जाजरकोट र दाङमा तीन बालकको डुबेर मृत्यु

काठमाडौं । जाजरकोट र दाङमा तीन बालकको डुबेर मृत्यु भएको छ ।
जाजरकोटको भेरी नगरपालिका–१३ का ८ वर्षीय पाण्डप बस्नेत र ९ वर्षीय प्रमोद बस्नेतको मृत्यु भएको हो । उनीहरू शुक्रबार खानेपानी तथा सिँचाइका लागि बनाइएको पोखरीमा डुबेका हुन् । खाजा खाएर दिउँसो ३ बजे परिवारका सदस्यलाई समेत जानकारी नदिई पौडी खेल्न गएका थिए ।
बेलुकी पोखरीमा बेहोश अवस्थामा भेटिएका दुबै जनालाई तत्काल नजिकैको अस्पताल लगिएको थियो । तर अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसी सन्तोष निरौलाले जानकारी दिए ।
दाङको लमही नगरपालिका–४ बड्का घुम्नाका १३ वर्षीय राहुल चौधरीको पनि डुबेर मृत्यु भएको छ । अत्यधिक गर्मी भएपछि घर नजिकैको पोखरीमा पौडी खेल्न गएका घुम्नाका १३ वर्षीय राहुल चौधरीको मृत्यु भएको हो ।
साँझ घर नफर्किएपछि खोजी गर्दा पोखरीको दलदलमा उनी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रेमबहादुर शाहीले बताए । पौडी खेल्ने क्रममा दलदलमा फसी उनी बाहिर निसकेको डीएसपी शाहीले जानकारी दिए ।
प्रतिक्रिया