बिहीबार, वैशाख १३, २०८१

नागरिकतासम्बन्धी कार्यविधिमा एनआरएनका सुझाव समेटिन्छन् : प्रधानमन्त्री

नेपालखोज २०८० जेठ २२ गते १२:०२

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक प्रमाणीकरण भएसँगै नागरिकतासम्बन्धी कार्यविधि तथा नियमावली बनाउने काम समेत सुरु भएको जानकारी गराएका छद्द् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का उपाध्यक्ष आरके शर्माको नेतृत्वको प्रतिनिधिमण्डलले आज गरेको भेटमा उनले कार्यविधि तथा नियमावली बनाउने क्रममा गैरआवासीय नेपालीका सुझावलाई मनन गरिने प्रतिबद्धता व्यक्त गरे ।

‘एक पटकको नेपाली, सधैँ नेपाली’ भइरहने र नेपालको समृद्धिमा सहकार्य गर्न चाहेको विषयले विगतदेखि नै आफ्नो मन छोएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आगामी दिन थप सशक्तरुपमा अघि बढ्न सङ्घका प्रतिनिधिलाई आग्रह गरे । उनले गैरआवासीय नेपालीले उठाउँदै आएको मताधिकारको विषय नीति तथा कार्यक्रममार्फत सम्बोधन भइसकेको र केही प्राविधिक विषयमा गृहकार्य भइरहेको जानकारी दिँदै छिट्टै कार्यान्वयनमा आउने विश्वास दिलाए ।

भेटमा प्रधानमन्त्री दाहालले गैरआवासीय नेपाली सङ्घमार्फत धन्यवाद व्यक्त गरेकामा खुसी व्यक्त गर्दै लामो रस्साकस्सीपछि नागरिकता विधेयक प्रमाणीकरण भएको बताए । उनले गैरआवासीय नेपाली नागरिकताको वितरणको शुभारम्भ एक भव्य कार्यक्रमकाबीच गरिने जानकारी दिए । सङ्घीय संसद्ले दुई पटक पारित गरेर गत भदौमा प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी छाडेका थिए ।

वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ १७ गते प्रमाणीकरण गरेका थिए । भेटमा उपाध्यक्ष शर्माले नागरिकता विधेयक प्रमाणीकरणबाट आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको ‘गैरआवासीय नेपाली नागरिकता’ प्राप्त गर्ने मार्ग प्रशस्त भएकामा सरकारलाई धन्यवाद ज्ञापन गरे । सङ्घले गैरआवासीय नेपालीलाई मताधिकारको प्रत्याभूतिका लागि नीति तथा कार्यक्रममार्फत सम्बोधन गरेकामा धन्यवाद व्यक्त गर्दै कार्यान्वयनमा लैजानका लागि समेत अनुरोध गरेको छ ।

सानासाना विप्रेषणलाई एकीकृत गरेर एक स्वायत्त प्राधिकरण गठन गरी स्वच्छ ऊर्जा तथा राष्ट्रिय गौरवका आयोजनामा सुनिश्चित प्रतिफलसहितको लगानीको वातावरण बनाउन सङ्घको आग्रह छ । सो क्रममा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव धनराज ज्ञवालीले नागरिकता नियमावली तर्जुमाको चरणमा रहेको जानकारी दिँदै पहिलो गैरआवासीय नेपाली नागरिकता प्रधानमन्त्रीको हातबाट प्रदान गर्ने योजना रहेको बताए । सो अवसरमा महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलकोसमेत उपस्थिति थियो । rss

प्रतिक्रिया