फौजदारी कसुरमा प्रतिव्यक्ति भूमिका परिभाषित नगरी अभियोजन लगाउन नहुने

काठमाडौं । महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले फौजदारी कसुरमा प्रतिव्यक्ति भूमिका परिभाषित नगरी त्यसमा अभियोजन लगाउन नहुने बताएका छन् ।
आज यहाँ आयोजित ‘लैङ्गिक हिंसाको अनुसन्धान र अभियोजनसम्बन्धी अनुसन्धानकर्ता, अभियोजक र न्यायाधीशबीच उच्चस्तरीय परामर्श’ कार्यक्रमको समापनमा उनले अनुसन्धानबाट प्रमाणित हुने व्यक्तिलाई मात्र अभियोजन लगाउन सुझाव दिएका हुन् ।
उनले भने, ‘हामीले प्रतिव्यक्ति भूमिका परिभाषित नगरिकन जाहेरीवालाले छानी छानी राखेको आधारमा प्रहरीले त्यही जस्ताको तस्तै हामीलाई दिने र हामीले त्यही अदातलसम्म पुर्याउँछौँ । बनाउनुपर्ने व्यक्तिलाई नबनाएर नबनाउनुपर्नेलाई प्रतिवादी बनाइरहेका हुन्छौँ ।’ महान्यायाधिवक्ता पोखरेलले न्यायाधीशले आलोचित हुनुपर्ने डरले अनुसन्धानविना अभियोजन गर्दा अन्याय हुने बताए ।
‘सबै जोडिएका मान्छेजति प्रतिवादी नबनाए न्यायधीशको के स्वार्थ होला भन्छन् भनेर आफ्नो थाप्लो जोगाउनका लागि आएका जति सबैलाई राख्छौँ । अर्कातर्फ पत्रपत्रिकामा आउँछ कि अथवा अरुले के भन्लान् भनेर पनि निर्णय गर्ने परिस्थिति छ’, उनले भने । उनले पहिलो न्यायकर्ता प्रहरी भएको भन्दै त्यसतर्फ सचेत हुन आग्रह गरे, ‘प्रहरीपछि हामीले पनि त्यसलाई ‘करेक्सन’ गरेनाैँ भने अदालतमा पुगेर मुद्दा फैसला हुँदासम्म अन्यायको पराकाष्ठा भइसकेको हुनसक्छ ।’
महान्यायाधिवक्ता पोखरेलले न्यायलाई केन्द्रमा राखेर सबैले नेतृत्व र जोखिम लिन सके मात्र न्याय सम्पादन हुन सक्ने बताए । त्यसका लागि सबै निकायको एउटै दृष्टिकोण हुनुपर्ने बताए।

प्रतिक्रिया