शुक्रबार, वैशाख ७, २०८१

पाकिस्तानक‍ तापक्रम घातक स्थितिमा

नेपालखोज २०८० जेठ २६ गते ७:१७

काठमडाैं । एमनेस्टी इन्टरनेशनलले आफ्नो एक प्रतिवेदनमा दक्षिण एसिया विशेषगरी पाकिस्तानका नागरिक उच्च तापक्रमबाट सुरक्षासम्बन्धी सुविधाबाट वञ्चित रहेको बताएको छ । प्रतिवेदन अनुसार पाकिस्तानमा पहिलेको तुलनामा गर्मी, श्वास फेर्न गाह्रो हुने र बेहोस भएर अस्पतालको आकस्मिक कक्षमा मानिसलाई लगिने क्रम बढेको छ । जलवायु परिवर्तनका कारण यहाँ चरम मौसमी घटनाहरू बारम्बार हुने विज्ञहरूले चेतावनी दिएका छन् ।

गत वर्ष पाकिस्तानमा चर्को गर्मी

गत वर्ष मे महिनामा ज्याकोबाबादको तापक्रम ५१ डिग्री सेल्सियसमा रेकर्ड गरिएको थियो । गत वर्ष, पाकिस्तानमा भारी वर्षाले देशको एक तिहाइ भाग डुबानमा परारेको थियो । उक्त विनाशकारी बाढीले लाखौं मानिस, पशुधन तथा कृषि भूमिलाई असर पारेको थियो । बाढीका कारण पाकिस्तानको कृषि क्षेत्रमा ३० अर्ब रुपैयाँको नोक्सानी भएको बताइन्छ । संयुक्त राष्ट्रसंघको प्रतिवेदनअनुसार सन् २०२२ को सेप्टेम्बरदेखि डिसेम्बरसम्म ८५ लाखभन्दा बढी मानिस खाद्यान्न असुरक्षामा थिए ।

प्रतिवेदनअनुसार अहिले पाकिस्तानमा न्यून आय भएका मानिसहरू तातो दिनमा पनि खुला आकाशमुनि काम गर्न बाध्य छन् र यी मानिसहरू जलवायु परिवर्तनबाट आफूलाई बचाउन सबैभन्दा कम सक्षम छन् । एमनेस्टीका अनुसार पाकिस्तानमा ४ करोडभन्दा बढी मानिस बिजुलीविहीन् छन् जसको अर्थ उनीहरूसँग एयर कन्डिसनर वा पंखा छैन । एमनेस्टी इन्टरनेशनलका दक्षिण एसिया क्षेत्रका क्षेत्रीय उपनिर्देशक दिनुष्का दासानाइकेले बढ्दो तापक्रम र गर्मीको लहरले गरिबहरू असमान रूपमा प्रभावित हुने चेतावनी दिएका छन् ।

गरिब वर्गमा बढी मार

एमनेस्टीले पाकिस्तान सरकारलाई सहरका जोखिममा परेका भागहरूलाई चरम गर्मीबाट जोगाउन कार्य योजना ल्याउन आग्रह गरेको छ। यो मानवअधिकार संगठनले धनी देशहरूलाई कार्बन ग्यासको उत्सर्जन घटाउन र पाकिस्तानलाई जलवायु परिवर्तनबाट जोगाउन सहयोग गर्न पनि अनुरोध गरेको छ । पाकिस्तान हरितगृह ग्यास उत्सर्जनको हिसाबले धेरै पछाडि छ तर यो जलवायु परिवर्तनको प्रभावको सूचीमा सबैभन्दा बढी प्रभावित देशहरूमध्ये एक हो ।

एमनेस्टीको अघिल्लो अनुसन्धानमा भारतको तापमानमा २.७ डिग्रीको वृद्धिले ६० करोडभन्दा बढी मानिस प्रभावित हुने बताइएको थियो । यदि यो बृद्धि लाई १.५ डिग्रीमा सीमित गर्न सकियो भने प्रभावित मानिसहरुको संख्या छ गुणाले घट्न सक्छ । त्यसपछि नौ करोड भारतीय बढ्दो गर्मी र गर्मीको प्रकोप सहन बाध्य हुनेछन् । प्रत्येक ०.१ डिग्री तापक्रम बढेसँगै १४ करोड जनता कडा गर्मीको चपेटामा पर्ने अनुमान गरिएको छ । हाल विश्वभर ६ करोड मानिस औसत तापक्रम २९ डिग्रीभन्दा माथि रहेको ठाउँमा बसिरहेका छन् ।

AP / DPA

प्रतिक्रिया