बाघको छाला र हड्डी जस्तो देखिने वस्तुसहित दुई व्यक्ति पक्राउ

दाङ । लमही नगरपालिका–९ अमिलियाबाट बाघको छालाजस्तो देखिने ९ फिट ६ इन्च लामो वस्तु १ थान र बाघको हड्डी जस्तो देखिने वस्तु ८ केजी ४ सय ३० ग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा राजपुर गाउँपालिका–७ बस्ने ३१ वर्षीय बीर बहादुर पुन र रोल्पा माडी गाउँपालिका–३ बस्ने २८ वर्षीय अमलाल घर्ती मगर रहेका छन् ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुर र ईलाका प्रहरी कार्यालय अमिलियाबाट संयुक्त रुपमा खटिएको प्रहरीले बा.२० प ९०७२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त वस्तुसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
फेसबुकमा लोन सेवा नाम पेज बनाई रकम ठगी गर्ने चालिसे पक्राउ
त्यस्तै, फेसबुकमा घर जग्जा लोन सेवा नामक पेज बनाई रकम ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–११ घर भई काठमाडौं महानगरपालिका–३ बसुन्धारा बस्ने नकुल चालिसे, आकाश भट्टराई, आरएन क्षेत्री भन्ने २७ वर्षीय रामचन्द्र चालिसेलाई प्रहरीले पक्राउ गरेको छ ।
उनले फेसबुकमा २०७९ फागुन ११ गतेदेखि घर जग्गा लेन सेवा पेज बनाई लोन चाहिएमा सम्पर्क गर्नुहोस भन्दै प्रलोभनमा पारी विभिन्न व्यक्तिहरूबाट चेक तथा नगद गरी ५७ लाख २० हजार रुपैयाँ लिई अर्काको नामको नागरिकता दुरूपयोग गरी विभिन्न बैंकमा खाता खोली खाताको चेक दिई ठगी गर्ने कार्यमा संलग्न उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनी उपर ठगी तथा बैंकिङ कसूर मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया