बिहीबार, वैशाख १३, २०८१

बायोफ्लक प्रविधि: थारै ठाउँमा धेरै माछा पाल्ने उपाय

अनिल तिवारी २०८० जेठ २२ गते ११:३३
अनिल तिवारी 

कम जग्गामा धेरै माछा पालन गर्न सकिने सुन्दा आश्चर्य लाग्न सक्छ । तर कृषि विज्ञानले स्थापित गरेको यो नौलो प्रविधिको अनुसन्धान नेपालमा पनि सुरु भएको छ। मुलुककै पहिलो कृषि अनुसन्धान निर्देशनालय परवानीपुरले यो प्रविधिका अनुसन्धानलाई अगाडि बढाएको छ।

नेपाल कृषि अनुसन्धान परिषद अन्तरगत रहेको यो कार्यालयले आफ्नै परिसरमा रहेको सानो पोखरीमा सघन मत्स्य पालन प्रविधिको परिक्षण सुरु गरेको छ। अहिलेसम्म भएको अनुसन्धान परीक्षणको प्रारम्भिक नतिजा उत्साहजनक रहेको निर्देशनालयका प्राविधिकले दाबी गरेका छन्।

कम जमिनमा ठूलो पोखरी जतिकै बढी माछा पालेर मनग्य आम्दानी गर्न सकिने बायो फ्लक प्रविधिको निर्देशनालयले परिक्षण अगाडि बढाएको हो । निर्देशनालयका निर्देशक डा. विश्वेश्वरप्रसाद यादवले १ वर्ष देखी जारी अनुसन्धानको नतिजा उत्साहजनक रहेको बताए ।

‘पूर्वी र दक्षिण भारतका व्यावसायिक माछा पालन हुने राज्य पश्चिम बंगाल र आन्ध्र प्रदेशमा यो प्रविधिले सफलता पाएको बताउँदै उनले भने ‘यो प्रविधिबाट भारतमा उत्साहजनक पूर्वक माछा पालन हुँदै आएको छ, नेपालका माछा पालकलाई यो प्रविधिबाट माछा पालन गराउने योजनामा हामी छौ, परीक्षणले सफलता पाएपछि हामी यो प्रविधिलाई कृषक माझ लग्ने छौ।’ निर्देशक यादवले भने, ‘निर्देशनालय परिसरको पोखरीमै गम्भीर अनुसन्धान भई रहेको छ, प्रारम्भिक नतिजाले हामी उत्साहित छौं।’

डा. विश्वेश्वरप्रसाद यादवले भने, ‘यो प्रविधि अपनाए अहिलेजस्तो माछा पाल्न धान खेत पूरै मास्न पर्दैन। १ कठ्ठा वा त्यो भन्दा पनि कम जग्गामा समेत माछा पालन गर्न सकिन्छ। यसका लागि पोखरी नै नखनेर घर बारीमै सानो पोखरी बनाएर प्लाष्टिकमा पानी राखेर माछा पालन गर्न सकिन्छ । यो नै प्रविधिको मुख्य पाटो हो । यो अत्यन्त सस्तो प्रविधि पनि हो, यसका लागि सानो क्षेत्रफलको पोखरीमा अक्सिजन र ब्याक्टेरियाको आवश्यकतालाई मिलाउदै लगिने मुख्य प्रक्रिया हो, अन्य जीवित प्राणी सृजना गरेर पोखरीको पानीमा घुलित अक्सिजनको मात्रा आवश्यकता अनुसार बढाउन सके सानो पोखरीमा पनि एकै साथ धेरै माछा पाल्न सकिन्छ।’

निर्देशनालयका मत्स्य विभागका प्राविधिक अधिकृत शिवनारायण मेहताले सामान्यतया एक लिटर पानीमा ६ मिली ग्रामको दरले घुलित अक्सिजन व्यवस्थापन गर्न सकेको खण्डमा माछाले पानीमा पर्याप्त अक्सिजन पाउन सक्ने बताए । यस्तो पोखरीमा पङ्गास, मुङग्री,सिंही जस्ता शरीरमा कत्ला नहुने माछा पाल्न सकिने उनले बताए । यस बाहेक टिलापिया र कमनकार्प जातिका माछा पनि सहजै पाल्न सकिने उनले बताए ।

‘सहर बजारमा र कम क्षेत्रफलमा माछा पाल्न इच्छुक किसानले पनि यो प्रविधिबाट माछा पालन गर्न सक्छन्। निर्देशनालयमा एक चरणमा टिलापिया जातको माछाको अनुसन्धान गरी सकेका छौं, अन्य जातका माछामा पनि अनुसन्धान भई रहेको छ, ५ वर्ष नियमित अनुसन्धान गरेपछि हामीले यो प्रविधि किसान माझ सिफारिस गर्ने छौं।’

मेहताका अनुसार, यो प्रविधिले माछापालन गर्न पोखरीमा नियमित अक्सिजन उत्पादन गर्ने उपकरण ब्लोवर पनि राख्नु पर्ने हुन्छ । पोखरीमा माछाको बिउ हाल्नु भन्दा ४/५ दिन अघि पोखरीमा मोलासिस, चुना, नुन र बेसिलस समूहको ब्याक्टेरिया घोलेर पानीमा हाल्नु पर्छ ।

माछाको दिशा पिसासबाट एमोनिया ग्यास उत्पादन हुने र पानीमा बढी एमोनिया ग्यास भए माछा मर्न पनि सक्ने भएकाले बेला बेलामा पोखरीको पानी फालेर नयाँ पानी हाल्ने व्यवस्था मिलाउनु पर्छ। पोखरीको पानी फाल्न सहजताका लागि पोखरीलाई ‘स्लोप’ विधिले निर्माण गर्नुपर्छ। –INS

प्रतिक्रिया