली गराएपछि अस्पतालको आम्दानी सुनिश्चित नभएको बताए ।

अस्पतालमा कार्यरत डा.पुष्पराज जोशीले प्रदेश सरकारले एक वर्ष मात्र १० करोड शोधभर्ना गरे पनि त्यसपछि भने केही नगर्दा अस्पतालमा स्रोत अभाव रहेको बताए ।

‘कुरा ठूला गर्ने काम भने केही नगर्ने प्रवृत्तिका कारण अस्पतालमा समस्या आएको हो,’ डा. जोशीले भने ।

विगतमा प्रदेश सरकारले अस्पतालको सटर भत्काएपछि २ वर्षसम्म अनुदान दिए पनि त्यसपछि अनुदान दिएको छैन । गत वर्ष सरकारले लागू गरेको नीति तथा कार्यक्रमअन्तर्गत जनरल बेड र ओपिडी टिकट निःशुल्क गर्ने घोषणा कार्यान्वयन गर्दा र अहिले अनुदान थोरै परेका कारण पनि अस्पताललाई आर्थिक भार परेको छ ।

अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले अस्पतालमा बेड, टिकटलगायतका धेरै सेवाहरु निःशुल्क रहेको तर स्रोत नहुँदा कसरी निःशुल्क गर्ने भन्ने प्रश्न उब्जिएको बताए । प्रदेश सरकारले आफूले गरेको बजेट सुनिश्चतालाई निरन्तरता दिनुपर्ने उनको भनाइ छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदर्शन थापा क्षेत्रीका अनुसार अस्पतालमा कर्मचारीलाई तलब खुवाउनसमेत बजेट अभाव छ । यस विषयमा आफूहरूले प्रदेश सरकारलाई पटक–पटक भन्दा पनि कुनै सुनवाइ नभएको मेसु क्षेत्रीको गुनासो छ ।

१० करोडको क्याथल्याब प्रयोगविहीन

अस्पतालमा १० करोडको क्याथ ल्याब भए पनि सञ्चालनमा आएको छैन । ५ महिनादेखि विशेषज्ञ डाक्टरको अभावमा सो ल्याब थन्किएको हो । साथै आँखा उपचारका लागि दक्ष चिकित्सक भएर पनि अस्पतालमा उपकरण उपलब्ध छैनन् ।

यस्तै सरकारले लुम्बिनी प्रादेशिक अस्पताललाई ३ सय बेडको स्वीकृत दिए पनि अहिले ५ सय बेड नाघिसकेको छ, जसले गर्दा अस्पतालभित्रको सीमित स्रोतले थेग्न कठिन भएको लेखा शाखाले जनाएको छ ।

दैनिक १४ सयभन्दा बढी बिरामीले सेवा लिने गरेको अस्पतालमा ८ सयभन्दा बढी कर्मचारी कार्यरत छन् ।

प्रतिक्रिया