खडेरीले मकै खेतमै सुके

नेपालखोज २०८० जेठ २८ गते ७:५७

भरतपुर । खडेरीले खेतमै मकै सुकेपछि चितवनका किसान चिन्तित बनेका छन् । मकैको घोगा लाग्ने र पाक्ने बेलामा बढ्दो तापक्रम र खडेरीले मकैका बोट सुक्न थालेपछि किसान चिन्तित बनेका हुन् । सुकेको मकैका बोट काटेर किसानले गाई, भैँसीलाई घाँसको रूपमा दिन थालेका छन् । भरतपुर महानगरपालिका–८ गौरीगन्जका नवीन पुरीले १३ गठ्ठा जग्गाको मकै पूरै सुकेको बताए ।

उनले भने, ‘घोगा लाग्ने बेलामा मकैका बोट सुक्यो । मकैमा गरिएको मल, बीउ र खनजोतको लगानी खेर गयो ।’ भरतपुर महानगरपालिका–११ बसेनीकी जलपादेवी घिमिरेले सात गठ्ठा जग्गामा मकै लगाउनुभएको थियो । सबै मकै सुक्न थालेपछि उहाँले घाँसको रूपमा मकैका बोट काटेर गाईलाई दिन थालेका छन् । सबै परिवार कृषिमा आश्रित ७८ वर्षीय जलपादेवी मकै डढ्न थालेपछि चिन्तित बन्नुभएको छ । सोही ठाउँकी तारादेवी भण्डारीको पनि चार गठ्ठाको मकै सुकेको छ ।

पाइप लगाएर अलिअलि पानी हाल्दाहाल्दै पनि चर्को घामले मकै सुकेको उनले बताए । उनले सरकारी अनुदानमा बोरिङको सुविधा भएको ठाउँको मकै मात्र केही जोगिन सक्ने भए पनि अन्यत्रको मकै पूरै सुकेको बताउनुभयो । उहाँले मकै मात्र होइन खडेरीका कारण तरकारी खेतीमा समेत प्रभाव परेको छ । चितवनमा २६ हजार हेक्टर बढी क्षेत्रफलमा मकैखेती गरिने जनाइएको छ ।

उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव ७९ मेट्रिक टन रहेको छ । मकै घोगा लगाउने सिजनमै खडेरीले मकै सुकेपछि अहिले किसान समस्यामा परेका हुन् । चितवनमा प्रायः तीन सिजन मकैको खेती हुन्छ । माघ फागुनमा लगाइने ‘बसन्ते’ मकै चितवनमा १४ हजार छ सय हेक्टरमा खेती हुने गर्छ । यो मकै जेठ–असारमा पाक्छ ।

वैशाख–जेठमा गरिने मकै खेती साउन भदौमा पाक्छ । यसलाई वर्षे मकै भनिन्छ । चितवनमा यो मकै नौ हजार आठ सय हेक्टर बढीमा खेती गरिन्छ । यस्तै असोज कात्तिकमा लगाइने हिउँदे मकै चितवनमा १४ हजार छ सय हेक्टरमा खेती हुन्छ । यो मकै फागुन–चैतमा पाक्छ । चितवनमा वार्षिक ९४ हजार ८० मेट्रिक टन मकै उत्पादन हुने गर्छ ।

प्रतिक्रिया