डोको बुनेरै बित्यो ५० वर्ष

म्याग्दी । म्याग्दीका चुमबहादुर विक र माइला सार्कीको बसोबास फरक छ ।
पश्चिम म्याग्दीको मालिका गाउँपालिकाका चुमबहादुर वि.क र बेनी नगरपालिकाका गजबहादुर(माइला) सार्की एकापसमा परिचित छैन् तर उनीहरूको पेसा भने एउटै छ । दुवैले ७०औँ वसन्त पार गरेका छन् ।
उन्नाइस वर्षको उमेरदेखि चोयासँग खेल्न थालेका मालिका गाउँपालिका–५ देविस्थानका विकको अहिले ७१ वर्षमा लाग्दासमेत चोयासँगको साथ छुटेको छैन । उनको जस्तै अवस्था छ बेनी नगरपालिका– २ ज्यामरुककोटका ७१ वर्षीय सार्कीको पनि ।
अहिलेसम्म डोको–डालो बुनेरै उनहरूले जीवन गुजारी रहेका छन् । बिहान उठेदेखि राति नसुतुन्जेलसम्म चोयासँग खेल्दै उनीहरूको समय बित्छ ।
गहुँगोरो वर्णका फरासिला चुमबहादुरको शरीर बुढ्यौलीले कुप्रिएको छ । कान कम सुने पनि २० वर्षे लक्का जवानको जस्तै फुर्तिलो ढङ्गले काम गरेको देख्दा उनलाई बुढ्यौलीले छोएको महसुस नहुने नाति शकबहादुर वि.कले बताए ।
वनमा निगालो खोजेर चोया निकाल्दै जवानीका रमाइला दिन बिताइसक्नु भएका विकले डोका बिक्री गरेर कमाएको पैसाले अहिलेसम्म घर व्यवहार चलाउँदै आएको बताए । ‘छोराहरू विदेशमा छन्, अहिले दुःख गर्नुपर्ने कुनै बाध्यता त छैन तर त्यसै बस्न मनै लाग्दैन’ उनले भने । अहिले दिनमा दुई वटासम्म डोका बुन्ने गरिन्छ । एउटा डोकाको तीन सय ५० देखि छ सयसम्ममा बिक्री हुन्छ ।
आफूले बुनेका डोका मान्छे लगाएर दरवाङ बजारमा लगेर बिक्री गर्दै आइएको र यसबाट मासिक १५ हजारदेखि २२ हजारसम्म आम्दानी हुने विकको भनाइ थियो । उनजस्तै ज्यामरुककोटका माइलाले पनि डोको बुनेरै मासिक २० हजार भन्दा बढी आम्दानी गर्दै आएका र यसैबाट आफ्ना छ-छ परिवारको पालनपोषण, शिक्षा दीक्षा र औषधोपचार गर्दै आएको छ ।
बुढ्यौलीले छोए पनि डोको बुन्न माइलाको जोस र जाँगर जवानी अवस्थाको जस्तै देखिन्छ । बिहानदेखि रात नपरुन्जेलसम्म डोको बुनेर दिन बितेको उनलाई पत्तै हुँदैन । ‘डोको बुन्ने कामले उमेर ढल्कँदै गएको ख्यालै भएन, अझै पनि जवानी नै छु जस्तो लाग्छ तर हिसाब गर्दा ७० पो काट्न लागेछु’ माइलाले भने ।
माइलाको वास्तविक नाम गजबहादुर हो तर उनलाई सबैले माइला नै भन्ने गर्दछन् । उनको हातको सीप नै घरमै बसिबसी दिनहुँ आम्दानी गर्ने माध्यम बनेको छ । अति विपन्न परिवारका माइलाको परिवारको जीविका अहिले यसैबाट चलेको छ । पहिले–पहिले डोको, थुन्से, भकारी बुनेर घर घरमा बिक्रीका लागि पुग्ने गरेकामा अहिले उनकै घरमै ग्राहक दिनहुँ आउने गरेका छन् ।
माइलाले आफ्नै कमाई बाट छोरा छोरीलाई पढाउनाका साथै विवाहसमेत गराएका छन् । गाउँघरमा थुन्से, भकारीको चलनचल्ती कम हुँदै जाँदा उनले पनि डोको उत्पादनलाई नै बढी प्राथमिकता दिने गरेका छन् । दिनमा तीन वटादेखि पाँच वटासम्म डोको बुन्न सकिने र यसबाट मासिक २० हजार जति आम्दानी हुने माइलाले बताए ।
एउटा डोको रु २५० देखि रु ३५० सम्ममा बिक्री हुने हुन्छ । मेहनत गरियो भने पैसा कमाउनकै लागि अन्यत्र धाउनु पर्दैन भन्ने गतिलो उदाहरण माइला सार्कीले प्रस्तुत गरेका स्थानीय समाजसेवी झकबहादुर थापाले बताए । ‘डोकोको माग अत्यधिक हुने गरेकाले पुर्याउन मुस्किल परेको छ ।
पहिले नै अर्डर हुन्छ, ग्राहकको माग बढ्दो छ, कसरी पुर्याउन ?’ माइलाले भने, ‘आफूले बुनेको डोको बलियो र धेरै समयसम्म टिक्ने भएकाले टाढा टाढाबाट ग्राहक आउने गरेका छन् ।’ विक र सार्की मात्रै होइन, ५०औँ वसन्त पार गरेका अधिकांश गाउँका पाका व्यक्ति अहिले पनि डोको,भकारी,नाम्लोजस्ता सामग्रीहरू बनाउने गर्दछन् ।
कृषि पेसाप्रति घट्दो आकर्षण र आयातित सामाग्रीहरूको बढ्दो प्रयोगले पाका उमेरका व्यक्तिको रैथाने सीपले भने बजार पाउन हम्मे हम्मे पर्ने गरेको उनीहरूको गुनासो थियो ।

प्रतिक्रिया