शुक्रबार, चैत १६, २०८०

हचुवाको भरमा बोल्दा विदेश सम्बन्ध बिग्रन्छ : मन्त्री साउद

नेपालखोज २०८० जेठ २६ गते २२:३४

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले हचुवाको भरमा टिप्पणी गर्दा देशको विदेश सम्बन्धमा आँच आउने बताएका छन् । उनले छिमेकी मित्रराष्ट्रको विषयमा हल्का टिप्पणी गर्दा सन्तुलन बिग्रने भएकाले त्यसतर्फ सतर्क हुनुपर्ने बताए ।

सहिद राधेश्याम जोन्छेँ स्मृति प्रतिष्ठानले आज भक्तपुरमा आयोजना गरेको ११औँ वार्षिक स्मृतिसभा तथा छात्रवृत्ति एवं प्रमाणपत्र वितरण कार्यक्रममा उनले दुई देशबीचको सम्बन्ध बिगार्ने गरी बोल्न नहुने बताए । सरकारले कुनै पनि विदेशी नीतिका बारेमा बोल्दा गहन अध्ययन गरेर स्पष्ट भएर मात्रै बोल्नुपर्ने बताउँदै उनले प्रधानमन्त्रीसहितको टोली भारत भ्रमणमा जाँदा हचुवाको भरमा कुनै पनि विषय नबोलेको स्पष्ट पारे ।

‘भारतको संसद्मा हामी गएका छैनौँ, नेपालको भूमि समावेश गरिएको नक्सा राखेको देखेका पनि छैनौँ, त्यस्तो भएको हो भने पनि नेपाली दूतावासले त्यसबारेमा आधिकारिक रुपमा जानकारी दिनुपर्यो, यसबारेमा कि त भारतले नै भन्नुपर्यो, तब मात्र त्यसबारेमा भ्रमणमा एजेण्डा बन्छ’, उनले भने, ‘हचुवाको भरमा बोल्दा दुई देशबीचको शक्ति सन्तुलन बिग्रन्छ, सम्बन्ध बिगार्न हुँदैन ।’

नक्साका बारेमा भारतले आधिकारिक रुपमा त्यो विषय राजनीतिक होइन भनिसकेको अवस्थामा दुई देशबीचको सम्बन्धमा क्षति पुग्ने गरी कसैले पनि बोल्नु हुँदैन भन्दै उहाँले नबुझी बोल्ने परम्पराले जिम्मेवार परराष्ट्रनीति अगाडि बढ्न नसक्ने बताए।

प्रतिक्रिया