बिहीबार, चैत १५, २०८०

हरिला अन्नपूर्णको चुचुरोमा

नेपालखोज २०८० जेठ २२ गते २२:२५

म्याग्दी । छ महिनाको अवधिमा विश्वमा रहेका आठ हजार मिटर अग्ला १४ वटा हिमालको आरोहण गरेर कीर्तिमान बनाउने अभियानमा रहेकी नर्वेजियन पर्वतारोही क्रिस्टिल हरिला आज म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा पुगेकी छिन् ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्णसहित हरिलाले आठवटा हिमालको सफल आरोहण गरिसकेकी छिन् । आज बिहान ६ बजे हरिला र पाँचजना नेपाली पर्वतारोहीले अन्नपूर्ण हिमालको सफल आरोहण गरेका सेभेन समिट ट्रेक्सका प्रबन्ध निर्देशक थानेश्वर गुरागाईँले बताए ।

हरिला सेभेन समिटमार्फत अन्नपूर्ण आरोहण गर्न जेठ १९ गते आधार शिविर पुगेकी थिइन् । हरिलासँगै तेन्जिन शेर्पा, पासाङनेर्बु शेर्पा, लेक्पा तेम्बा शेर्पा, मिङ्मा तेन्जिन शेर्पा र लेक्पा ज्याल्जिन शेर्पाले अन्नपूर्णको सफल आरोहण गरेको गुरागाईँले बताए। मौसम सफा र अनुकूल भएकाले हरिलालाई अन्नपूर्ण आरोहणका लागि धेरै समय पर्खनु परेन ।

अन्नपूर्ण जानुअघि हरिलाले एक हप्ताअघि म्याग्दीमै रहेको आठ हजार एक सय ६७ मिटर अग्लो धवलागिरि हिमालको सफल आरोहण गरेकी थिइन् । हरिलाले चालु याममा अन्नपूर्ण, धवलागिरि, सिसा पाङ्मा, चो ओयु, मकालु, कञ्चनजङ्जा, सगरमाथा र ल्होत्से हिमालको आरोहण गरिसक्नुभएको सेभेन समिट ट्रेक्सले जनाएको छ ।

आरोहण टोली अन्नपूर्णको चुचुरोबाट आधार शिविर फर्किएको आरोहणको समन्वय गरेका म्याग्दीको दानाका पर्यटनकर्मी इन्द्री सिंह शेरचनले जानकारी दिए । सन् २०१९ मा म्याग्दीको दानामा जन्मिएर हाल बेलायतमा बसोबास गर्नुहुने निर्मल पुर्जाले छ महिना छ दिनमा आठ हजार मिटर अग्ला १४ वटा हिमालको आरोहण गरेर कीर्तिमान बनाएका थिए ।

पुर्जाको कीर्तिमान तोड्ने लक्ष्य राखेकी हरिलाले गत वर्ष १२ वटा हिमाल आरोहण गरेर चीन तर्फका दुईवटा हिमाल आरोहण गर्न अनुमति नपाएपछि सफल हुनु भएन । चालु याममा चोयु र सिसापाङमा हिमाल आरोहण गरिसकेका छन् ।

प्रतिक्रिया