बिहीबार, वैशाख १३, २०८१

राससले निःशुल्क समाचार सेवा दिनुपर्ने प्रेस युनियनको माग

नेपालखोज २०८० जेठ २३ गते २१:३४

काठमाडाैं । नेपाल प्रेस युनियनले राज्यको एकमात्र सरकारी न्यूज एजेन्सी राष्ट्रिय समाचार समिति (रासस)ले साना लगानीका स्वरोजगारमूलक सञ्चार माध्यमलाई निःशुल्क समाचार उपलब्ध गराउनुपर्ने माग गरेको छ ।

भक्तपुरमा आज सम्पन्न युनियनको केन्द्रीय कार्यसमिति बैठकले मुलुकमा देखिएको आर्थिकमन्दीका कारण साना लगानीका स्वरोजगारमूलक सञ्चारमाध्यम सञ्चालन गर्न कठिनाइ भइरहेकाले सरकारी लगानीको राससले निःशुल्क समाचार उपलब्ध गराउन माग गरेको हो ।

यसैगरी बैठकले प्रेस युनियनका अधिवेशन हुन बाँकी रहेका शाखा अधिवेशन आगामी असार ५ गतेसम्म सम्पन्न गर्ने निर्णय गरेको प्रेस युनियनका महासचिव दिलीप पौडेलले जानकारी दिए । प्रेस युनियनले घोषणा गरेको ‘पत्रकार प्रशिक्षण वर्ष २०८०’ सफलतापूर्वक सम्पन्न गर्नेसमेत निर्णय गरेको छ ।

बैठकले पत्रकारिता तालिम सञ्चालन गर्नका लागि पाठ्यक्रम तयार गर्न नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झाको संयोजकत्वमा पत्रकार प्रशिक्षण पाठ्यक्रम तयार समिति र उपाध्यक्ष जीवन भण्डारीको संयोजकत्वमा प्रशिक्षकको सूची तयार गर्ने समिति गठन गर्ने निर्णय गरेको छ ।

नेपाल पत्रकार महासङ्घले सुरु गरेको सदस्यता शुद्धीकरण अभियानलाई नेपाल प्रेस युनियनले नजिकबाट नियालिरहेको बताउँदै सदस्यता शुद्धीकरणमा प्रेस युनियनको साथ रहेको जनाएको छ तर, सदस्यता शुद्धीकरण प्रक्रिया अघि बढिरहँदा विचार र आस्थाका आधारमा सदस्यता नवीकरण हुन नदिने र सदस्य हुनबाट वञ्चित गर्ने कार्य भएमा युनियनले प्रतिवाद गर्ने निर्णय गरेको छ ।

पत्रकारले पाउनुपर्ने पारिश्रमिक भुक्तानी गर्न, श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न, न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न प्रेस युनियनले दबाब दिने भएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संविधानप्रदत्त अधिकार प्रतिकूल हुनेगरी कुनै पनि प्रकारका नीति, नियम, ऐन, कानुन, नियमावली नबनाउनसमेत युनियनले सरकारसँग आग्रह गरेको छ । rss

प्रतिक्रिया