शनिबार, वैशाख २९, २०८१

सामाजिक सन्जालमा भीम, को हुन् उनी ?

नेपाल सरकारको सचिवदेखि सामाजिक सन्जालसम्म

जगत भण्डारी २०७८ असार ३० गते १२:००

काठमाडौं । अहिलको समय ‘भाइरल’ को हो । भाइरल भनेको सामाजिक सन्जालमार्फत छोटो समयमै धेरैपटक हेरिनु हो । चाहे त्यो जस्तोसुकै माध्यम वा सामग्रीबाट किन नहोस् । नेपालमा पनि पछिल्लो समय धेरै मानिस सामाजिक सन्जालमा जोडिएका छन् । त्यसैमार्फत कोही भाइरल बन्ने र बनाउने क्रममा दिनरात तल्लीन देखिन्छन् । यीनैमध्येका एक नाम हो भीम उपाध्याय ।

उनका अहिले फेसबुकमा करिब दुई लाख र ट्‌विटरमा ४० हजार गरी झन्डै साढे २ लाख फलोर्स छन् । त्यत्तिकै मात्रामा उनी युट्युबमार्फत पनि चर्चामा आइरहन्छन् । उपाध्याय सामान्य नागरिक भने होइनन् । उनले नेपाल सरकारको सचिव पदमा बसेर लामै समय काम गरे । उनै उपाध्याय केही वर्षदेखि नेपालमा भाइरलको सूचीमा गनिन्छन् । कारण हो, देशभित्र वा बाहिरका प्रायः सबै विषयवस्तु उनको फेसबुक र ट्‌विटर वालमा छिनछिनमै झुन्डिन छुट्दैनन् । त्यसकै कारण उनले कहिले गाली त कहिले चर्चा उत्तिकै पाउने गरेका छन् ।

कतिपय सञ्चारमाध्यमका लागि त उनी समाचार स्रोतजस्तै बन्ने गरेको पाइन्छ । तर उनको स्रोत के हो त ? यिनै विषयमा केन्द्रित रहेर उनीसँग नेपालखोजले करिब एक घण्टा लामो कुराकानी गरेको छ ।

सादा जीवन बिताउन मन पराउने उपाध्याय उमेरले ६२ वर्ष पुगेका छन् । तर उनको सक्रियता हेर्दा लाग्छ उनी किशोरावस्थामै छन् । उपाध्याय सानैदेखि टेक्नोलोजीतर्फ विशेष झुकाव भएको बताउँछन् । उनले त्रिभुवन विश्वविद्यालयबाट प्राकृतिक सम्पदा व्यवस्थापन विज्ञान विषयमा स्नातकोत्तरसमेत गरेका छन् । उनी अहिले चारजनाको परिवारसहित आफ्नै निवास ललितपुरमा बस्छन् । उनका एक छोरा, एक छोरी र श्रीमती छन् । उनले जीवनमा धेरै किताब पढेको बताउँछन् ।

कुराकानीका क्रममा उनले आफू सामाजिक सन्जालमा देखिएको विकृतिबारे खुलेरै आफ्नो भनाइ राखेको दाबी गर्छन् । ‘अहिले नेपाली समाजमा सामाजिक सन्जालमा प्रायः नेगेटिभ कुराहरु मात्रै हेर्ने गरेको पाइन्छ । विश्वमा कस्ता नयाँ-नयाँ खोजी भइरहेका छन् । तर हामीकहाँ कतिपय भाइरल भनिएकाहरुले तर्क-वितर्क गरेर होहल्ला मच्चाउने र अनावश्यक भ्रम फैलाउने गरिरहेका छन् । त्यसलाई नियन्त्रण र नियमन गर्ने निकायको कारण र आवश्यक कानुनको अभावले अरुले पनि त्यस्तालाई अनावश्यक रुपमा हेरेर थप भ्रम छर्ने गलत काम गरिरहेका पाएको छु । त्यस्तो प्रवृत्ति र व्यवहार गलत हो,’ उनी सुनाउँछन्, ‘बरु हामीले पाएको महत्त्वपूर्ण समयलाई सही र नयाँ तथा राम्रो काममा लगाउनुपर्छ ।’

‘संसारका मै हुँ भन्ने महान् मानिसहरुका लागि पनि यही चौबीस घण्टा हो । आमसाधारण मानिसका लागि पनि चौबीस घण्टा हो । हामीले समय केमा बिताइरहेका छौं भन्ने मूल कुरा हो,’ उनले प्रश्न गरे, ‘हाम्रो ध्यान कस्ता कुरामा छ ? ज्ञान विज्ञानका कुरामा छ ? ज्ञान विज्ञान मात्रै होइन राम्रो संस्कार, व्यवहार र बोली सिक्नुपर्ने उनको भनाइ छ । समाजमा अपराधजन्य क्रियाकलापमा संलग्नहरु र त्यसैलाई युट्युबबाट व्यापार गरी खानेहरुलाई हेरिदिएर, सेयर गरिदिएर नराम्रा व्यक्ति र प्रवृत्तिलाई भाइरल बनाउनुभन्दा राम्रो ज्ञानवर्द्धक कुराहरुमा ध्यान दिनुपर्नेमा उनको जोड छ । ‘म त त्यस्ता कुरा हेर्दिनँ, टेलिभिजन पनि हेर्दिनँ, कतिपय गुणस्तरहीन पत्रपत्रिका पढेर जिन्दगी बिताउनुभन्दा आफैँले नयाँ केही सिर्जनात्मक काम गर्दा राम्रो हुन्छजस्तो लाग्छ,’ उपाध्यायले भने ।

‘हामीकहाँ आइपुगेको नयाँ प्रविधिलाई उपयोग गरेर फाइदा लिनुभन्दा त्यसलाई दुरुपयोग गरेर समाजलाई झनै नराम्रो बाटोतर्फ लिनेमा धेरै सामाजिक सन्जालमा प्रयोगकर्ताहरु दोषी रहेको उनको ठहर छ । ‘सूचना प्रविधिको क्षेत्रमा कति ठूलो प्रगति भएको छ । तर हामीले यसको दुरुपयोग गरेर पशुजस्तो गरी दिनरात मात्र बिताउने मात्र काम गर्‍यौं भने हाम्रो जीवन बर्बाद हुन्छ,’ उनले थपे, ‘भाइरल हुने कुनै व्यक्तिको दोष होइन । हेर्नेहरुको गल्ती हो । टेक्नोलोजी २१औं शताब्दीको आयो हाम्रो सोच १६औं शताब्दिको जस्तो भयो अनि कहाँबाट हुन्छ ?’ उनले भाइरल हुने र बनाउने दुवै उत्तिकै दोषी रहेको दाबी गरे । तर आफूमा त्यस्तो प्रवृत्ति र व्यक्ति नभएको दाबीसमेत गरे ।

स्टाटसको प्रभाव/असर
तपाईंले राखेको स्टाटसले समाजमा कुनै सकारात्मक प्रभाव परेका पाउनुभएको छ ? भन्ने प्रश्नमा उनले यति मानिसलाई यस्तो प्रभाव पर्‍यो भनेर यसै भन्न नसकिने जवाफ दिए । ‘किनभने ९९ दशमलव ९ प्रतिशत मानिसलाई म चिन्दिनँ । को कस्तो मान्छे हो भनेर सामाजिक सन्जालबाट थाहै हुँदैन । अर्को कुरा मैले लेखेर समाजलाई खासै फरक पर्छ जस्तो लाग्दैन,’ उपाध्याय भन्छन्, ‘कतिपय मानिसलाई कुनै सामग्री वा सूचनाले सकारात्मक प्रभाव परेको पनि होला तर मानिस आफैँले आफूलाई सकारात्मक बनाएर लैजानुपर्छ । अरु कसैले पनि कसैलाई ठीक पार्न सक्दैन आफू आफैं ठीक हुनुपर्छ ।’

कतिपय मानिसहरु छन् जसले कुनै मानिसले आफ्नो स्टाटस्मा मन नपर्ने गरी कमेन्ट गरेमा ब्लक गरिदिने, फलोअर्स र कमेन्टलाई इन्ट्री नदिने पनि गर्छन् । जस्तो समाज छ वा जस्तो मानिस छ त्यस्तै कमेन्ट आउने त हो नि । उनी भन्छन्, ‘सामाजिक सन्जाल समाजको ऐना हो । जो जस्तो छ यहाँ त्यो त्यस्तै देखिन्छ । मानिस कोही पनि खराब हुँदैन उसले कस्तो संस्कार र शिक्षा जस्तो पायो उस्तै बन्छ । केही मानिसहरु छन् उनीहरुले जिन्दगी बर्बाद गरिरहेको देख्छु । उनीहरुले दिन रात नराम्रा कुराहरुमा ध्यान दिइरहेको पाएको छु । यसले उनीहरुमा त्यो विस्तारै त्यो प्रवृत्ति बन्न थाल्छ । र त्योअनुसारको व्यवहार बन्ने गर्छ । सोसल मिडिया हेरेपछि थाहा हुन्छ कि मानिसको प्रवृत्ति, सस्कार र व्यवहार कस्तो छ । त्यो प्रस्ट देखिन्छ ।’

‘अहिले दुनियाँ नै डिजिटलाइजेसन भइसक्यो । टेक्नोलोजी कहाँ पुगिसक्यो । तर नेपालीहरुलाई रिअलाइजेसन नै छैन । नेपालमा खासगरी घृणा फैलाउने प्रवृत्तिका मानिसहरु सामाजिक सन्जालमा सक्रिय छन् । जो आफू पनि बर्बाद भइरहेका छन् र समाजलाई पनि गलत बाटोतर्फ डोर्याइरहेका छन्,’ उपाध्यायको भनाइ छ ।

कानुन बनाएर नियन्त्रण गर्नुपर्छ
सामाजिक सन्जालमा आउने कतिपय गलत कुराहरुलाई नियन्त्रण गर्न निकै गाह्रो छ । तर यसलाई कानुनमार्फत नियन्त्रण गर्नुपर्छ भन्ने उनको मान्यता छ । कानुनले मात्र होइन संस्कार पनि सिकाउनुपर्छ । किनभने कतिपय कानुनले झनै द्वन्द्व बढाएको पाइन्छ । जबसम्म सभ्य समाजको निर्माण गर्न सकिँदैन तबसम्म कानुनले मात्र यो असम्भव छ ।

१२-१३ वर्षदेखि सक्रिय
सन् २००८ मा जब नेपालमा सामाजिक सन्जाल सुरु भयो तब स्मार्ट फोन आउन थाल्यो । त्यसपछि वाइफाई र राम्रो राम्रो क्‍वालिटीको सेल फोनहरुको जमाना सुरु भयो । जसका माध्यमबाट नयाँ नयाँ साथी बनाउने र धेरै जनासँग एकैपटक कुरा गर्न सकिने सुविधा भयो । यो डिजिटल दुनियाँमा उनले आफूलाई अभ्यस्त बनाउँदै गए । जतिबेला कम्प्युटर कक्षासमेत सुरु भइसकेको थिएन ।

विस्तारै विन्डोज आयो अनि धेरैले कम्युटर सिके चलाउन सक्ने भए । त्यतिबेलादेखि नै उनले यसमा बढीभन्दा बढी ध्यान दिए । उनी सम्झन्छन् त्यतिबेला १५० जनालाई मात्रै साथी बनाउन पाइन्थ्यो । त्यति साथी पनि गन्न गाह्रो हुन्थ्यो । अहिले त करोडौं मानिस सामाजिक सन्जालमा जोडिएका छन् ।

‘अहिले दिनमा ३-४ सय मेसेज आउँछ । कहिलेकाहीं त म हेर्न नै भ्याउँदिनँ । देशका कुना-कन्दरादेखि युरोपसम्मका नेपालीले मलाई नयाँ नयाँ जानकारीसहितका सूचना पठाउँछन् । तिनैलाई हेरेर म सामाजिक सन्जालमा राख्ने गर्छु । मेरो स्रोत भनेकै यही हो । मैले २-४ वटा गलत फोटो पनि हालेको छु । तर त्यो जानी बुझी होइन । त्यसबाहेक म भेरिफिकेसन (पुष्टि) गरेर मात्रै हाल्ने गर्छु,’ उनले सुनाए ।

उपाध्यायको हुर्काइ बढाइ
उपाध्याय गुल्मीमा जन्मिएका हुन् । भैरहवामा सरकारी स्कुल पढे । विद्यार्थी जीवनमा उनले धेरैपटक स्कलरसिपको अवसर पाए । २०३२ सालमा एसएलसी दिएका उनी काठमाडौं आए । त्यसपछि पनि थुप्रै स्कलरसिपमा पढ्ने मौका पाए । त्यसपछिका केही वर्ष जागिर र पढाइमै बिताएका उनले २०४५ सालमा लोकसेवा आयोगको परीक्षा दिएर इन्जिनियरमा नाम निकाले । उनले पुल्चोक इन्जिनियरिङ क्याम्पसमा २ वर्ष अध्ययन गरे । त्यसपछिका चार वर्ष उनले दक्षिण एसियाकै टपमध्ये पर्ने भारतको रुड्की विश्वविद्यालय (आईआईटी रुड्की) बाट सिभिल इन्जिनियरिङ पास गरे । जहाँ उनले कसरी हम्बल भइन्छ । त्यहाँको संस्कार सिके । कसरी विनम्र भइन्छ । ट्रेडिस्‍नल नलेज र आधुनिक नलेज कसरी लिने त्यसलाई कसरी बुझ्ने भन्ने बुझे । यो सबै अवसर पाएकामा उनले आफूलाई भाग्यमानी ठानेका छन् ।

जागिरे जिन्दगी
जीवनमा दु:ख नपाएर चोट नपाएर पीडाबिना कोही पनि माथि पुग्न सक्दैन । त्यसैले होला ३०-३५ वर्ष जागिरमा रहँदा उनले देशका कुना-कन्दरा पुगेर धेरै काम गरे तर कसैले चिनेनन् । ४-५ वटा जिल्लाबाहेक सबै ठाउँमा पुगे । त्यहाँका मानिसहरु सबै जातजाति, धर्म पेसा व्यवसायका मानिसहरुसँग बसे । तर कतिपयले जागिर खाएको त हो नि भन्ने सोचे । अहिले उनी सामाजिक सन्जालमार्फत धेरैले चिनेका छन् ।

सामाजिक सन्जालमा लेखेकै भरमा पक्राउ
उनी सामाजिक सन्जालमा लेखेकै भरमा पक्राउसमेत परेका छन् । उनलाई सामाजिक सन्जालमा लेखेकै भरमा प्रहरीले एकपटक पक्राउ गरी पाँच दिन थुनामा समेत राखेको थियो । उपाध्याय भन्छन्, ‘कसैले बोलेकै भरमा सामाजिक सन्जालमा लेखेकै कारण पक्राउ पर्नु निन्दनीय हो ।’ भौतिक रुपमा अपराध गर्नुहुन्न तर लोकतन्त्रमा आलोचना र विरोध गर्न पाइन्छ । कसैको विरुद्धमा लेख्नुभयो भयो भने दण्ड जरिवाना र क्षतिपूर्ति दिनुपर्नेसम्म हुनसक्छ । करोडौं अर्बौं डलर तिरेको पनि पाइन्छ । तर नेपालमा लोकतन्त्रको विकासै भएन । किनभने जनतालाई सत्ताको भर्‍याङ बनाउने गरेको मात्र पाइन्छ । आफ्नो घरमा राखेको कामदारलाई निकालिदिने, जनतालाई धर्म मान्नुहुँदैन भन्ने तर आफू पूजाआजामा सक्रिय भएको देखिन्छ । राज्य संयन्त्रमा पुगेकाहरुलले पुलिस प्रशासनलाई हातमा लिएको छ ।

एउटा स्टाटस हालेको आरोपमा प्रहरीबाट तारन्तार फोन आएको नमीठो घटना पनि उनले सम्झिए, ‘एकजना स्वतन्त्र व्यक्तिको विरुद्धमा पूरै राज्य संयन्त्र लागेको अनुभव गरेको छु । बरु मारिदिए भैगो नि । एउटा निरिह नागरिकप्रति पूरै राज्यले आक्रमण गर्न मिन्छ ? यतिसम्म गिरेको सरकार छ हाम्रो ।’ उनी (ठूला-ठूला नेता) हरुले बोलेका कुरा हेर्ने हो भने अथवा प्रधानमन्त्री (हिजो असार २९ गते निवर्तमान भएका) केपी शर्मा ओलीले नै बोलेका कतिपय कुरा हेर्ने हो भने मैलेभन्दा लाखौं गुणा बढी समाजमा घृणा फैलाउने किसिमका छन् । त्यस्तो समाज भइसकेको छ हाम्रो । तर सामाजिक सन्जालमा जात, धर्म, टिपेर बोल्न नहुने उनको तर्क छ ।

समय व्यवस्थापन
रिटाडर्ड लाइफ बिताइरहेका उनले आफ्नो रुचि यस्तै सामाजिक विषयमा भएकाले समय दिन खासै अप्ठ्यारो नपरेको बताउँछन् । अहिले त कोरोना भाइरसको लकडाउनपछि समय प्रशस्तै मिलेको छ । यसको मतलब समयलाई रोएर कराएरभन्दा पनि क्रियटिभ कुरा गरेर ज्ञान र सूचना बाँडौं भन्ने मेरो मान्यता छ । यो समयमा पढ्ने लेख्ने र क्रियटिभ काम गर्नुपर्छ भन्ने बुझाइ छ । मैले यो गर्नैपर्छ भनेर गरेको पनि होइन । गर्दै जाँदा यहाँसम्म आइपुगिएको मात्रै हो । आजसम्म विश्वमा जति परिवर्तनहरु भएका छन् ती सबैमा साइन्स एन्ड टेक्नोलोजीको भूमिका छ भन्ने उनको बुझाइ छ । त्यसैगरी उनी सामाजिक विषयमा खास रुचि रहेको सुनाउँछन् ।

प्रतिक्रिया