नेपाल घरेलु तथा साना उद्योग महासङ्घ ३४ औँ वर्षमा

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बुधवार देखी ३४ औँ वर्षमा प्रवेश गरेको छ ।
महासङ्घले बुधवार राजधानीमा आयोजना गरेको ३४ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा नेपालको आर्थिक रूपान्तरणको बाहक र समावेशी अर्थतन्त्र निर्माणको आधार स्तम्भ लघु घरेलु तथा साना उद्योगहरू फस्टाउन सके अर्थतन्त्र समृद्ध हुने सरोकारवालाहरूले बताएका छन् ।
उनीहरूले लघु, घरेलु तथा साना उद्योगहरूको प्रवद्र्घनबाट मात्रै अर्थतन्त्र मजबुत र समृद्ध बन्ने बताएका हुन् । नेपालमा औद्योगिक विकासको मुख्य आधार लघु, घरेलु तथा साना उद्योग भएको भन्दै महासङ्घका निवर्तमान अध्यक्ष श्यामप्रसाद गिरीले लघु, घरेलु तथा साना उद्योगीहरूले आवश्यकता महसुस गरेर २०४७ सालमा महासङ्घ स्थापना गरिएको बताए ।
साना उद्योगीका समस्या समाधानका लागि बहस पैरवी गर्नका लागि घरेलु महासङ्घको आवश्यकता परेको भन्दै उनले अबका दिनमा महासङ्घले आफ्नो स्वरूपलाई परिष्कृत गर्दै लैजानुपर्ने आवश्यकता औँल्याउँदै भने, ‘अहिले सरकार केन्द्र, प्रदेश र स्थानीय स्तरमा पनि छ तर लघु, घरेलु तथा साना उद्योगीहरू समक्ष पुग्न सकेको छैन । त्यसैले केन्द्रदेखि प्रदेश र स्थानीय निकायमा हुनेहरू क्रियाशील बनौँ ।’
महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले स्थापना हुँदा कुनै घरमा टुकी बालेर सुरुवात गरेको महासङ्घ आज सात वटै प्रदेश, ७७ वटै जिल्ला र तीन सय ४१ वटा पालिकामा पुगेको बताए । सरकारको २६ वटा समितिमा महासङ्घ पुगेका उनले बताए ।
उद्यमीहरूका समस्यामा सरकारसँग पुलको काम गर्दै आएको भन्दै उहाँले अहिले छ लाखको हाराहारीमा रहेका लघु, घरेलु तथा साना उद्योगीहरूलाई सरकारले मान्यता दिएर ती उद्योगीहरूको प्रतिनिधिमूलक संस्था नेपाल घरेलु तथा साना उद्योग महासङ्घलाई हरेक समितिमा राखेको भन्दै उनले भने, ती समितिहरूमा साना उद्योगीहरूको समस्या र आइपरेका समाधानका उपायहरू अवलम्बन गरेका छौँ र खोज्ने प्रयास गरेका छौँ ।’
महासङ्घका पूर्व अध्यक्ष सुरेश प्रधानले ३३ वर्षसम्म धेरै आरोह अवरोह पार गरेको स्मरण गर्दै स्थानीय स्रोत साधनमा आधारित उद्योग व्यवसायको प्रवद्र्घनबाट मात्र राष्ट्रिय अर्थतन्त्र बलियो हुने बताए ।
महासङ्घको ३४ औँ वार्षिकोत्सवमा केन्द्रका साथै प्रदेश स्तरमा, जिल्ला स्तरमा र पालिका स्तरमा विभिन्न कार्यक्रमहरूको आयोजना गरी मनाइएको थियो ।
यसै गरी कार्यक्रममा महासङ्घका पूर्व अध्यक्ष वासु गिरी, पूर्व अध्यक्ष लता प्याकुरेल, वरिष्ठ उपाध्यक्ष सूर्य बहादुर कँडेल, उपाध्यक्षहरू हरिहर थापा, महासचिव डम्बर प्रसाद रेग्मी, कोषाध्यक्ष अच्युत पाण्डे लगायतले आफ्ना शुभकामना मन्तव्य राख्नुभएको थियो ।
यस्तै महासङ्घका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, केन्द्रीय महिला उद्यमी समितिका पदाधिकारी तथा सदस्य, उपत्यकाका जिल्ला अध्यक्ष, जिल्ला महिला उद्यमी समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया